तुलसीपुर उपमहानगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता

दाङ। तुलसीपुर उपमहानगरपालिकामा जारी मतगणनामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले अग्रता लिएको छ ।

पछिल्लो मतपरिणामअनुसार गठबन्धनका तर्फबाट नगरप्रमुखमा कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले चार हजार ६१३ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले)का नगरप्रमुखका उम्मेदवार टीकाराम खड्काले चार हजार ४०३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँहरुबीच २१० को मतान्तर रहेको छ ।

त्यस्तै उपप्रमुखमा भने एमालेका स्यानी चौधरीले अग्रता लिनुभएको छ । एमालेका उपप्रमुखका उम्मेदवार चौधरीले चार हजार २२६ र गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर रानाले तीन हजार ७३८ मत प्राप्त गर्नुभएको छ । उहाँहरुबीच ४८८ को मतान्तर छ । यसअघि तुलसीपुर–१ मा गठबन्धबाट होमकान्त सापकोटा निर्वाचित हुनुभएको छ । वडा नं २ बाट एमालेका भीमबहादुर कुँवर योगी निर्वाचित भइसक्नुभएको छ ।

अहिले वडा नं ३, ४ र ५ को मतगणा जारी छ । त्ुालसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकामा ७४ हजार ३३६ ले मतदान गरेका थिए ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  १ : २२ बजे