…जहाँ एमालेले लालकिल्ला जोगायो

काठमाडौं । सिक्किम सीमा क्षेत्र जोडिएको पाँचथरको स्थानीय तह हो– याङ्वरक गाउँपालिका । 

नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे र नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो ‘मौसम’र नेकपा  (एकीकृत समाजवादी) का प्रदेश सा‌ंसद गणेशकुमार काम्बाङले यो स्थानीय तहमा यस पटक गठबन्धन दलको झण्डा फहराउन चाहेका थिए । 

जुन  सांसद काम्बाङको गृहपालिका पनि हो ।

तर, गठबन्धन दलका यी नेताहरूले गठबन्धनका उम्मेदवारहरूलाई निर्वाचित गराउन सकेनन् । महागठबन्धनविरुद्ध एक्लै लडेर एमालेले लालकिल्ला जोगायो । 

वडा नम्बर, १, २, ३ र ४ सम्मको मतगणना हुँदासम्म भने गठबन्धन दलका अध्यक्ष पदका उम्मेदवार मबिन्द्र योङ्‍या र उपाध्यक्ष पदका उम्मेदवार अर्जुन बेघाको अग्रता थियो । 

यद्यपि, सांसद काम्बाङको वडासमेत रहेको वडा नम्बर ५ मा आइपुग्दा भने एमालेबाट अध्यक्ष पदका उम्मेवदार भीमबहादुर योङ्‍या र उपाध्यक्ष पदका उम्मेदवार बाबा मेन्याङ्बोले अग्रता मात्र तोडेनन्, अन्ततः निर्वाचन नै जिते । 

निर्वाचन अधिकृतको कार्यालय याङ्वरकले जनाएअनुसार भीमले अध्यक्ष पदमा चार हजार ११८ र मेन्याङ्बोले उपाध्यक्ष पदमा तीन जहरा ९९८ मत प्राप्त गरे । 

गठबन्धनबाट अध्यक्षमा पराजित मबिन्द्रले चार हजार ३८ र उपाध्यक्षमा पराजित बेघाले तीन हजार ६७९ मत प्राप्त गरेका थिए । 

२०७४ मा यही गाउँपालिकामा एक्लाएक्लै निर्वाचनमा जाँदा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा भएको थियो । त्यतिबेला तेस्रो स्थानमा धेरै मतान्तरले माओवादी थियो । 

 

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  १ : ०४ बजे