जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पूर्व–पश्चिम राजमार्गको कञ्चनपुरको दैजी–झलारी खण्डको अर्जुनी क्षेत्रमा शुक्रवार राति जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । 

महेन्द्रनगरबाट धनगढीतर्फ गइरहेको से१च ४४८ नम्बरको जीपले विपरीत दिशातर्फ आइरहेको म२प ६८३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बेदकोट नगरपालिका–५ का ३५ वर्षीय गणेशबहादुर बम र १८ वर्षीय भुतेशबहादुर बमको मृत्यु भएको हो ।

प्रहरीका अनुसार जीपको ठक्करबाट गम्भीर घाइते हुनुभएका बमद्धयको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो । जीप र चालक इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा राखिएको बताउँदै प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । रासस

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ८ : १३ बजे