‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

लुम्बिनी क्षेत्रलाई विश्व शान्ति शहरका रुपमा विकास गरौं

विगतमा अलि सुस्त गतिमा विकास भएको लुम्बिनी विकास कोषले विगत केही बर्षदेखि लुम्बिनी क्षेत्रमा रहेका बुद्धकालिन सम्पदाहरुको विकासका लागि आफनो गति बढाएकोछ । जबसम्म लुम्बिनी, रामग्राम, देवदह, तिलौराकोट, सैनामैना जस्ता बुद्धकालिन सम्पदाहरुको एकिकृत रुपमा विकास हुदैन तबसम्म लुम्बिनीको समग्र विकासको सपना पुरा हुदैन । त्यति मात्र होइन जबसम्म सम्पदाभित्रको साथै सम्पदा बाहिर बिशाल पर्यटकीय शहरहरुको विकास हुदैन । उक्त सम्पदाको वरिपरि विगत लामो समयदेखि संरक्षण गरेर बसेका आम जनताको जीवनस्तरमा सुधार नआउँदासम्म न त उनीहरु उत्साहका साथमा सरकार र सम्बन्धित निकायहरुले अगाडी सारेका योजनाहरुमा सहयोग र समर्थनमा तत्पर देखिन्छन् । 

यहि जनताको मनोभावनालाई बुझेर अहिले लुम्बिनी विकास कोष तथा संघीय पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्रालयले बृहत्तर लुम्बिनी क्षेत्रको योजना तथा शान्ति शहरको निर्माण गर्ने सोचका साथमा विभिन्न स्तरका छलफल तथा अन्तरक्रिया कार्यक्रमहरु संचालन गर्दै लुम्बिनी क्षेत्रका जनप्रतिनिधि तथा सरकोकारवालासँग यहि २०७६ माघ २१ गतेका दिन बृहत छलफल कार्यक्रममार्फत जनताले आफ्नो सम्पदाको वरिपरिको विकासका लागि कुन विधिवाट अगाडी बढन सकिन्छ भन्ने बारेमा सुझाव संकलन कार्यक्रमको शुरुवात गरेको छ । अब यस अभियानलाई सफलताको साथमा अगाडी बढाउनका लागि व्यापक जनता तथा सरोकारवाला सस्थाहरुको बीचमा छलफल तथा अन्तरक्रिया कार्यक्रमहरु आयोजना गर्ने र सम्बन्धित निकायलाई आवश्यक सुझाव दिने दायित्व हामी यस क्षेत्रका सरोकारवाला निकायको काधमा आएको छ । 

जनताको विकास देख्न नसक्नेहरुलाई चिनौ :
हाम्रो जस्तो देश जहाँको जमिनमा व्यक्तिगत स्वामित्व रहेको छ र सार्वजनिक जमिनहरु ज्यादै कम मात्रामा छन त्यस देशमा सरकारले ल्याउने बृहत आयोजनाहरु सरकारको पहलमा मात्र गर्न सम्भव छैन । अहिले यस लुम्बिनी क्षेत्रमा विभिन्न राष्ट्रका उद्योगी तथा व्यवसायीहरु पर्यटनमैत्री परियोजनाहरु संचालनका लागि आउने र छलफल गसिररहेका छन् तर उनीहरुको पहिलो प्रश्न नै तिमिहरुसँग यस क्षेत्रको विकासको गुरुयोजना के छ भन्ने रहन्छ ।

यस विषयमा हामीले यस क्षेत्रको पर्यटन विकासको बृहततर गुरुयोजना छैन भन्ने गरेका छाँै । त्यसपछि उनीहरुले यदि हामीले योजना बनाउने हो भने हामीलाई चाहिने जमिन सरकारले उपलव्ध गराउन सक्छ त ? भन्दा हाम्रो सरकारसँंग सरकारी जग्गा छैन यसको लागि व्यक्तिसँग लिज वा खरिद गर्नुपर्दछ भन्ने विषयवाट उनीहरु पछि हटने गरेकाछन । तसर्थ अब हामीले यदि यस क्षेत्रको बृहत्तर विकास गर्ने हो भने यसको बृहत्तर विकासको गुरुयोजना र योजनाका लागि आवश्यक जग्गाको व्यवस्था अनिवार्य भएकोले यस क्षेत्रको बृहत्तर पर्यटन  विकासको गुरुयोजना बनाउनु पहिलो कार्य हो ।

