बलात्कार पीडितलाई न्याय दिन अनेमसंघ युवा समितिको माग

काठमाडौँ । अखिल नेपाल महिला सङ्घ युवा समितिले हालसालै बाहिर आएको १६ वर्षको उमेरमा बलात्कार पीडित सुस्मिताको घटनामाथि सूक्ष्म रूपले छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । 

नेकपा (एमाले) केन्द्रीय सदस्य तथा अनेमसंघ युवा समिति संयोजक दिपा शर्माले सुस्मितामाथि भएको हिंसाप्रति अखिल नेपाल महिला सङ्घ युवा समितिको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ  । 

उहाँले हाम्रो समाजको मनोविज्ञानले महिलालाई खुलेर आफूमाथि भएका हिंसाको प्रतिकार गर्नबाट रोकिरहेको हुन्छ भन्नुहुँदै बाहिर आउन नसकेका कयौँ घटनाहरू भएको र सुस्मिताले न्याय पाए अन्य पीडितहरूको मनोबल बढ्ने बताउनुभयो । 

त्यसैगरी युवा समिति सचिव तथा नेकपा (एमाले) बागमती प्रदेश कमिटी सदस्य सुनिता अधिकारीले हदम्याद गुज्रिसकेको बाहनामा सरकार मौन रहन मिल्दैन भन्नुहुँदै सरकारले सत्य तथ्य छानबिन गरेर पीडकलाई सजाय र पीडितलाई न्याय दिलाउनै पर्छ भन्नुभयो । उहाँले गम्भीर अपराधमा कानुनको हदम्याद संशोधन हुनुपर्ने बताउनुभयो । 

अनेमसंघ केन्द्रीय सदस्य तथा युवा समिति सदस्य सरिता सापकोटाले १६ वर्षको नाबालिगमाथि बलात्कार भयो, त्यतिबेला घटना बाहिर ल्याउन सहायता र साहस दुवै भएन भन्नुहुँदै पीडितमा आज जब त्यो हिम्मत उनले आफैमा जुटाएकिछिन् भने कानुनी प्रावधानले न्यायमा खलल पुग्नु नहुने बताउनुभयो । उहाँले महिलामाथि भएको हिंसामा हदम्याद हटाइनुपर्ने बताउनुभयो ।

अनेमसंघ केन्द्रीय सदस्य तथा युवा समिति सदस्य सदिक्षा चौहानले समाजले महिलाको अस्मिता उसको यौनिकतामा नराख्दिएको भए सायद सुस्मिताहरूले आफूमाथि भएको हिंसा बाहिर ल्याउने हिम्मत बटुल्न आठ वर्ष लाग्ने थिएन भन्नुभयो ।  

उहाँले पटक पटकको आत्महत्याको प्रयास, मानसिक पीडाको पराकाष्ठपछि उनको पीडा बाहिरिएको छ भन्नुहुँदै कानुनी प्रावधान अनुसार हदम्याद गुज्रिसकेको छ । तर यति कारणले सुस्मिताले न्याय पाउनबाट वञ्चित हुन नहुने बताउनुभयो । 

उहाँले पीडितलाई न्याय दिलाउन यही समाज लाग्नुपर्छ तब मात्र पर्दा पछाडिका हजारौँ सुस्मिताहरू निर्धक्क बाहिर आउन सक्छन् भन्नभयो 

“जब पीडितले आफ्ना पीडा पोख्न सक्छन्, आवाज बुलन्द बनाउन सक्छन् र पीडकले सजाय पाउँछन् र हिंसा गर्नेहरूको मनोबल घट्न सक्छ ।”, उहाँले भन्नुभयो

युवा समिति सदस्य लुना थापाले सुस्मिता जस्ता थुप्रै युवतीहरूलाई किशोरावस्थामा यौन जन्य हिंसाबाट बचाउन सचेतना अभियान चलाउनुपर्ने बताउनुभयो

“सुस्मिता, तिमी कति पनि विचलित नभई हिम्मतसाथ अघि बढ्नू, यो लडाइँमा हामी तिम्रो साथ छौँ । हाम्रो समाजमा प्रत्येक १० मा १ महिला किशोरावस्थामा यौन जन्य हिंसाको शिकार भएका हुन्छन् र पीडकहरू अरु कोही नभएर समाजमा भद्र व्यक्तिको आवरणमा बसेका व्यक्तिहरू नै हुन्छन् । किशोरीहरूलाई यस्तो हिंसाबाट बचाउन पनि सुस्मिताले न्याय पाउनुपर्छ, यस्ता घटनाका विरुद्ध सचेतना अभियान चलाउनुपर्छ ।” उहाँले भन्नुभयो ।

 

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ९ : १२ बजे