तीन प्रदेशमा वर्षाको सम्भावना

गण्डकीमा एमालेको जीत बढी, अग्रता कांग्रेसको

पोखरा – गण्डकी प्रदेशका ८५ पालिकामध्ये हालसम्म १५ वटाको नतिजा आइसकेको छ । त्यसमा सबैभन्दा बढी एमालेले ९ पालिका जितेको छ भने कांग्रेसले ४ र माओवादीले २ पालिकामा जित हात पारेको छ । यद्यपि गणना भइरहेका पालिकाहरूमा कांग्रेसको बाहुल्यता देखिन्छ । तल्लो क्षेत्रमा एमालेको मत केही खस्किएको छ । तर हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने अझै बढेको छ । यसअघिको चुनावमा २ पालिका मात्रै जितेको मुस्ताङमा अहिले ४ पालिका अध्यक्ष जितेको छ । मनाङमा पुरानो मत घटाएन ।

गण्डकी प्रदेशभरिका मनाङ र मुस्ताङ जिल्लाको मतगणना सकिएको छ । मनाङका ४ पालिकामध्ये २ पालिकाको अध्यक्षमा कांग्रेस र २ वटामा एमाले विजयी भएको छ भने १ पालिका उपाध्यक्षमा एमाले र १ पालिकामा कांग्रेसले जितेको छ । दुई पालिकाका उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । चामेमा एमालेका लोकेन्द्र घले, मनाङ ङिस्याङमा एमालेका कान्छा घले, नासोंमा कांग्रेसका धनबहादुर गुरुङ र नार्पाभूमीमा कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् ।

मुस्ताङमा ५ पालिकामध्ये ४ पालिका अध्यक्ष र ३ उपाध्यक्ष एमालेले जितेको छ भने १ अध्यक्ष र दुई उपाध्यक्ष कांग्रेसले जितेको छ । लोमान्थाङको अध्यक्षमा एमालेका टसीनुर्बु गुरुङ, थासाङमा प्रदीप गौचन, लो घेकर दामोदर कुण्डमा लोप्साङ छोम्पेल विष्ट र बारागुङ मुक्ति क्षेत्र गाउँपालिकामा रिन्जिन नाम्गेल गुरुङ विजयी भए भने घरपझोङमा कांग्रेसका मोहनसिंह लालचन विजयी भए ।

गोरखामा हालसम्म अजिरकोट गाउँपालिकाको मात्रै नतिजा सार्वजनिक भएको छ । यसअघि कांग्रेसले जितेको यो पालिका अहिले अध्यक्ष र उपाध्यक्ष समेत माओवादी विजयी भएको छ । माओवादीका दीपक देवकोटाले कांग्रेसका गोविन्द गुरुङलाई र उपाध्यक्षमा अनिता भुजेलले कांग्रेसकै इन्द्र गुरुङलाई पराजित गरेकी हुन् । स्याङ्जाको पनि हरिनास गाउँपालिकाको मात्रै गणना सकिएको छ । यहाँ पुनः खिमनारायण मानन्धर अध्यक्षमा निर्वाचित भएका छन् । एमालेका मानन्धर झिनो मतान्तरका साथ कांग्रेसका टोपबहादुर भुजेललाई हराएर अध्यक्ष बने भने उपाध्यक्षमा पनि एमालेकी इन्द्रकुमारी थापाले कांग्रेसकी मिठू लम्साललाई पराजित गरिन् ।

म्याग्दीको मालिका गाउँपालिकाको नतिजा आएको छ । यहाँ एमालेका वेदप्रसाद गर्बुजाले कांग्रेसका निवर्तमान अध्यक्ष श्रीप्रसाद रोकालाई पराजित गरे भने उपाध्यक्षमा एमालेकी लक्ष्मीदेवी घर्तीले कांग्रेसकै पिपला बुढालाई झिनो मतान्तरले पराजित गरेकी हुन् ।

बागलुङका दुई पालिकाको मतगणना सकिएको छ । तमानखोला गाउँपालिकामा कांग्रेसका जोकलाल बुढाले माओवादीका देवबहादुर पुनलाई भारी मतले हराए भने उपाध्यक्षमा पनि कांग्रेसकै हिराकुमारी छन्त्यालले माओवादीकी निशु रसाइलीलाई पराजित गरिन् । ताराखोला गाउँपालिकामा माओवादीका धनबहादुर विकले माओवादीकै बागी उम्मेदवार प्रकाश घर्तीलाई हराएका छन् भने उपाध्यक्षमा कांग्रेसका भीमबहादुर रोकाले एमालेकी थममाया घर्तीलाई पराजित गरे ।

नवलपुरको बौंदीकाली गाउँपालिकामा एमाले उम्मेदवार विजयी भए । एमालेका प्रकाश ओझाले कांग्रेसका खड्कबहादुर रानालाई पराजित गर्दा उपाध्यक्षमा पनि एमालेकी डिलकुमारी केसीले कांग्रसकी धनकान्ती घिमिरेलाई हराइन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १० : ३३ बजे