आन्तरिक हवाई उडानमा अत्यधिक चाप

तुलसीपुर उपमहानगरपालिकामा एमाले उम्मेदवारको अग्रता

दाङ । तुलसीपुर उपमहानगरपालिकामा जारी मतगणनामा प्रमुख पदमा नेकपा(एमाले)का उम्मेदवार टीकाराम खड्का र गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरीबीच प्रतिस्पर्धा देखिएको छ । 

आज बिहान प्राप्त मत विवरणअनुसार एमालेका खड्काले १० हजार ६०५ र काँग्रेसका उम्मेदवार गिरीले १० हजार ५३४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरले जनाएको छ । उहाँहरू बीच ७१ मतान्तर रहेको छ । 

त्यस्तै उपप्रमुख पदमा एमालेका उम्मेदवार स्यानी चौधरी अगाडि हुनुहुन्छ । चौधरीले ११ हजार १७ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर रानाले आठ हजार ९९ मत प्राप्त गर्नुभएको छ । उहाँहरुबीच एक हजार ८१८ को मतान्तर रहेको छ । हालसम्म २५ हजार ६८३ मत गणना भएको छ । 

यसैबीच तुलसीपुर उपमहानगरपालिका–६ को वडाध्यक्ष पदमा एमालेका दुजमान भण्डारी २१ हजार २३ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

उहाँका निकटतम प्रतिस्पर्धी काँग्रेसका लोकराज डाँगीले दुई हजार ६७ मत प्राप्त गर्नुभएको छ । यसअघि तुलसीपुर–५ मा काँग्रेसका वीरेन्द्रकुमार शाह, तुलसीपुर–४ मा गठबन्धनबाट माओवादीका तुलसी थापामगर, तुलसीपुर–३ मा एमालेबाट वीरबहादुर विक, तुलसीपुर–२ भमबहादुर कवर योगी, तुलसीपुर–१ मा गठबन्धनबाट होमकान्त सापकोटा निर्वाचित हुनुभएको छ । 

अहिले तुलसीपुर उपमहानगरपालिका वडा नं ७, ८ र ९ को मतगणना जारी रहेको छ । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकोमा ७४ हजार ३३६ मत खसेको थियो ।रासस 

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ८ : ३८ बजे