यसै गुरुयोजनाको आधारमा हामीले यसका लागि आवश्यक जमिन कसरी र कुन मोडलमा प्राप्त गर्ने भन्ने विषयमा छलफल आवश्यकछ । यी दुवै कार्यको थालनी लुम्बिनी विकास कोषको पहलमा अगाडी बढनु स्वागतयोग्य विषय हो । त्यसको लागि अहिले लुम्बिनी विकास कोषको पहलमा भएको बृहत्तर लुम्बिनी क्षेत्रको योजना तथा शान्ति शहरको बृहत्तर लुम्बिनी विकासको योजना तथा शान्ति शहरको परिकल्पनाका लागि योजना बनाउने जुन कार्यको थालनी भएको छ यसलाई हामीले राम्रोसँग बुझने छलफल गर्ने र यसलाई सफल बनाउने कार्यमा हामी सवै सरकोकारवालाहरु लाग्न आवश्यक छ । विशेष गरी लुम्बिनी, तिलौराकोट, देवदह, सैनामैना र रामग्रामका पालिका क्षेत्रका नागरिकहरु तनमनका साथ सहयोग र समर्थनमा लाग्न आवश्यक छ । यसबेला जनताको विकास देख्न नसक्ने र राजनैतिक पूर्वाग्रहका कारणले सोझा जनताहरुका बिचमा भ्रमको खेती गर्दै आफ्नो रोटी सेक्नेहरुसँग भने सबै सचेत विकासप्रेमी नागरिकहरु सचेत हुन आवश्यक छ । 

लुम्बिनी विकास हामी सबैको दायित्व हो ।
कुनै पनि सम्पदाभित्रको अवस्थालाई आकर्षक, पर्यटनमैत्री र सुन्दर बनाउन अति आवश्यक छ त्यति नै मात्रामा हामीले हाम्रा सम्ंपदा वरिपरिको स्थानलाई पर्यटकीय शहरको रुपमा विकास गर्नका लागि पनि त्यतिकै महत्वका साथमा लाग्न सक्यौँ भने मात्र सम्ंपदा र सम्पदा वरिपरि रहेका जनताको विकासले गति लिन सक्छ र जनताहरु समेत उक्त सम्पदा क्षेत्रको विकासमा उत्साहका साथमा लाग्न सक्नेछन् । सम्पदा भित्रको विकासमा जसरी त्यस सम्पदाको संरक्षण र विकास गर्ने जिम्मेवारी पाएका विकास कोषका अधिकारीहरुको भूमिका हुन्छ सम्पदा बाहिरको विकासमा पनि त्यतिकै भूमिकाका साथमा हामी यस क्षेत्रका सबै अगुवाहरु जनप्रतिनिधिहरु र जनताको चासो र भूमिका आवश्यक हुन्छ । त्यसैले कोषका अधिकारी तथा स्थानीय जनताको बीचमा विश्वास र सहयोगीको बाताबरण बनाउन आवश्यक छ । 

