बाजुरा । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत आठ पालिकाको मत परिणाम सार्वजनिक भएको छ ।
जिल्लामा पाँच गाउँपालिका र चार नगरपालिकामध्ये तीन वटा नगरपालिका र पाँच वटा गाउँपालिकाको मत परिणाम सार्वजनिकसँगै नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथग्रहण गर्दै आफ्नो पदभार ग्रहण गरेका छन् ।
जिल्लाका नौ पालिका नेकपा(एमाले)ले दुई नगरपालिका र तीन गाउँपालिका गरी पाँच पालिका विजयी हासिल गरेको छ ।उसले बडीमालिका र बूढीनन्दा नगरपालिका सहित जगन्नाथ , गौमुल र खप्तड छेडेदह गाउँपालिकामा विजय हासिल गरेको हो ।
काँग्रेसले त्रिवेणी नगरपालिका, हिमाली र स्वामीकार्तिक खापर गाउँपालिका जितेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।
विसं २०७४ को स्थानीय तह निर्वाचनमा काँग्रेसले चार नगरपालिका र दुई गाउँपालिकासहित छ पालिका र जिल्ला समन्वय समन्वय समिति जितेको थियो भने एमालेले तीन गाउँपालिका जितेको थियो ।
हालको निर्वाचनमा काँग्रेसले तीन पालिकामा चित्त बुझाउनुपरेको छ । एमालेले पाँच पालिका जितेपछि जिल्ला समन्वय समितिमा पनि एमालेले विजय हुने भएको छ ।
बूढीगङ्गामा मतदान कि मतगणना
जिल्लाका आठ पालिकाको मत परिणाम आए पनि बूढीगङ्गा नगरपालिकाको मतदान गर्ने कि मतगणना गर्ने विषयमा भने विवाद छ । नगरपालिकाका वडा नं २, ३, ५ र ९ वडामा काँग्रेसले पुनः मतदान गर्न माग राखेको छ ।
एमालेले वडा नं ४ र ७ मा पनि मतदान हुनुपर्ने अडान लिएको छ । एमाले भने नगरपालिकामा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएकाले मतगणना गर्न माग राख्दै आएको छ । नगरपालिकामा मतदान भएको एक साता बढी बितिसक्दा समेत आयोग अनिर्णीत हुँदा मतदातामा निराशा छाएको छ ।
वैशाख ३१ गते मुख्य निर्वाचन अधिकृतलाई पालिकाका निर्वाचन अधिकृत कृष्ण सापकोटाले राजीनामा बुझाउनुभएको थियो । धाँधली भएका वडामा काँग्रेसले पुनः मतदान गर्न माग गरिरहेको र एमाले मतगणना गर्न माग राख्दै आएको जनाइएको छ । रासस
प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार १० : ०७ बजे
प्रतिक्रिया