‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

स्थानीय निर्वाचन २०७९ ले दिएको सन्देश, सम्भावना र चुनौतीहरू

अन्यौल र आशंकाबीच स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । केही विशेष स्थानहरूमा बाहेक जनताले आफ्नो मत विवेकपूर्ण तरिकाबाट जाहेर गरेका छन् । भरतपुरमा प्रचण्ड पुत्रीलाई जिताउन प्रशासनको सहयोगमा धाँधली गर्न नमुना मतपत्र बाँडेर नै मत हाल्ने काम भएको छ भने गठबन्धनले हार्न सक्ने अन्य केही क्षेत्रहरूमा पनि धाँधली भएको खबरहरू आएका छन् ।

तनहुँको व्यास नगरपालिकामा नेकपा एमालेले समर्थन गरेको स्वतन्त्र उम्मेदवार दिपकराज जोशीमाथि गठबन्धनका कार्यकर्ताहरूबाट साङ्घातिक हमला भएको छ । पाँचखालमा काँग्रेसका कार्यकर्ताहरूले मतदान केन्द्र नै तोडफोड गरेको खबर आएको छ । यसबाट स्पष्ट हुन्छ, कम्फर्टेबल सत्ता गठबन्धनले चुनाव जित्नका लागि अराजनैतिक हर्कत गरेको छ । तर पनि यो निर्वाचनले अब नेपालको राजनीति दुई ध्रुवीय हुने शुभ सङ्केत दिएको छ । पहिलो ध्रुवको नेतृत्व नेकपा एमालेले गर्नेछ भने दोस्रो ध्रुवको नेतृत्व नेपाली काँग्रेसले । 

नेपाली काँग्रेसले चुनाव जित्नका लागि बिपीको आदर्श मात्र छोडेन काँग्रेसलाई प्रचण्डको नेतृत्वमा पुर्‍याउने आधार पनि तयार गर्दैछ भनेर अनुमान गर्न सकिन्छ । शेरबहादुर देउवाको नेतृत्वलाई त्यसका नेता तथा कार्यकर्ताहरूले लगाम लगाउन सकेनन् भने भोलिका दिनमा नेपाली काँग्रेसको हालत भारतको काँग्रेस आईको जस्तो नहोला भन्न सकिन्न ।

शेरबहादुर देउवा नेतृत्वको कम्फर्टेबल सत्ता गठबन्धनले नेपाली काँग्रेसको डुब्दो ढुङ्गा जोगाउन त कसैको श्रीमती, छोरी र छोरा जिताउन अनि उपयोगितावाद र कुण्ठाको राजनीतिक अस्तित्व जेनतेन कायम राख्नका लागि चुनावी गठबन्धन बनाएको थियो । तर उनीहरू आज भन्दैछन्, हामीले व्यवस्था जोगाउनका लागि गठबन्धन बनाएको र जसरी पनि जित्नुपर्छ भन्ने मान्यताबाट अघि बढेको घटनाक्रमले पुष्टि गरेको छ ।

नेपाली काँग्रेसका महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माहरू शेरबहादुर देउवालाई अघि लगाएर दायाँ बायाँ प्रचण्ड र माधव नेपाललाई राखेर अनि दमकमा लिङ्देनलाई बोकेर लोकतान्त्रिक गणतन्त्र जोगाउने काम गरेको भन्दैछन् । जबकि तिनका गतिविधिहरूले नेपाली काँग्रेसलाई त सङ्कटमा पार्दैछ नै लोकतान्त्रिक गणतन्त्रलाई पनि अलोकप्रिय बनाउँदैछ ।