लुम्बिनी वरिपरिको विकासका लागि अव के गर्ने ?
बृहत्तर लुम्बिनीको विकासका लागि लुम्बिनी विकास कोषले बनाउदै गरेको योजनालाई आवश्यक जमिनका लागि दुई वटा विकल्प रहेका छन् । एउटा वरिपरिको जग्गा सरकारले प्रचलित तथा उचित मुल्यका साथमा अधिकरण गरी खरिद गर्ने वा उक्त जग्गा ल्याण्ड पुलिंग (सामुहिक विकास योजना )मार्फत शहरी विकासको योजना बनाउने । अधिकरण गर्दा जमिनको सबै जमिन सरकारलाई डिजाइन गर्न सजिलो हुन्छ । जग्गा धनीले शुरुमै एकमुष्ठ रकम पाउछ र आफ्नो  सोच अनुसार रकमको सदुपयोग गर्न पाउँछ भने ल्याण्ड पुलिंग गर्दा सरकारले उक्त जग्गाको सामुहिक रुपले डिजाइन गरी सोही डिजाइन अनुसारको संरचना व्यक्तिले बनाउन पाउने वा सो जग्गा बेच्दा पनि समय लामो भए पनि धेरै गुना बढी मुल्यमा बेच्न र  आम्दानी गर्न सक्दछ । यसो गर्दा सरकारलाई जग्गाको मुल्यमा लगानी गर्न पर्दैन र सरकारले योजना तथा संरचनामा लगानी गर्ने अवसर पाउछ । यी दुई मोडलमा कुन मोडल वा दुवै मोडललाई विभिन्न सेक्टरमा ऐच्छिक रुपमा लैजान पनि सकिने अवस्था रहन्छ । यस बारेमा हामीहरुले छलफल गरी सरकारलाई सुझाव दिन आवश्यक छ ।

के हो लुम्बिनी बिकास कोष र यसको भूमिका :
सन् १९६७ मा संयुक्त राष्ट्र संघका महासचिव उत्थानले लुम्बिनीको भ्रमण गरे पछि नेपालका राजा महेन्द्रसंग यस स्थानलाई अन्तराष्ट्रिीय पर्यटन केन्द्र तथा शान्ति शहरका रुपमा विकास गर्नका लागि सुझाव दिएका थिए । यस महत्वपूर्ण सुझावलाई मनन गरी सन् १९७२ मा हार्डवर्ड विश्व बिधालयका आर्किकेट विभागका प्रमुख तथा जापनीज नागरिक प्राध्यापक केन्जो टाँगेलाई उक्त स्थानको गुरुयोजना निर्माणका लागि जिम्मेवारी प्रदान गरियो । उक्त महत्वपूर्ण कार्य ६ वर्षमा सफलतापूर्वक सम्पन्न गरी प्राध्यापक टाँगेले सन् १९७८ मा नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए । 

उक्त गुरुयोजना नेपाल सरकारले ग्रहण तथा स्वीकार गरी सो गुरुयोजना र भगवान गौतम बुद्धसंग सम्वन्धित कपिलबस्तु, रुपन्देही तथा नवलपरासी लगायतका स्थानमा छरिएर रहेका पुरातात्विक तथा ऐतिहासिक स्थानहरु तथा बस्तुहरुको अध्ययन, अनुसन्धान, संरक्षण र विकास गर्ने गरी सन् १९८५ मा लुम्बिनी विकासकोषको स्थापना गरिएको हो । 

मूलतः लुम्बिनी विकासकोष यी संपदा क्षेत्रको संरक्षण र बिकास गर्ने नेपाल सरकारको आधिकारीक सँस्था भए पनि नेपाल सरकारले उपलव्ध गराएको सिमित बजेट परिचालन गर्ने सस्था मात्र हो । यस बिषयका बारेमा यस आसपासका जनताहरुमा सचेतना पुर्याउन नसकिएको विषय गत माघ २१, २०७६ मा लुम्बिनीमा आयोजना गरिएको बृहत्तर लुम्बिनी क्षेत्रको योजना तथा शान्ति शहरको योजना प्रस्तावका सन्दर्भमा सुझाव संकलनका लागि राखिएको कार्यक्रममा त्यस क्षेत्रका सांसद तथा अगुवाहरुको अभिव्यक्तिहरुवाट प्रष्ट देखियो । प्रा.टाँगेद्वारा निर्माण गरिएको लुम्बिनी विकासको गुरुयोजना सम्पन्न गर्ने सन्दर्भमा कोष र सरकारले गरेको ढिला सुस्तीका बारेमा गरिएको आलोचना ठिकै भए पनि लुम्बिनी वरिपरिका जनताको विविध पक्षको समग्र विकासका बारेमा लुम्बिनी विकासकोषले केहि गरेन भन्ने विषय असान्दर्भिक तथा कोषको दायित्व नबुझेका र पुर्वाग्राही  अभिव्यक्ति हो । 

