जेठ ३ गते नेपाली कम्युनिष्ट आन्दोलनको एउटा पीडादायी दिनको रूपमा आइरहन्छ । कमरेड मदन भण्डारीको विलक्षण वैचारिक क्षमता र कमरेड जीवराज आश्रित सङ्गठन सञ्चालनको कुशल क्षमता राख्नुहुन्थ्यो ।
विश्व कम्युनिष्ट आन्दोलन सङ्क्रमणकालीन अवस्थामा रहेका बेला र नेपालको कम्युनिष्ट आन्दोलन समेत लामो समय भूमिगत अवस्थामा चल्नुपरेकोले अपेक्षित उपलब्धि प्राप्त गर्न सकिरहेको थिएन । यस्तो अवस्थामा कम्युनिष्ट आन्दोलनलाई नयाँ उँचाइबाट अगाडि बढाउनु पर्ने आवश्यकता थियो । यो काम मदन भण्डारीकै वैचारिक नेतृत्वमा तत्कालीन नेकपा मालेले आफ्नो राजनैतिक विकासको नयाँ बाटो अगाडि बढाउन सफल भएको थियो ।
नेपालको कम्युनिष्ट आन्दोलनलाई प्रजातान्त्रिक कार्यनीतिबाट अगाडि बढाएर मात्र नेपालको कम्युनिष्ट आन्दोलनलाई विकास गर्न सकिन्छ भन्ने विचार २०४६ को चौथौँ महाधिवेशनबाट पारित गर्दै मदन भण्डारीले पार्टी नेतृत्वको जिम्मेवारी समेत वहन गर्नु भएको थियो । उहाँले नेतृत्व प्राप्त गरेपछि महाधिवेशनद्वारा पारित विचारलाई यथाशीघ्र कार्यान्वयनमा लाने सङ्कल्पका साथमा सक्रिय रहनु भयो । ०४६ सालको जनआन्दोलनमा राजनैतिक तथा साङ्गठनिक नेतृत्व गर्दै जनआन्दोलन सफल बनाउने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै नेपालमा बहुदलीय व्यवस्थाको स्थापनामा सफलता प्राप्त भएको थियो ।
बदलिँदो परिस्थितिमा नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकरण गर्ने सोचका साथ तत्कालीन नेकपा माले र नेकपा मार्क्सवादी बीच २०४७ सालमा एकीकरणलाई भयो भने २०४८ सालको आमनिर्वाचनमा नेकपा एमालेलाई प्रजातान्त्रिक कार्यनीतिबाट नेपाली जनताको आशा र भरोसाको राजनैतिक पार्टीका रूपमा स्थापना गर्न सफलता प्राप्त भएको थियो । बदलिँदो अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका सन्दर्भमा नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ दिशा दिँदै अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा समेत चासो र चर्चामा रहनु भएका मदन भण्डारीको २०५० जेठ ३ मा षड्यन्त्रपूर्वक हत्या भयो । मदन भण्डारीको वैचारिक क्षमतालाई अगाडि बढाउन हरेक क्षण उहाँको वैचारिक तथा साङ्गठनिक कार्यमा पूर्ण रूपमा सहयोग तथा सहकार्य गरिरहनु भएका अनुशासित, कामप्रति समर्पित तथा कुशल सङ्गठक जीवराज आश्रित पार्टीको भरोसायोग्य नेताको रूपमा अगाडि आइरहनु भएको थियो । यस्ता कुशल सङ्गठक नेताको समेत एउटै घटनामा देहावसान भएबाट नेपालको कम्युनिष्ट आन्दोलनले धेरै ठुलो क्षति बेहोर्नु प¥यो । यस दुःखद घटनाले नेपाली कम्युनिष्ट आन्दोलनमा जेठ ३ सधैँ एउटा ज्यादै दुःखद दिनको रूपमा घोचिरहने गरी आइरहने गरेको छ ।
यस दुःखद दिनलाई नेपालको कम्युनिष्ट आन्दोलनमा एउटा नयाँ बिहानीको रूपमा अगाडि बढाउने सोचले नेपालका दुई वटा ठुला कम्युनिष्ट दलहरू नेकपा एमाले र नेकपा माओवादी बीचमा २०७४ ज्येष्ठ ३ मा एकीकरणको घोषणा गरिएको थियो । त्यस एकीकरणले नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँ उत्साह ल्याउँदै नेपाली समाजलाई विकासको नयाँ उँचाइमा लानको लागि नेकपाको सरकारले आफ्नो कार्यहरू तीव्र गतिमा अगाडि बढाइरहेको थियो । नेपाली समाज र नेपालको कम्युनिष्ट आन्दोलनमा आएको यस नयाँ ऊर्जालाई प्रतिक्रियावादीहरूले सहन सकेनन् र पार्टीभित्रबाट विभाजनको बीजारोपण गराई यस अभियानलाई दुर्घटनाग्रस्त बनाइयो । यस भूमिकामा नेकपा एमाले निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका नेताहरू माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम समेत प्रमुख पात्रका रूपमा देखा पर्नु दुःखद पक्षको रूपमा रहेको छ । यस दुःखद घटनाको बारेमा पनि इतिहासमा समीक्षा हुनेछ ।
