डोटी बस दुर्घटना: पाँचको अवस्था जटिल, एक बेपत्ता

डोटी । डोटीमा आज बिहान बस दुर्घटना भएको छ ।  

दुर्घटनामा परी घाइते भएका १२मध्ये पाँच जनाको अवस्था जटिल रहेकाले उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको दिपायल इलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थापाले जानकारी दिनुभयो ।

उक्त दुर्घटनामा एक बालक बेपत्ता भएका छन् । अछामको चौरपाटी गाउँपालिका–६ का सुरेन्द्र शाहीका १८ महिने छोरा बेपत्ता भएका  र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कैलालीबाट अछामका लागि छुटेको ना५ख ९६६३ नंको रात्रि बस आज बिहान ५ बजे शिखर नगरपालिका–१ गेरुपानी सडक खण्डमा दुर्घटनामा परेको थियो । अन्य घाइतेको पिपल्लास्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । 

तीव्र गतिमा रहेका बसका चालक निदाएपछि दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । बस सडकबाट २० मिटर तल सेती नदीको किनारमा खसेको छ । बस चालक फरार रहेकाले उनको  खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । रासस

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ११ : २९ बजे