लुम्बिनी वरिपरिका जनताको समग्र पक्षको विकासको मुख्य दायित्व त्यस क्षेत्र निर्वाचित जनप्रतिनिधिहरु, सम्वन्धित मंत्रीहरु तथा पालिकाको हो भने त्यस कार्यमा सहयोग तथा समर्थन गर्ने दायित्व कोषको पनि हो तर मुल जिम्मेवारी नै कोषको नै हो भन्ने गरी आरोप लगाउने त्यस क्षेत्रका अगुवा, जनप्रतिनिधि तथा पालिकाका प्रमुखहरुको आक्रोस भनेको आफुले आफनो जिम्मेवारी पुरा गर्न नसकेर अरुमाथि दोष थोपर्ने दुराशय मात्र हो । 

त्यसैले कोष तथा त्यस क्षेत्रका अन्य जिम्मेवार निकाय तथा आधिकारीक व्यक्तिहरु एक आपसमा दोषारोपणको सट्टा एक आपसमा मिलेर संपदा र संपदा वरिपरिका जनताको विकासका लागि एक जुट र एकमतकासाथ हातेमालो गरेर अगाडी बढनु हामी सवैको अहिलेको परिस्थितिको मुख्य कर्तव्य हो  । 

लुम्बिनी विश्वको अद्धिय स्थान हो ।  
वर्तमान अवस्थामा पर्यटन विश्व रंगमंचमा अत्यन्त विकासवान धुवारहित उद्योग तथा व्यवशाय हो । पर्यटन उद्योगको विकास विश्वमा अत्यन्त तीव्र गतिमा अगाडी बढीरहेकोछ । सन् २०१६ मा पर्यटकहरुको संख्या १ अरव २३ करोड थियो जस्ले पर्यटन अर्थतन्त्रमा १२२० विलियन डलरको आम्दानी भएको थियो भने सन् २०१८ मा पर्यटको संख्या १ अर्व ४० करोड पुगेको छ । हाल विश्वमा कुल जीडीपी(न्म्ए)को २ प्रतिशत र सेवा क्षेत्रको योगदानमा करिव ३० प्रतिशत योगदान पर्यटन क्षेत्रवाट भएकोछ । विश्वको बाताबरणमा अन्य उत्पादनमूलक उद्योगहरुले धेरै वाताबरण्मा नराम्रा प्रभावहरु छोडेका छन् र पूँजी आर्जनका लागि जस्ता पनि उद्योग व्यवशाय संचालन गर्नु पर्दछ भन्ने पूँजीवादको विकृत चिन्तनका कारण अहिले विश्व बाताबरण ज्यादै संकटपूर्ण अवस्थामा गुज्रिरहेकोछ । 

नेपाल पनि भर्खरै राजनीतिक क्रान्तिलाई एउटा अध्यायमा टुगाएर आर्थिक सामाजिक तथा साँस्कृतिक क्रान्तिको चरणमा अगाडी बढन थालेकोछ । यस अवस्थामा हामीले नेपालको औधोगिकरण तथा व्यवशायिकरण गर्दा नेपालको विकासमा बहुआयामिक उद्योगको रुपमा रहेको पर्यटन क्षेत्रलाई प्राथमिकता दिन सकेमा नेपालको आर्थिक तथा सामाजिक रुपान्तरणमा यस क्षेत्रले ठूलो योगदान गर्न सक्नेछ । 

