आन्तरिक हवाई उडानमा अत्यधिक चाप

सुर्खेतको सिम्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

कर्णाली । सुर्खेतको सिम्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । 

नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनलाई पराजित गर्दै अध्यक्षमा ऐनबहादुर चन्द र उपाध्यक्षमा गोमा शर्मा विजयी हुनुभएको हो । 

चन्दले ६ हजार १७० तथा उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका वीरेन्द्र रावतले पाँच हजार ८५२ मत प्राप्त गर्नुभयो । 

उपाध्यक्षमा विजयी शर्माले ६ हजार ९१ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका चित्रबहादुर हमालले पाँच हजार ३११ मत प्राप्त गर्नुभयो । 

नौ वडा रहेको सिम्तामा एमालेले पाँच र काँग्रेस ले चार वडामा जित हासिल गरेको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि यहाँ अध्यक्ष/उपाध्यक्षमा एमाले उम्मेदवार नै विजयी भएका थिए । 

सिम्ताको मतगणना सम्पन्न भएसँगै सुर्खेतका नौ वटै पालिकाको निर्वाचन परिणाम घोषणा भएको छ । 

काँग्रेसले चार पालिकाको प्रमुख, एक पालिकाको उपप्रमुख, एमालेले चार पालिकाको प्रमुख, एक पालिकाको उपप्रमुख र माओवादी केन्द्रले एक पालिकाको प्रमुख पदमा जित हासिल गरेको छ ।  

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ७ : २४ बजे