नेता भण्डारीले देखाएको मार्ग निर्देशलाई अघि बढाउन चुनौती : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ ।  नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जननेता मदन भण्डारीले देखाउनुभएको मार्ग निर्देशलाई अघि बढाउने  चुनौती पार्टीलाई रहेको बताउनुभएको छ । 

आज यहाँ २९ औँ मदन आश्रित स्मृति दिवसको अवसरमा आयोजना भएको कार्यक्रममा उपाध्यक्ष पोखरेलले नेता द्वय भण्डारी र आश्रितले देखाएको मार्गदर्शनलाई आत्मसात् गर्दै राष्ट्रिय अभियान पूरा गर्ने जिम्मा पार्टीको रहेको बताउनुभयो ।

फरक प्रसङ्गमा उहाँले भन्नुभयो, “केही दिनअघि सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामले पनि आफ्नो पार्टीमा जनमत बलियो रहेको छ । ” आगामी दिनमा पनि जनमतमा टेकेर लोकतन्त्रलाई थप बलियो बनाउनुपर्ने विचार उपाध्यक्ष पोखरेलले राख्नुभयो ।

​​​​​​​

कार्यक्रममा पार्टीका महासचिव शङ्कर पोखरेलले देशलाई कमजोर बनाउने बहाना एमालेलाई मान्य नहुने धारणा राख्नुभयो ।   

महासचिव पोखरेलले प्राविधिक रूपमा केही स्थानीय तहमा पराजय भोग्नुपरे पनि समग्र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जनमतको हिसाबले एमाले लोकप्रिय रहेको बताउनुभयो ।  

​​​​​​​

स्मृति दिवसमा नेताहरू सुवासचन्द्र नेम्वाङ, अष्टलक्ष्मी शाक्य, प्रदीपकुमार ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, विष्णु पौड्याल लगायतका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  १२ : ३० बजे