‘नेशनल डे कन्सर्ट’ सम्पन्न

मदन भण्डारीलाई ‘जननेता’ र जीवराज आश्रितलाई ‘कुशल संगठक’को सम्मान

आज जेठ ३ । यो जेठ ३ अन्य महिनाका गतेहरू जस्तै हरेक वर्ष आउँछ । तर, नेपाली कम्युनिष्ट लोकतान्त्रिक राजनीतिक सिद्धान्त र विचार लिएका क्रान्तिकारी देशभक्त नेपालीहरूका लागि यो दिन पीडादायी रूपमा आउने गर्दछ । कतिपयलाई यो दिन सम्झँदा मात्र पनि आङ् सिरिङ्ग भएर आउँछ । सम्झँदा भक्कानो छुटाउने गरी आउँछ ।

वि.स. २०५० साल जेठ ३ गते आजकै दिन नेपाली कम्युनिष्ट आन्दोलनका नवीन सिद्धान्तकार, जनताको बहुदलीय जनवादका प्रतिपादक जननेता मदन भण्डारी र वहाँका सहयोद्धा कुशल सङ्गठक जीवराज आश्रितको देहावसान भएको थियो । जीवन र मृत्यु स्वाभाविक हो । संसारमा धेरै मानिस जन्मेका र मरेका छन्, तर मदन भण्डारी र जीवराज आश्रितको मृत्यु स्वाभाविक र प्राकृतिक थिएन । रहस्यमय रूपमा भएको जीप दुर्घटनामा वहाँहरू दुवै जनाको एकसाथ देहावसान भएको थियो । अहिले पनि त्यो दुर्घटना भनिएको घटनाको रहस्यको पर्दा उघ्रिसकेको छैन, रहस्यमय नै छ । मदन भण्डारी त्यतिबेला नेपाल कम्युनिष्ट पार्टी एमालेको महासचिव हुनुहुन्थ्यो र जीवराज आश्रित सङ्गठन विभाग प्रमुख हुनुहुन्थ्यो । त्यस घटनाबाट एमालेको विचार र सङ्गठनमाथि ठुलो प्रहार भएको थियो । 

संसारको कम्युनिष्ट आन्दोलन अप्रत्याशित ढङ्गले कमजोर बनिरहेको थियो । कम्युनिष्ट आन्दोलन कमजोर हुनु भनेको श्रमजीवी वर्गको हक हितको झण्डा लत्रिनु हो । समाजवादी समाज स्थापना गर्ने लक्ष कमजोर हुनु हो । त्यसैले साम्राज्यवादको सेवामा बाँचेका पुँजीवादीहरू संसारबाट कम्युनिष्ट आन्दोलन सिद्धियो, कम्युनिष्टको भविष्य छैन, कमजोर वर्ग र राष्ट्रका स्वाभिमानका समय बिते भनेर खुसी मनाइरहेका थिए । संसारका श्रमजीवी, समाजवादमा भविष्य देख्ने राष्ट्रिय पुँजीपति वर्ग, राष्ट्रिय स्वाभिमान र मुक्तिको सङ्घर्षमा रहेका मुलुकहरू दुःखी र उकुस मुकुसमा रहेका थिए । वास्तवमा यस्तो अवस्था आउनुमा कतिपय देशका कम्युनिष्ट नेतृत्वले परिवर्तित अवस्था र जनताको मनोविज्ञान ठम्याउन नसक्नु र नयाँ नयाँ रूपमा, नयाँ नयाँ दाउपेच सहित उपस्थित भएको साम्राज्यवादी पुँजीवादी शक्तिको चाल ठम्याउन नसक्नु र नयाँ चुनौतीको सामना गर्ने नयाँ विकल्पसाथ आफूलाई प्रस्तुत गर्न नसक्नु नै रहेको थियो । 

नेपालमा पनि यी दुवै थरी शक्ति र पक्षहरूमा यी दुवै थरी भाव, चिन्ता, आक्रोश देखिनु स्वाभाविक थियो । तर, आन्दोलनलाई क्रान्तिकारी सारसहित नयाँ स्वरूपमा उभ्याउने विचार र आँट कसैले गरिरहेका थिएनन् । प्रजातन्त्र—लोकतन्त्रका नाममा उदार बुर्जुवा शक्तिसँग टाँसिने या देशभक्तिका नाममा निरङ्कुश निर्दलीय राजतन्त्रसँग मिसिने बाहेक अर्को राजनीतिक विकल्प देखा परेको थिएन । 

