तीन प्रदेशमा वर्षाको सम्भावना

धनुषाका पाँच पालिकामा काँग्रेस र एमाले दुई र दुई, जसपा एकमा विजयी

जनकपुर । स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा नेपाली काँग्रेसले धनुषाको सबैभन्दा बढी स्थानीय तहमा अग्रता बनाएको छ । 

धनुषाको दुई वटा पालिका जितिसकेको काँग्रेसले थप पाँच पालिकामा अग्रता कायम गर्दा दुई पालिका जितेको नेकपा (एमाले)ले थप दुई स्थानीय तहमा अग्रता बनाएको छ । 

एउटा पालिकाको अध्यक्ष जितेको जनता समाजवादी पार्टीले थप तीन स्थानीय तहमा अग्रता कायम गरेको छ भने धनुषाको कुनै पनि पालिकाको प्रमुख–उपप्रमुख जित्न नसकेको नेकपा(माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टीले एक–एक स्थानीय तहमा अग्रता बनाएका छन् ।

जारी मतगणना परिणामअनुसार धनुषाको धनुषाधाम, मिथिला, नगराइन नगरपालिका, हंशपुर र बटेश्वर गाउँपालिकामा काँग्रेसले अग्रता बनाएको काँग्रेसले धनौजी र लक्ष्मीनियाँ गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष जितिसकेको छ । 

यस्तै धनुषाको औरही गाउँपालिका र विदेह नगरपालिकाको प्रमुख र उपप्रमुख जितेको एमालेले क्षीरेश्वरनाथ, मिथिला विहारी नगरपालिकामा अग्रता लिएको छ । 

काँग्रेसको विरासत भत्काउँदै जनकनन्दनी गाउँपालिकाको अध्यक्ष जितेको जनता समाजवादी पार्टीले सहिदनगर, कमला नगरपालिका र मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा अग्रता कायम गरेको छ । 

धनुषाधाम नगरपालिका प्रमुखमा कांग्रेसका बालेश्वर मण्डलले एक हजार ७२३ मत ल्याएर अग्रता कायम गर्नुभएको छ भने एमालेका योगकुमार यादवले एक हजार ४८० मतका साथ पछ्याइरहनुभएको निर्वाचन अधिकृत चिरञ्जीवी गौतमले जानकारी दिनुभयो ।

मिथिला नगरपालिकामा चार हजार ४५० मतका साथ कांग्रेसका महेन्द्र महतोले अग्रता कायम गर्नुभएको छ भने एमालेका राजाराम महतोले तीन हजार ५९५ मतका उहाँलाई पछ्याइरहनुभएको छ । 

काँग्रेस नेता विमलेन्द्र निधिको गृह नगर धनुषाको नगराइन नगरपालिकामा कांग्रेसका विनयकुमार यादवले दुई हजार १८८ मतका साथ अग्रता कायम गर्नुभएको छ भने एमालेका रामबाबु पंजियारले एक हजार ४७६ मतका साथ उहाँलाई पछ्याइरहनुभएको छ ।

त्यस्तै धनुषाको बटेश्वर गाउँपालिकामा कांग्रेसका रामअशिष महतो दुई हजार ४५८ मतका साथ अग्रता लिनुभएको छ भने एमालेका श्यामसुन्दर महतोले एक हजार ३८८ मत ल्याएर उहाँलाई पछ्याइरहनुभएको छ । 

हंशपुर गाउँपालिकामा कांग्रेसका प्रदीपकुमार यादवले एक हजार १३१ मतका साथ अग्रता लिनुभएको छ भने लोकतान्त्रिक समाजवादी पार्टीका रामज्ञान मण्डलले ५५४ मत ल्याएर उहाँलाई पछ्याइरहनुभएको छ ।

मिथिला विहारी नगरपालिकामा एमालेका अनिलकुमार यादवले एक हजार ३०७ मतका साथ अग्रता बनाउनुभएको छ भने माओवादी केन्द्रका सूर्यनारायण मण्डलले एक हजार ७ मतका साथ उहाँलाई पछ्याइरहनुभएको छ । 

विसं २०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले जितेको सहिदनगर नगरपालिकामा जनता समाजवादी पार्टीका दिनेशप्रसाद यादवले चार हजार ९७३ मतका साथ अग्रता लिनुभएको छ भने कांग्रेसका सुधीरकुमार गोइत दुई हजार ९३९ मतका साथ पछ्याइरहनुभएको निर्वाचन अधिकृत उत्तमप्रसाद खरेलले जानकारी दिनुभयो । 

त्यहाँ निवर्तमान नगरप्रमुख तथा माओवादी केन्द्रका उम्मेदवार उदयकुमार यादवले दुई हजार ८४२ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ । कमला नगरपालिकामा जनता समाजवादी पार्टीका पशुपति यादवले दुई हजार १०४ मतका साथ अग्रता लिनुभएको छ भने कांग्रेसका विशेश्वर यादवले एक हजार ७६३ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।

मुलुककै सबैभन्दा होचो ठाउँका रूपमा परिचित धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा जसपाका जयकुमार यादवले दुई हजार ६३९ मतका साथ अग्रता बनाउँदा कांग्रेसका रामबाबु यादव एक हजार ५५६ मतका साथ उहाँलाई पछ्याइरहनुभएको छ । 

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा भने माओवादी केन्द्रले अग्रता बनाएको छ । माओवादी केन्द्रका दुर्गाबहादुर मल्ल ठकुरीले एक हजार २९२ मतका साथ अग्रता लिँदा राप्रपाका जकसन हमाल ठकुरीले एक हजार २०८ मतका साथ उहाँलाई पछ्याइरहनुभएको छ ।

मतगणनाका क्रममा धनुषाका अधिकांश स्थानीय तहमा कमजोर देखिएको लोसपाले सबैला नगरपालिकामा भने अग्रता कायम गरेको छ । त्यहाँ लोसपाका रामचन्द्रप्रसाद जैसवालले एक हजार ८०५ मतका साथ अग्रता लिनुभएको छ भने माओवादी केन्द्रका कारीराम यादवले एक हजार ७०७ मतका साथ पछ्याइरहनुभएको छ ।रासस 

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ९ : ५२ बजे