हाम्रो देशको पर्यटन क्षेत्रमा हामीसंग रहेको लुम्बिनीलाई बहुआयामिक योजनाका साथ बृहत्तर लुम्बिनी विकासको गुरुयोजनाका साथमा यस स्थानलाई विश्वको अद्धितीय शान्ति उद्यानको रुपमा विकास गर्न आवश्यकछ । यसो हुन सकेमा विश्वको अद्धितीय स्थलको रुपमा रहेको यस लुम्बिनी क्षेत्र रुपन्देहिको पर्यटन अर्थतन्त्रको मुख्य क्षेत्र र नेपालको पर्यटन क्षेत्रको पनि एउटा नमुना क्षेत्र तथा पर्यटन अर्थतन्त्रको अगुवा क्षेत्रको रुपमा विकास हुनेछ र यो एउटा नेपालको पर्यटन गन्त्यव्यको अग्रणी स्थानको रुपमा समेत विकास हुनेछ ।

लुम्विनी विकासका लागि गरिनु पर्ने कार्ययोजनाहरु :

  • अहिले लुम्बिनी क्षेत्रमा रहेका गौतम बुद्धसंग सम्बन्धित स्थानहरुको जानकारी त छ तर यी सवै स्थानहरुको प्रमाणिक विवरणहरु छैनन् यसका लागि यी सवै स्थानहरुको शास्त्रीय तथा पुरातात्विक उत्खनन गरी यसका बारेमा प्राप्त तथ्य तथा प्रमाणहरुको प्रमाणिक विबरणहरुका लागि सवै स्थानहरुको तीव्र रुपमा अध्ययन अनुसन्धान गर्ने र त्यसका तथ्यहरु यथासिघ्र सार्वजनिक गरिनु पर्दछ ।
  • यसरी प्राप्त प्रमाणिक तथ्यहरुको विश्लेषण गरी पर्यटकीय स्थलहरुमा विवरणहरु सार्वजनिक गर्ने र उक्त स्थानलाई पुरातात्विक महत्वको संरक्षण गर्दै थप विकास गर्न योजना बनाउदै उक्त स्थानको यथासिघ्र संरक्षण र विकास गर्ने 
  • विगतमा निर्माण भएको लुम्बिनी गुुरुयोजनाहरुको भावना र मर्मको गहिरो अध्ययन गरी उक्त स्थानलाई विश्वको अद्धितीय शान्ति उद्यानको रुपमा विकास र शुन्दरीकरण गर्दै यथासिघ्र कार्यान्वयन गर्ने ।
  • उक्त स्थानमा रहेका चराचुरुगी तथा जनावरहरुको संरक्षण तथा विकासमा जोड दिदै उक्त पशु पक्षीहरुलाई पर्यटकहरुले हेर्न र रमाउन सक्ने गरी व्यवस्था गर्ने ।
  • लुम्बिनीमा आउने पर्यटकहरुलाई बुद्धको ज्ञान तथा शिक्षाको प्रचार प्रसारका लागि मनोरंजनात्मक कार्यक्रमका लागि लुम्बिनीभित्रका संरचनाहरुमा भगवान गौतम बुद्धसंग सम्वन्धित चलचित्र, नाटक तथा साँस्कतिक कार्यक्रमहरु नियमित रुपमा संचालन गर्न भवनको निर्माण गर्ने ।
  • लुम्बिनीमा रहेका जैविक विविधताहरुको संरक्षण गर्दै उक्त स्थानलाई पूर्ण रुपमा हरियाली तथा मनोरम उद्यानको रुपमा विकास गर्न थप योजना बनाउने ।
  • देवदह, रामग्राम, सैनामैना, कपिलवस्तुमा रहको सवै पवित्र स्थलहरु तथा यस प्रदेश वा लुम्बिनी अंचलका वरिपरिका पर्यटकीय स्थलहरुसंगको अन्तरसम्वन्ध विकास गर्ने गरी बृहत्तर लुम्बिनी गुरुयोजनाका लागि यथासिघ्र कार्ययोजना बनाउने र यसलाई एउटा आकर्षक बुद्ध पर्यटन परिपथको रुपमा बिकास गर्ने ।
  • स्थानीय तथा प्रदेश सरकारका पर्यटन नीति तथा कार्यक्रमहरुसंग सहयोग, समन्वय तथा सहकार्य गर्दै यस क्षेत्रको पर्यटन विकासमा सहयोग गर्ने । 
  • लुम्बिनीसंग सम्वन्धित सवै पर्यटकीय स्थलहरुको प्रचार प्रसारका कार्यक्रमहरु बनाउदै यथासिघ्र कार्यान्वयनमा लाने  ।
  • गौतमबुद्ध विमान स्थलमा आकर्षक बोर्डहरु राख्ने र लुम्बिनी आउने चारैतिर दिशामा होडिड बोर्डहरु राख्ने । 
  • विभिन्न संचार माध्यमहरुमा व्यापक रुपमा यस पर्यटकीय स्थलका बारेमा  प्रचार प्रसारका योजना बनाउदै कार्यान्वयन गर्ने ।

