स्थगन भएका नौ मतदान केन्द्रमा आज मतदान 

काठमाडौँ । गत वैशाख ३० गते स्थगन भएकामध्ये पाँच स्थानीय तहका नौ मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ । 

निर्वाचन आयोगका अनुसार आज मतदान भइरहेकामा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१३ स्थित श्रीराम मावि मतदान स्थलका दुई मतदान केन्द्र, अछामको पञ्चदेवल विनायक नपा–५ को नवज्योति माविका दुई मतदान केन्द्र, धनकुटाको शहीदभूमि गाउँपालिकाको ठाकुरदेवी माविको तीन मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरपालिका–१० को विजय माविको १ मतदान केन्द्र, बाजुराको बूढीनन्दा नगरको पिस क्रियटिभ एकेडेमीस्थित १ मतदान केन्द्र रहेको छ ।

राजनीतिक दल र उम्मेदवार तथा अन्य पक्षको विवादका कारण स्थगन भएका १७ जिल्ला, २८ स्थानीय तहका ४४ मतदान स्थलका ८५ मतदान केन्द्रमध्ये निर्वाचनको नयाँ मिति तोकिने र निर्वाचन हुने क्रम जारी रहेको छ । स्थगन भएकामध्ये जेठ १ गते ७ र २ गते १३ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ ।

जेठ ४ गतेका लागि तनहुँको व्यास नपा–४ को गाविस भवन मतदान स्थलका दुई केन्द्र, रौतहटको गढीमाई नपा–३ स्थित प्रावि लक्ष्मीपुरका दुई मतदान केन्द्र र वडा नं ६ को प्रावि आदर्श मावि मतदान स्थलको दुई मतदान केन्द्रमा मतदान हुने मिति तय भएको छ ।

स्थगन भएकामध्ये बाजुराको बुढीगङ्गा नगरमा गत वैशाख ३० गते भएको मतदान प्रक्रिया रद्द भई अर्को मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट आएको सिफारिसका सम्बन्धमा गठित छानबिन समितिले स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाउँदै छ । रासस

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ११ : २६ बजे