तीन प्रदेशमा वर्षाको सम्भावना

दोधारा चाँदनीमा एमालेका लिम्बू नगरप्रमुखमा निर्वाचित

महेन्द्रनगर। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको नगरप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार किशोर लिम्बू निर्वाचित हुनुभएको छ ।

आज सम्पन्न मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार गोपालदत्त भट्टलाई ९३३ मत अन्तरले पराजित गर्दै लिम्बू नगरप्रमुखमा निर्वाचित हुनुभएको हो । लिम्बूले सात हजार १०४ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी भट्टले छ हजार १७१ मत ल्याउनुभएको छ । 

त्यसैगरी नेकपा माओवादी केन्द्रबाट नगरप्रमुखको उम्मेदवार रहनुभएकी निरुदेवी कामीले ७७६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार गङ्गादेवी जोशी निर्वाचित हुनुभएको छ । उहाँले छ हजार ३६५ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार खिमा चन्दले पाँच हजार ८२२ मत प्राप्त गर्नुभएको छ । 

२६ हजार ८०३ मतदाता रहेको दोधारा चाँदनीमा यसअघि प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका थिए । १० वटा वडा रहेको दोधारा चाँदनीमा नेकपा एमालेले छ वडाध्यक्षसमेत जितेको छ । नौवटा पालिका रहेको कञ्चनपुरमा नेकपा एमालेले दुई र नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले एक÷एक पालिकामा जित निकालेको छ । 
 

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ३ : ०३ बजे