धरानमा लौरोले मतान्तर फराकिलो बनाउँदै, कांग्रेसभन्दा १ हजार ५०९ मतले अगाडि 

सुनसरी । धरान उपमहानगरपालिकामा ३९ हजार मत गनिसक्दा लौरो चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार हर्क साङपाङले ११ हजार ३३९ मत ल्याउँदै अग्रता कायम गर्नुभएको छ । 

नेपाली कांग्रेसका किशोर राईले उहाँलाई ९ हजार ८३० मत ल्याउँदै पछ्याइरहनुभएको छ । साङपाङ र राईको मतान्तर १ हजार ५०९ छ । त्यसैगरी २०७४ सालको निर्वाचनमा प्रमुख उपप्रमुख जितेको नेकपा एमाले भने तेस्रो स्थानमा छ ।

प्रमुख पदमा एमालेबाट उम्मेदवार दिनुभएकी मञ्जु भण्डारी स्वतन्त्र र कांग्रेसभन्दा निकै तल देखिनुभएको छ । उहाँले ८ हजार ७१ मत पाउनुभएको छ । उहाँले पाएको मत स्वतन्त्रको भन्दा ३ हजार २६८ मत कम हो । 

त्यसैगरी उपप्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रका अइन्द्र विक्रम बेघाले ११ हजार ४२१ मत ल्याउनुभएको छ । उहाँलाई नेकपा एमालेका पदम लिम्बुले १० हजार ९५८ मत ल्याउँदै पछ्याइरहनुभएको छ । अहिले ११,१२,१३ वडाको गणना भइरहेको छ । बाँकी १५,१६ र १७ को भने बाँकी रहेको धरानका निर्वाचन अधिकृत पुष्करराज नेपालले जानकारी दिनुभयो । उहाँले धरानको मत परिणाम अबको तीन दिन भित्रमा आइसक्ने समेत बताउनुभयो । 

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ११ : ३१ बजे