तीन प्रदेशमा वर्षाको सम्भावना

कास्कीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा ९एमाले०का उम्मेदवार विजयी भएका छन् ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत मतगणनाको आज बिहान जारी अन्तिम परिणामअनुसार एमालेका विष्णुबहादुर केसीले नेपाली काँग्रेसका युवराज कुँवरलाई ७६३ मतान्तरले पराजित गर्दै अध्यक्षमा विजयी हुनुभएको हो ।  

नव निर्वाचित केसीले छ हजार ७२२ मत ल्याउँदा कुँवरले पाँच हजार ९५९ मत प्राप्त गर्नुभयो । विसं २०७४ को निर्वाचनमा केसी निवर्तमान गाउँपालिका अध्यक्ष कुँवरसँग पराजित हुनुभएको थियो ।

उपाध्यक्षमा एमालेकै चन्द्रकला अधिकारी देवकोटाले छ हजार ६०८ मतसहित विजयी भएकी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका खेमकुमारी गुरुङले छ हजार १४ मत प्राप्त गर्नुभयो । अन्नपूर्णका ११ वटा वडामध्ये १, ३, ६, ७, ९ र ११ वडामा एमाले र २, ४, ५, ८ र १०  मा काँग्रेसले वडाध्यक्ष जितेको छ ।

जिल्लाका पाँच स्थानीय तहमध्ये हालसम्म तीन पालिकाको अन्तिम मत परिणाम आइसकेको छ । अन्नपूर्ण र रुपा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित बहुमत वडाध्यक्ष एमालेले जितेको छ । 

काँग्रेस माछापुच्छ्रेको अध्यक्ष र उपाध्यक्षसहित सात वडाध्यक्षमा विजयी भएको छ । 

पोखरा महानगरपालिका र मादी गाउँपालिकाको मतगणना जारी छ । मादीमा काँग्रेस र पोखरामा गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)ले अग्रता लिएको छ ।  रासस

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ९ : ०९ बजे