दुई दाजुभाइ गाउँपालिका अध्यक्षमा निर्वाचित

ओखलढुंगा । ओखलढुंगाको मोलीका एकै परिवारका दुई दाजुभाई गाउँपालिक अध्यक्षमा निर्वाचित भएका छन् । बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा दाजुभाइ नै दुई फरक जिल्लाको फरक÷फरक गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् । 

धनकुटा र ओखलढुंगा जिल्लाबाट दाजुभाइले नै गाउँपालिका अध्यक्षमा विजयी भएका छन् ।  दाजु जीतेन्द्र रुम्दालीले धनकुटाको साँगुरीगढी गाउँपालिका र भाइ ज्ञानेन्द्र रुम्दालीले ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकाबाट चुनाव जितेका हुन् । जीतेन्द्र र ज्ञानेन्द्र आफ्नै दाजुभाइ हुन् । 
ज्ञानेन्द्रले कांग्रेसको सर्मथनमा स्वतन्त्र उम्मेदवारी दिएर अध्यक्षमा विजय हासिल गरेका हुन् । उनले एमालेका रुपलाल तामाङलाई १ हजार २ सय ६ मतान्तरले जितेका छन् । ज्ञानेन्द्रले ५ हजार २१ मत ल्याउँदा एमालेका तामाङले ३ हजार ८ सय १५ मत प्राप्त गरेका हुन् ।

गठबन्धनको तर्फबाट धनकुटाको साँगुरीगढी गाउँपालिकामा कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका जीतेन्द्रले ५ हजार ३ सय ९९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कुमारजंग याखाले ४ हजार ८ सय २८ मत प्राप्त गरेका थिए । 

दाजुभाइले नै गाउँपालिका अध्यक्ष जितिरहँदा उनीहरूकै दाजु राजकुमार रुम्दाली पनि मानेभन्ज्याङ गाउँपालिका १ को वडाध्यक्षमा विजयी भएका छन् । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएर उनले मानेभन्ज्याङ गाउँपालिकामा जित हाँसिल गरेका हुन् । 

उनीहरूका भाइ दीपेन्द्र रुम्दालीले मानेभन्ज्याङ गाउँपालिकाको उपाध्यक्षमा हार बेहोर्नुपरेको छ । जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदारी दिएका दीपेन्द्रले २ हजार ७ सय ७७ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा विजयी हासिल गर्ने नेपाली कांग्रेसकी आश्राचन राईले ४ हजार ७ सय ५० मत प्राप्त गरेका छन् । 

५ दाजुभाई मध्ये जनता समाजवादीका नेता धिरेन्द्र रुम्दालीले भने यसपटक चुनाव लडेनन् ।
कांग्रेसका स्व. नेता बलबहादुर राईको नाती पर्ने रुम्दाली दाजुभाई राजनीतिमा निकै सकृय छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ३ : ४१ बजे