मुख्यमन्त्रीका स्वकीय सचिव दीपक यादवको जमानत जफत

वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीका स्वकीय सचिव दीपक यादवको जमानत जफत भएको छ । पर्साको पटेर्वासुगौली गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवारी दिएका यादवले कुल मतको १० प्रतिशत ल्याउन नसकेपछि जमानत जफत भएको हो । 
पटेर्वासुगौलीमा ११ हजार ४५३ मत खसेको थियो । मतगणनाको क्रममा कूल खसेको मतमध्ये २२५ बदर भएका थियो भने ११ हजार २२८ मत सदर भएका थियो । जमानत जोगाउन सदर मतको १० प्रतिशत मत ल्याउनु पर्ने कानुन छ  ।

पटेर्वासुगौलीका निर्वाचन अधिकृतका अनुसार जसपाका दीपक यादवले ४ सय ६९ मत मात्र पाउनुभएको हो ।  जमानत जफत हुन नदिन उम्मेदवारले ११ हजार २२८ मतको १० प्रतिशत भनेको ११ सय २२ मत ल्याउने पर्ने हुन्छ । तर, जसपाका उम्मेदवार दीपक यादवले कूल सदर मतको ५ प्रतिशत भन्दा पनि कम मत पाए  । 
यादवले पाएको ४ सय ६९ मत भन्दा बढी मत त बरु मकै छापका लालबाबु महरले ल्याएका छन् ।

महरले ७२३ मत ल्याएका निर्वाचन कार्यालयले जानकारी दिएको छ । उम्मेदवारी दर्ता अघिसम्म उनी मुख्यमन्त्रीकाका स्वकीय सचिव थिए । पटेर्वासुगौली गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेश चौधरीले ३ हजार ९४४ मत ल्याई निर्वाचित हुनुभएको छ ।  निवर्तमान अध्यक्ष एमालेका उम्मेदवार हरिनारायण चौधरी पराजित हुनुभएको छ ।  हरिनारायणले ३ हजार ९४४ मत प्राप्त गर्नुभयो । 

 

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ७ : १५ बजे