यस्तो अवस्थामा नेपालको राजनीतिमा उक्त दुवैथरि प्रवृत्तिलाई चिर्दै कम्युनिष्ट आन्दोलनलाई नयाँ विचारसहित अघि बढाउने र कम्युनिष्ट पार्टीले लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्ने  गरी मदन भण्डारी अगाडि आउनुभयो । मदन भण्डारीले त्यतिबेला अघि सार्नुभएको विचार नै जनताको बहुदलीय जनवाद हो । यसले परम्परागत लोकतन्त्रलाई जनमुखी बनाउन र कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक बनाउने काम गर्‍यो ।

परम्परागत प्रजातन्त्रवादीहरूले प्रयोग गर्दै आएका प्रणालीहरूलाई जनमुखी उद्देश्यका साथ कम्युनिष्ट आन्दोलनले प्रयोग गर्ने गरी प्रतिपादन गरिएको विचार नेपालको कमजोर बनिरहेको कम्युनिष्ट आन्दोलनका लागि सञ्जीवनी बन्यो । राज्यको लोकतान्त्रीकरण, पार्टीहरूको लोकतान्त्रीकरण र समाजको लोकतान्त्रीकरणको समग्र लोकतान्त्रीकरणको विषय जनताको बहुदलीय जनवादको अन्तर्वस्तु सर्वग्राह्य विचारका रूपमा स्थापित भयो । 

यस विचारसँगै विभिन्न समूहमा बाँडिएर रहेका साना ठुला कम्युनिष्ट समूहहरू बीचमा एकीकरणको लहर चल्यो । यस एकीकरणले पुष्पलालको विरासतदेखि झापा विद्रोह सम्मलाई एकताबद्ध बनायो । यसरी विचार र सङ्गठन दुवै हिसाबले नेपालको कम्युनिष्ट आन्दोलन अभूतपूर्व रूपमा लोकप्रिय शक्तिका रूपमा स्थापित भयो । र, संसारभरि यस सफलताको चर्चा चुलियो । नेपालमा कार्लमाक्र्स जीवित छन् भन्ने सम्मका समाचार बने । 

यस्तो विचार र सङ्गठनलाई उही सारका साथ अघि बढाउनमा जीवराज आश्रितको महत्त्वपूर्ण भूमिका रहेको थियो । यही कारण हुनुपर्छ अन्तिम समयमा उहाँहरू सँगसँगै हुनुहुन्थ्यो । अन्य नेताहरू वहाँहरूप्रति विश्वस्त भएको अवस्था थियो । 

नेपाली कम्युनिष्ट आन्दोलनलाई संसारले चिन्ने चर्चासाथ नेतृत्व गरिरहनुभएका मार्क्सवादको सिर्जनात्मक प्रयोगकर्ता नवीन विचारक मदन भण्डारी र कुशल संगठक जीवराज आश्रित चढ्नुभएको जीप अत्यन्त रहस्यमय ढङ्गले चितवनको दासढुंगामा दुर्घटना भयो र वहाँहरू दुवै जनाको देहावसान भयो । यो घटना नेपाली राजनीतिमा हरेक जेठ ३ गते बल्झिने गर्दछ । 

उहाँहरूका योगदानले आज नेपालका कम्युनिष्ट पार्टीहरू चुनावमा छन्, सत्तामा छन्, मुलुकको मूलधारको राजनीतिमा छन् । उहाँहरूको योगदान नेपालको कम्युनिष्ट लोकतान्त्रिक आन्दोलनले बिर्सन हुने छैन । 

उहाँहरूले देखाउनुभएको बाटोमा नेपालको राजनीतिलाई अघि बढाउन र सफल पार्न जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त स्वीकार गरेको पार्टी नेकपा एमालेले थप गम्भीरता र जिम्मेवारीका साथ अघि बढ्न आवश्यक छ । 

नेकपा एमाले नै मदन भण्डारीलाई ‘जननेता’ र जीवराज आश्रितलाई ‘कुशल संगठक’को सम्मान दिएको थियो । अहिलेको पुस्ताले उहाँहरूका योगदानबारे थाहा पाउन र बाटो पछ्याउन आवश्यक छ । 

दर्दनाक घटनाबाट सन्तप्त पार्दै आएको शोकलाई शक्तिमा बदल्नुको विकल्प छैन । विचार, त्याग, समर्पण, निष्ठा, सङ्गठन, अनुशासनका लागि मदन भण्डारी र जीवराज आश्रितको सम्झना गरौँ । जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली !! 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  १० : ५२ बजे