संसद् अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ ।  संसद्को दुवै सदनको अधिवेशन आजदेखि सुरु हुने भएको छ । 

मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख २५ गते अधिवेशन आह्वान गर्नुभएको थियो । मन्त्रिपरिषद्ले सोही दिन नै सिफारिस गरेको थियो ।

बैठक आज दिनको ४ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बोलाइएको छ ।

प्रतिनिधिसभाको बैठकको तयारीका बारेमा सोमबार मात्रै सभामुख अग्निप्रसाद सापकोटाले जानकारी लिनुभएको थियो । 

यस्तै, सभामुख सापकोटाले आज दिउँसो २ः३० बजे कार्य व्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको छ । अघिल्लो बैठक प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को लगातारको अवरोधका कारण नियमित रुपमा सञ्चालन हुन सकेको थिएन । यद्यपि, अमेरिकी सहयोग परियोजना (एमसिसी) लगायतका केही विषयलाई भने प्रतिनिधिसभाले निष्कर्षमा पुर्‍याएको थियो ।

कार्य व्यवस्था परामर्श समितिको बैठकले नै कार्यसूची लगायतका विषयमा निर्णय गर्नेछ । एमालेले बैठकमा के गर्ला भन्ने चासो पनि उत्तिकै छ । त्यसो त सङ्घीय संसद् सचिवालयका तर्फबाट केही सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

वर्षे अधिवेशन पनि भएकाले सरकारको नीति तथा कार्यक्रम र बजेटसमेत यसै अधिवेशनमा प्रस्तुत हुनेछ । सम्भावित कार्यसूचीमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र वाचन गर्ने सम्भावित कार्यसूची छ । 

त्यस्तै, सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ अनुसार अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्नुहुनेछ । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमका अनुसार सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ पेस गर्नुहुनेछ ।

त्यस्तै, अर्थमन्त्री जनार्दन शर्माले ‘आव २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक)माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ । 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  २ : ३१ बजे