भोट कसले कसलाई कुन चिन्हमा दियो भनेर अनावश्यक विवाद गरेर समय र सामर्थ्यहरू दुरुपयोग गर्ने समय छैन किनभने अब भोलिका दिनमा हुने निर्वाचनहरू कसरी स्वतन्त्र र निष्पक्ष अनि लोकतान्त्रिक र प्रगतिशील बनाउने भन्ने प्रश्नमा केन्द्रित भएर चिन्तन गर्नुपर्ने भएको छ । त्यसैले भ्रम, प्रभाव, दबाब र प्रलोभनमा नपरी राजनैतिक तथा संवैधानिक स्थिरतासहित समृद्ध नेपाल, सुखी नेपाली बनाउने राष्ट्रिय सङ्कल्प पूरा गर्न सक्ने परिपाटी स्थापना गर्न जनस्तरबाट योगदान गर्नुपर्ने भएको छ । जसले नयाँ पुस्ताको भविष्य उज्ज्वल बनाउँदै देशले जित्ने राजनीतिक माहौल बनाउन मद्दत गर्नेछ ।

राजनीतिक र वैचारिक रूपमा स्पष्ट मतदाताबाहेक अन्य मतदाताहरूको मत कता जान्छ भन्ने कुराको अनुमान गर्न त्यति सजिलो पक्कै थिएन । त्यसमाथि गठबन्धनले छरेका भ्रमहरूका कारणले सर्वसाधारण मतदाता भ्रमित भएका थिए । त्यो भ्रमबाट मतदाताहरूलाई मुक्त बनाउनु पर्नेछ । यसर्थ मतदाताहरूको मनस्थिति थाहा पाउन र उनीहरूलाई सचेत बनाउन उनीहरूसँगको भेटघाट, उठबस नियमित रूपमा बढाउनुका साथै उनीहरूको सोच्ने शैली र चिन्तन प्रणाली अनि उनीहरूमाथि पर्ने प्रभाव र दबाबहरूको सूक्ष्म विश्लेषण गर्न सक्नुपर्छ । तर यो पाटोबाट न पार्टीहरूले सतर्कता अपनाएको पाइयो न त निर्वाचन आयोगले नै इमानदार भएर आफ्नो दायित्व पूरा गरेको देखियो । जसका कारणले चुनावमा केही अनपेक्षित परिणाम आउने हल्लामा मतदाताहरू प्रभावित भएको पाइयो । यो खालको प्रभावले भोलिका दिनमा लोकतान्त्रिक गणतन्त्र विरोधीहरूको मनोबल बढ्ने सम्भावना प्रबल देखियो ।

निर्वाचन सम्पन्न भएर मतगणना जारी छ । केही स्थानहरूमा उम्मेदवारहरू विजयी भएको समाचार आएका छन्। नेपाली काँग्रेस र नेकपा एमाले मध्ये एउटा दल पहिलो र अर्को दल दोस्रो हुने प्रारम्भिक मत परिणामले सङ्केत गरेको छ । मतगणना भइरहँदा खैरेनी नगरपालिका वडा नम्बर ८ का वडा सदस्यका उम्मेदवार सागर अधिकारीले सामाजिक सञ्जालमा लेखेका छन्, “चुनाव सकियो! मत बाँडिएता पनि मन बाँडिनु हुँदैन, गाउँ टोल भाँडिनु हुँदैन । आउनुहोस् हातेमालो गरौँ, जसले जितेता पनि जित सबैको हो।” यो भनाइले उम्मेदवारहरू बीच दलीय राजनीतिक प्रतिस्पर्धा गरिरहँदा सामाजिक सम्बन्ध र सहकार्यमा दलीय चरित्र हाबी हुन दिनु हुँदैन भन्ने सन्देश दिएको छ । त्यसैले स्थानीय निर्वाचनमा दलीय प्रतिस्पर्धाको विरोध गर्नेहरूलाई सागर अधिकारीको भनाइले स्पष्ट रूपमा अस्वीकार गरेको छ ।