नेकपा एमालेले नेपाल र विश्वको बदलिँदो परिस्थितिमा शान्तिपूर्ण प्रतिस्पर्धात्मक प्रणालीबाट नेपाली समाजको आमूल रूपान्तरण गर्ने जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा नयाँ उँचाइबाट अगाडि बढाउने काममा नेतृत्व गरिरहनु भएका पार्टी अध्यक्ष के.पी. ओलीको नेतृत्वमा आन्दोलनले नयाँ गति लिने जमर्को गरिरहेको छ । नेकपा एमालेको यस अभियानलाई यतिबेला चारै तिरबाट कथित कम्युनिष्ट तथा प्रजातान्त्रिक पार्टीहरूले घेराबन्दी भइरहेको छ । यस घेराबन्दीलाई विवेकपूर्ण रूपमा तोड्नका लागि मदन भण्डारीको वैचारिक तथा नेतृत्व शैली तथा जीवराज आश्रितको कुशल सङ्गठनात्मक शैलीलाई आत्मसात् गरी अगाडि बढ्नु नै यस ऐतिहासिक दुःखद दिनको मूल मर्म हो । हामीले आजको दिनमा उहाँहरूका राम्रा र अनुकरणीय पक्षहरूलाई आत्मसात् गरी पार्टी जीवनमा कार्यान्वयन गर्नु नै आजको यस दिनको महत्त्व र उहाँहरू प्रतिको सच्चा सम्मान हुनेछ ।
ज्येष्ठ ३ नेपालको कम्युनिष्ट आन्दोलनले श्रद्धेय नेताहरूको नेपालको कम्युनिष्ट आन्दोलनमा दिनु भएका योगदानका बारेमा बृहत् रूपमा चर्चा गर्ने, विगतका कमजोरीहरू पहिचान गर्नेछ, कम्युनिष्ट आन्दोलनका राम्रा पक्षहरूको खुलेर चर्चा गर्ने र विगतबाट शिक्षा लिँदै सुन्दर भविष्यका लागि आन्दोलनलाई सही दिशामा अघि बढाउने सङ्कल्प गर्ने दिनका रूपमा लिनु पर्दछ । अहिले नेपालको कम्युनिष्ट आन्दोलन जुन उँचाइमा पुगेको छ, यसमा धेरै नेता—कार्यकर्ताहरूको योगदान छ । उहाँहरूका त्याग, समर्पण र बलिदानको परिणाम स्वरूप आज नेकपा एमाले नेपालको राज्यसत्ताको बागडोर समाल्ने ठाउँमा पुगेको हो ।
नेपालको पछिल्लो वैचारिक योगदानका बारेमा हामीले चर्चा गर्दा र अहिलेको वास्तविकतालाई इमानदारीताका साथ आत्मसात् गर्दा नेपालको राजनीतिको वैचारिक मियो जननेता मदन भण्डारी नै हुनुहुन्छ भन्न हिच्किचाउनु पर्दैन । नेपालको राजनीतिमा मदन भण्डारीले वैचारिक नेतृत्व गरी अघि सारिएको र विगत तीन दशकदेखि व्यवहारमा समेत प्रमाणित भएको जनताको बहुदलीय जनवाद नै यतिबेला नेपालको राजनीतिको मियोको रूपमा स्थापित भएको छ । बलियो सङ्गठन र अनुशासनको अभ्यासमा जीवराज आश्रितको योगदान अविस्मरणीय छ ।
मदन भण्डारीको नेतृत्वमा प्रतिपादित तथा व्यवहारबाट सिद्ध भएको जबजको सैद्धान्तिक तथा कार्यनीतिक विचार नै यतिबेला नेपालको कम्युनिष्ट आन्दोलनको वैचारिक मियोको रूपमा स्थापित भएको छ । हामीले आजका दिन हाम्रा आदरणीय नेताहरू मदन भण्डारी र जीवराज आश्रितलाई स्मरण गर्ने हो भने कमजोरीहरू सच्याउने र कुनै पनि सफलतामा आन्तरिक पक्ष वा असफलतामा बाहिरी पक्षलाई मात्र कारण बनाउने एक पक्षीय सोचलाई द्वन्द्वात्मक रूपमा विश्लेषण गर्ने प्रणालीको विकास गर्नुपर्छ । जबजको विचारलाई लामो समय अवलम्बन गर्दा पनि लोकप्रियताको शिखरमा किन पुग्न सकिएको छैन भन्ने बारेमा पनि गम्भीर समीक्षा गर्नु पर्ने अवस्था छ ।
जबजले अङ्गीकार गरेको जनताको मन मस्तिष्क जित्ने र शक्ति सञ्चयको कार्यनीतिलाई व्यवहारमा कार्यान्वयन गर्ने जनवादी कार्यशैली अपनाउँदै प्रतिस्पर्धाको मैदानमा श्रेष्ठता कायम गर्ने विश्वासबाट नै राज्य सञ्चालन गर्ने अठोट गर्न सक्दा मात्र जेठ ३ को दुःखद घटनालाई शक्तिका रूपमा बदल्छौँ भन्ने सङ्कल्प लिएको ठहर्ने छ ।
जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितप्रति हार्दिक श्रद्धाञ्जली !
प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार ८ : ५० बजे
प्रतिक्रिया