तीन प्रदेशमा वर्षाको सम्भावना

प्रमुख प्रतिपक्षलाई एक्लाउने कुरा नेपालमा मात्रै भएको छ : एमाले उपाध्यक्ष नेम्बाङ

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङले सबै दलहरू मिलेर प्रमुख प्रतिपक्षलाई एक्लाउने कुरा संसारमा कतै नभई नेपालमा मात्रै भएको दाबी गर्नुभएको छ ।

मंगलबार मदन–आश्रित स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय बल्खुमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग बोल्दै उहाँले यस्तो दावी गर्नुभएको हो ।

उपाध्यक्ष नेम्वाङले भन्नुभयो, ‘स्थानीय निर्वाचनको बारेमा म प्रष्ट छु । नेकपा एमाले जो प्रमुख प्रतिपक्ष हो, राज्यको अभिन्न अंग हो । संसदीय प्रणालीमा प्रमुख प्रतिपक्षलाई महत्त्वपूर्ण रूपमा लिने गरिन्छ । तर आश्चर्यको कुरा सत्तामा रहेका साथीहरूले प्रमुख प्रतिपक्षको विरुद्धमा गठबन्धन गरेर प्रमुख प्रतिपक्षलाई एक्ल्याउने ढंगले जुन काम कारबाही गर्नुभयो, त्यो आश्चर्यको कुरा हो । त्यो कतै भएको छैन, यहीँ नेपालमा मात्र भएको छ ।’

उहाँले सबै मिलेर एमालेलाई घेराबन्दीमा पार्दासमेत आइरहेको मत परिणामले आफू उत्साहित भएको पनि बताए ।

उपाध्यक्ष नेम्बाङले भन्नुभयो, ‘अहिले हामीले गरेको कामबाट आएको परिणामबाट हामी उत्साहित छौँ । सबै मिलेर एक्ल्याउने प्रयास भए पनि हामीले दृढतापूर्वक सामना गरेर आएको परिणामबाट म उत्साहित छु । जे भएको छ त्यो गलत भएको छ । गठबन्धन हुन्छ तर त्यो गठबन्धन संसदीय मूल्य र मान्यताको हुनुपर्छ । मूल्य, मान्यता विपरीत भएका गठबन्धनहरू देश र जनताको हितमा हुँदैनन् । त्यही सम्बन्धित पार्टीकै हितमा पनि हुँदैन । यसै पटक पनि जनताले गरेको निर्णयमा कता कता त्यसको झलक देखिन्छ ।’

त्यस्तै, नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय निर्वाचन बिथोल्न सरकार नै गुण्डागर्दी गरेर लागि परेको आरोप लगाउनुभयो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  २ : ५० बजे