स्थानीय निर्वाचन २०७९ मा वैचारिक मान्यताको आधारमा प्रतिस्पर्धा गर्ने राजनीतिक समीकरण बन्न सकेन । आफूलाई सच्चा क्रान्तिकारी कमन्युनिष्ट भन्नेहरूले नेपाली काँग्रेसको नेतृत्वमा चुनावी गठबन्धन बनाएका थिए । लोकतान्त्रिक गणतन्त्र जनमुखी बनाउनु पर्ने मुद्दा प्रभावकारी पार्नु पर्ने बेलामा राजतन्त्र जिन्दाबाद भन्ने दल राप्रपालाई अघि लगाएर दमक नगरपालिकामा गठबन्धनले नेकपा एमालेका विरुद्ध मोर्चा बन्दी गर्‍यो । यसले नेपालको राजनीतिमा दलीय प्रतिस्पर्धा दुई दलीय हुने स्पष्ट सन्देश पनि दिएको छ । नेपाली काँग्रेसले परम्परागत बुर्जुवा दक्षिणपन्थी शक्तिको नेतृत्व गर्नेछ भने नेकपा एमालेले लोकतान्त्रिक वामपन्थी शक्तिको नेतृत्व गर्नुपर्ने हुन्छ । त्यसैले भोलिका दिनमा नेपालको राजनीति बहुपक्षीय नभई द्विपक्षीय बन्ने सम्भावना स्पष्ट देखिएको छ।

स्थानीय निर्वाचनको प्रचार प्रसारमा देखिएको तडकभडक र भएको अस्वाभाविक खर्चले नेपालको राजनीति बिस्तारै राजनीतिक नेतृत्वको पकडभन्दा बाहिर जान्छ कि भन्ने सन्त्रास बढाएको छ । चुनाव प्रचारका शैली, त्यसमा भएका अस्वाभाविक खर्चहरू अनि मत प्रभावित गर्न धनवाद र डनवादको बढ्दो प्रयोगले राजनीतिक दलभित्र विचार र कार्यक्रमले भन्दा धन र बाहुबलको शक्तिले घर गर्न थालेको सहजै अनुमान गर्न सकिन्छ । यो राजनीतिमार्फत असल नीति र कार्यक्रममार्फत “सम्वृद्ध नेपाल सुखी नेपाली” बनाउने राष्ट्रिय सङ्कल्पमाथि चुनौती बन्ने सम्भावना बढेको छ । त्यसैले दलहरूले भोलिका दिनमा आफ्ना नेता तथा कार्यकर्ताहरू मात्र होइन शुभचिन्तकहरूलाई वैचारिक प्रशिक्षणका गतिविधिमार्फत उनीहरूलाई वैचारिक रूपमा बलियो बनाउँदै राजनीतिलाई पेसा बनाएर शक्ति आर्जन गर्दै धनोपार्जन गर्न खोज्ने अवसरवादी वर्गलाई कमजोर बनाउनु पर्ने भएको छ । राजनीति जनताको सेवा गर्ने मुख्य माध्यम बनाउने हो भने विचारमा आधारित दलीय समीकरण बन्ने र चुनावी गठबन्धन बनाउने अभ्यासले प्राथमिकता पाउनु पर्छ भन्ने मान्यता बलियो बनाउँदै स्थापित गर्नु परेको छ ।

यो निर्वाचनले स्थानीय सरकार दलहरूबाट होइन, स्वतन्त्र व्यक्तिहरूले गर्नुपर्छ भन्ने मान्यतालाई पूर्ण रूपमा अस्वीकार गरेको छ । भोलिको राजनीति बहुपक्षीय नभई द्विपक्षीय बन्ने वा हुने आधार बनाएको छ । तर पनि निर्वाचनमा उम्मेदवार बनेका पात्र र तिनले गरेका अस्वाभाविक गतिविधि र खर्चले कतै नेपालको राजनीति राजनीतिक दलहरूको नियन्त्रणबाट बाहिर जान्छ कि भन्ने सन्देह पैदा गरेको छ । यसर्थ वैशाख ३० मा भएको स्थानीय सरकार बनाउने निर्वाचनले दिएको सन्देश, सम्भावना र चुनौतीहरूलाई गम्भीर रूपमा लिएर अबको राजनीतिक गतिविधि गर्न दलका मुख्य नेताहरूलाई दिशानिर्देश गरेको छ ।

अन्तमा मतगणना भर्खर सुरु भएको छ, कसले जित्दैछ वा हार्दै छ भनेर हौसिनु र आत्तिनुको कुनै अर्थ छैन । चुनाव हो, एकले जित्दा अर्को पक्षले हार्नुपर्छ नै । यसर्थ राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले राजनीतिक सुझबुझ देखाउनुपर्ने भएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ८ : ४२ बजे