लुम्विनीभित्र गरिनु पर्ने कार्यहरु :

  • बृहत्तर लुम्बिनी गुरुयोजनाको मार्ग दर्शनमा यस स्थानमा अन्य थप संरचना नबनाई  हरियालीको मात्रा बढाउदै शुन्दरीकरण गरी आकर्षक शान्ति उद्यानको रुपमा विकास गर्ने ।  
  • अग्लो स्थानवाट लुम्बिनीको संपूर्ण दृश्य देखिने गरि एक भ्यू टावर वा वाउण्ड्री माथिवाट मिनि ट्रेनको निर्माण तथा संचालन गर्ने ।
  • मायादेवी मंदिरमा दर्शनका लागि भि आइ पि दर्शन तथा छोटो समय भएका वा हवाइ ट्रान्जीतमा आएका  दर्शनार्थीहरुका लागि विशेष रकम सहित छिटो दर्शनका लागि आवश्यक व्यवस्था गर्ने । विश्वका अन्य स्थानहरुमा पनि यस खालका व्यवस्था गरिएको हुन्छ ।
  • लुम्बिनीभित्र आवश्यक सुन्दरीकरण गर्दै जंगल, पशुपंक्षि हेर्ने स्थानहरुको निर्माण गर्ने ।
  • विदेशी पर्यटकहरुलाई अनिवार्य रुपमा नेपाली पथ प्रदर्शकहरुको व्यवस्था गर्ने ।
  • मायादेवी मंदिर वा शान्ति स्तुपा लगायतका स्थानमा धुप बाल्ने तथा शान्तिको प्राथना गर्ने व्यवस्थापन अझ व्यवस्थित गर्ने।
  • डुगा संचालन भएको स्थानलाई थप हरियाली बनाउदै दैनिक साँझमा लाइट साउण्ड तथा पानीको फोहरा समेतको व्यवस्था गर्ने ।
  • प्रत्येक र्पूिर्णमाका दिन विशेष कार्यक्रम सहित दिप प्रज्वलन कार्यक्रमलाई थप व्यवस्थित र रमणीय बनाउने ।
  • विभिन्न उद्यानहरुमा सितलता र मनोरंजनका लागि रमणीय पानीका फोहराहरु निर्माण गर्ने ।
  • बुद्धको जीवनी तथा बौद्ध दर्शनका बारेमा फिल्म तथा नाटकहरु पदर्शन गर्ने हल बनाउने ।
  • ठुलो सभाहल तथा जंगलहरुमा ध्यान केन्द्रहरुको निर्माण गर्ने ।
  • पर्यटकहरुलाई बिभिन्न स्थानमा जानकारीमूलक डिस्प्ले बोर्डहरु राख्ने ।
  • टिकट लिने स्थानहरुलाई अझै व्यवस्थित  गर्ने ।
  • जंगल, चरा तथा पशु पंक्षिको संरक्षणमा बिशेष व्यवस्था गर्ने ।
  • यस क्षेत्रको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन चारै कुनाको पर्खालमा २४ सै घण्टा शैनिक सुरक्षाको व्यवस्था  गर्ने ।
  • पसले घरहरुको आवश्यक पुर्नसंरचना गर्ने र उपहार सामाग्री उत्पादन गर्ने उधोगहरुलाई यस क्षेत्रका वरिपरि व्यवस्था गर्न पहल गर्ने ।
  • स्थानीय क्षेत्रमा उत्पादन हुने उपहार सामाग्रीहरु तथा मौलिक खाद्ध सामाग्रीहरुको व्यवशायलाई बिशेष प्राथमिकता दिने ।
  • दक्ष प्राविधिक बाहेकका कर्मचारीहरुको भर्नामा स्थानीयलाई प्राथमिकता  दिने ।
  •  

