आन्तरिक हवाई उडानमा अत्यधिक चाप

पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

रामपुर (पाल्पा ) । पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले)का विष्णुप्रसाद भण्डारीले पाँच हजार ५८३ मतसहित निर्वाचित हुनुभएको छ । 

उहाँ पुनः दोस्रो कार्यकालका लागि  निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का दुर्गाप्रसाद अधिकारीले चार हजार ५४२ मत पाउनुभएको छ । 

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत  सो गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेकै राधादेवी श्रेष्ठले पाँच हजार ७१९ मतसहित पुनः दोस्रो पटक निर्वाचित हुनुभएको छ । 

उहाँको प्रतिस्पर्धी गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार विष्णुकुमार थापाले पाँच हजार ५८ मत प्राप्त गर्नुभएको छ । अध्यक्षमा एक हजार ४६ र उपाध्यक्षमा ६७० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार वडा नं १ मा  काङ्ग्रेसबाट अध्यक्षमा ईश्वर काफ्ले एक हजार ६४३ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका मनबहादुर मश्राङ्गीले एक हजार ४४४ मत पाउनुभएको छ । यहाँ खुला महिला सदस्य र दलित महिला सदस्य एमालेबाट र खुल्ला दुई सदस्य काँग्रेसका विजयी भएका छन् ।

वडा नं २ मा अध्यक्षमा एमालेका चेतबहादुर सुनारी ९३८ मत सहित उहाँको प्यानल नै निर्वाचित भएको भने प्रतिस्पर्धी काँग्रेसका रमेशप्रसाद प्रसाईँले ७३६ मत ल्याउनुभएको छ । वडा नं ३ मा अध्यक्षमा नेपाली काँग्रेसका थमनबहादुर गाहाको प्यानल नै विजयी भएको छ । उहाँले एक हजार ४५३ मत ल्याई निर्वाचित हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी एमालेका रेउतबहादुर रानाले एक हजार ४१५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वडा नं ४ मा एमालेकै अध्यक्षमा कृष्णबहादुर रायमाझीको प्यानल नै विजयी भएको छ । उहाँले ८३४ मत ल्याउनुभएको छ भने उहाँका प्रतिस्पर्धी काँग्रेसका चेतनारायण श्रेष्ठले ५७७ मत प्राप्त गर्नुभएको छ । 

वडा नं ५ मा एमालेकै प्यानल निर्वाचित भएको छ । यहाँ खुमकान्त बस्याल एक हजार १४० मतसहित विजयी हुनुभएको छ भने प्रतिस्पर्धी काँग्रेसका विष्णुबहादुर थापा कामुले ७२६ मत ल्याउनुभएको छ । 

निर्वाचनमा सो गाउँपालिकामा ११ हजार ४५७ मत खसेको थियो । रम्भामा गत वैशाख ३१ गते साँझ वडा नं ५ को मतगणना गर्ने क्रममा विवाद भएपछि एक हप्ता गणना स्थगित भएको थियो । 

यही जेठ ६ गते अपराह्नबाट मात्रै मतगणना थालिएको हो । यससँगै जिल्लाका दश पालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ । रासस 

 

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ८ : ०५ बजे