आन्तरिक हवाई उडानमा अत्यधिक चाप

बाराको निजगढ नगरपालिकामा एमालेको ‘कमब्याक’ 

बारा । बाराको निजगढ नगरपालिकामा मेयर र उपमेयर पदमा जित हात पार्दै नेकपा एमालेले ‘कमब्याक’ गरेको छ ।

एमालेको बलियो पकड मानिँदै आएको निजगढमा २०७४ को निर्वाचनमा गुमेको साख फिर्ता गर्दै मेयर पदमा सुरथ परी र उपमेयरमा सोममाया थिङ्गले जित हात पार्नुभएको हो ।

काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेले विरासत फिर्ता गरेको हो । मेयर पुरीले ९४७५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी सुरोस खनालले ८६५९ मत पाउनुभयो । 

उपमेयरमा एमालेकी सोममाया थिङ्गले ८६५९ मत प्राप्त गर्दा गठबन्धनका रवि राज दङ्गाले ८५१८ मतमा चित्त बुझाउनुभयो ।

२०४२ सालदेखि निजगढमा पकड जमाउँदै आएको एमालेले गत स्थानीय निर्वाचनमा नगर प्रमुख पद भने गुमाउनुपरेको थियो । 

१३ वटा वडा रहेको निजगढमा २०७४ को निर्वाचनमा उपप्रमुखसहित ८ वडाध्यक्ष एमालेले जितेको थियो । मेयरमा काँग्रेस र माओवादी केन्द्र गठबन्धनबाट चुनाव लडेका सुरेश खनाल विजयी हुनुभएको थियो । यो निर्वाचनमा पनि गठबन्धनबाट प्रतिस्पर्धी रहेका खनाललाई एमालेका पुरीले पराजित गर्नुभयो ।

२०४३ को गाउँ पञ्चायत निर्वाचनमा यहाँ एमालेका पुरुषोत्तम पौडेल प्रधानपञ्च निर्वाचित हुनुभएको थियो । त्यसयता २०७४ को स्थानीय तहको चुनाव बाहेक सबै निर्वाचनमा एमालेले नै पकड जमाउँदै आएको छ । २०४९ र २०५४ सालको निर्वाचनमा गाविस अध्यक्ष र उपाध्यक्षसहित सबै वडामा एमालेका उम्मेदवार विजयी बन्नुभएको थियो। 

“जिल्लभित्र र बाहिर पनि निक्कै चासोको रूपमा हेरिएको थियो”, एमाले मधेस प्रदेश कमिटी सदस्य एवं निजगढका पूर्व गाविस अध्यक्ष एक बहादुर श्रेष्ठले भन्नुभयो, “यस पटक एमालेले आफ्नो साख कायम राखेको छ ।”

एमालेले यस पटकको निर्वाचनमा प्रमुख र उपप्रमुखसहित १३ मध्ये ५ वडाध्यक्ष जितेको छ । एमाले वडा नम्बर ३, ५, ६, ७ र १०  गरी पाँच वटा वडामा विजयी भएको छ । 

त्यस्तै, काँग्रेस अघिल्लो निर्वाचनमा एमालेले जितेको वडा नम्बर २, ४, ९ र ११ सहित वडा नम्बर १०, १२ र १३ मा पनि जित हात पारेको छ । एमालेले भने यसअघिको निर्वाचनमा कांग्रेसले जितेको वडा नम्बर १० मात्रै हात पारेको छ । 

 

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ८ : ४१ बजे