लुम्विनी वाहिर रहेका सरोकार निकायहरुसंग गर्नु पर्ने कार्यहरु :

  • यस लुम्बिनी बरिपरिका जाती तथा समुदायको कला, साहित्य तथा सँस्कृतिको विकासका लागि अनुकुल बाताबरण बनाउदै समन्वय तथा सहकार्य गर्ने ।
  • वरिपरिको समुदायलाई सहयोग तथा सहभागी गराउने गरी उधोग व्यवशायको बाताबरण मिलाउने र उनीहरुको शिक्षा, स्वास्थ्य तथा समुदायको विकासका कार्ययोजना बनाउन सहयोग गर्ने ।
  • पर्यटन व्यवशाय तथा उधोगसंग सम्वन्धित विभिन्न व्यवशायीहरुसंग सहकार्य गर्ने । ट्राभल एजेन्सी, होटल तथा रेष्टुरेण्ट, यातायात व्यवशायी, मल तथा सुपर मार्केट व्यवशायी, उपहार सामाग्री उत्पादन गर्ने उधोग तथा बेच्ने पसलेहरु, व्यवशायी तथा संस्था आदी ।
  • यस वरिपरिको स्थल, लुम्बिनीसंग सम्वन्धित पर्यटकीय स्थल तथा यहा आउने पर्यटकहरुलाई यस प्रदेशका विभिन्न महत्वपूर्ण पर्यटकीय स्थलहरुमा समेत सहभागी बनाउने गरी यस क्षेत्रका पालिका तथा प्रदेश सरकारसंग सहकार्य गर्ने ।
  • बिभिन्न पर्यटकीय स्थलहरुसंग अन्तरसम्वन्ध बिस्तार गर्ने । पोखरा, सौराह, काठमाण्डौ  आदी ।
  • बिदेशी दाता तथा विश्वका बौद्ध समुदायसंगको सम्वन्धलाई सुमधुर बनाउदै यस क्षेत्रको बाहिरी संसारसंग प्रचार प्रसारमा जोड दिने ।

    
हामीले विश्वको एउटा अद्धितीय अन्तराष्ट्रिय पर्यटन स्थलको रुपमा रहेको र विश्व संपदा सूचीमा सूचीकृत यस गौतम बुद्धको पवित्र जन्म स्थलाई विश्व शान्तीको प्रतिकका रुपमा विश्व शान्ति उद्यानको रुपमा विकास गर्न अनिवार्यछ । यसका लागि हामीले लुम्बिनी तथा यससंग सम्वन्धित पर्यटकीय स्थलहरुको बृहत्तर गुरुयोजना बनाउदै यस क्षेत्रमा पर्यटन उद्योगी, व्यवशायीहरुलाई पर्यटनको विकासमा प्रोत्साहन गरी कृयाशील बनाउनु पर्दछ भने हामीले यस क्षेत्रका जनताको जीवन स्तरको विकासमा पनि पहल, सहयोग तथा समन्वय गर्नु जरुरीछ । यस लुम्बिनी क्षेत्रको पर्यटन विकासले नेपालको पर्यटन अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै नेपाल सरकारले लिएको समृद्ध नेपाल सुखि नेपालीको नारालाई सफल बनाउनका लागि समेत ठोस योगदान पुग्नेछ र यस स्थान नेपालको एउटा नमुना अन्तराष्ट्रिय शान्ति उद्यान तथा पर्यटन केन्द्रको रुपमा समेत विकास हुनेछ । 

पूर्व बोर्ड सदस्य, लुम्बिनी विकास कोष 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  १२ : २३ बजे