बाबुरामको गृहनगरमा माओवादीले जित्यो मेयर र उपमेयर

गोरखा । गोरखाको पालुङटार नगरपालिकाको मेयरमा विवश चिन्तन अजय र उपमेयरमा बन्दना पाण्डे प्रतिमा निर्वाचित हुनुभएको छ । नेकपा माओवादी केन्द्रका तर्फबाट  अजयले ६ हजार ७२ मत र उपमेयरमा प्रतिमाले ५ हजार ५ सय ७९ मत प्राप्त गरी विजयी हुनुभएको हो । 

अजयले निकटतम प्रतिस्पर्धी जसपाका उम्मेदवार प्रेम गुरुङको भन्दा ३ सय ५५ बढी मत प्राप्त गर्नुभयो। नेकपा एमालेको समेत साथ पाएका गुरुङले ५ हजार ७ सय १७ मत प्राप्त गर्नुभयो । नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार दिपकबाबु कडेलले ४ हजार ९ सय ९७ मत ल्याउनुभएको छ । 

यस्तै, उपमेयरमा विजयी प्रतिमाले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी चेतकुमारी श्रेष्ठको भन्दा ५ सय २ मत बढी पाउनुभएको छ । श्रेष्ठले ५ हजार ७७ मत प्राप्त गर्नुभयो। जसपाकोसमेत साथ पाउनुभएकी नेकपा एमालेकी उम्मेदवार पार्वती पाठकले ४ हजार २ सय ८१ मत ल्याउनुभयो । 

पालुङटारमा कांग्रेससँग गठबन्धनको योजना सफल हुन नसकेपछि जसपाले एमालेसँग चुनावी तालमेल गरेको थियो । मेयरमा एमालेले जसपालाई सघाउने र उपमेयरमा जसपाले एमालेलाई सघाउने सहमति भए पनि गठबन्धनका उम्मेदवार नेकपा माओबादी केन्द्रसँग पराजित भएका छन् । यस नगरपालिका जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृहनगर हो ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ११ : १७ बजे