नेपालगञ्ज उपमहानगरपालिकामा काँग्रेसको अग्रता

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा जारी मतगणनामा नेपाली काँग्रेसका उम्मेदवार प्रशान्त विष्टले अग्रतालाई कायम गर्नुभएको छ । 

प्रारम्भिक मत परिणाम अनुसार उहाँले ४१० मत प्राप्त गर्नुभएको छ  । यसैगरी नेकपा (एमाले)का पशुपतिदयाल मिश्रले २३८ र राप्रपाका नन्दलाल वैश्यले २१२ मत पाउनुभएको छ ।

उपप्रमुखमा जनता समाजवादी पार्टी ९जसपा०का कमरुद्दिन राईले ३०७, राप्रपाकी बिन्दु चर्तीमगरले २५९ र एमालेकी शान्ति ढकालले २२६ मत प्राप्त गर्नुभएको छ । नेपालगञ्जमा अहिलेसम्म वडा नम्बर २३ को मात्र गणना  सम्पन्न भएको छ । 

बाँकेको कोहलपुर नगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)को अग्रता कायमै छ । एक हजार मत गणना गर्दा सो पार्टीका  उम्मेदवार नरेन्द्र न्यौपानेले ४४२ मत पाउनुभएको छ ।  एमालेका खिलप्रसाद भुसालले २७३ र काँग्रेसका पूर्ण आचार्यले २३० मत प्राप्त गर्नुभएको छ । 

उपप्रमुखमा नेकपा एकीकृत समाजवादीकी नारायणी वलीले २९९, एमालेकी अस्मिता थारुले २९१ र काङ्ग्रेसकी सङ्गीता सुवेदीले २५१ मत पाउनुभएको छ । 

जिल्लाको नरैनापुर गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । दुई हजार सात मतगणना हुँदा अध्यक्ष पदमा काँग्रेसका रामचन्द्र मौर्यले ५८८ मत प्राप्त गर्नुभएको छ । 

जसपाका इस्तियाक अहमद साहले ५५७ मत प्राप्त गर्नुभएको छ ।  एमालेकी पदमावती यादवले ४१० मत प्राप्त गर्नुभएको छ । 

उपाध्यक्षमा  काङ्ग्रेसकी अतिकुन निसाले ४६९ मत प्राप्त गर्नुभएको छ । एमालेका पञ्चराम यादवले ४४२ मत प्राप्त गर्दा जसपाकी जयन्तिदेवी श्रीवास्तवले ३०५ मत प्राप्त गर्नुभएको छ ।

राप्ती सोनारी गाउँपालिकामा एमालेका रामदास थारुले अग्रता कायमै छ । अहिलेसम्म पाँच हजार ८८ मत गणना हुँदा अध्यक्ष पदमा सोही पार्टीका उम्मेदवार थारुले एक हजार ८१८ मत प्राप्त गर्नुभएको छ । काँग्रेसका तप्तबहादुर पौडेलले एक हजार ७४८ मत प्राप्त गर्नुभएको छ ।  

माओवादीका उम्मेदवार पट्टु थारुले ८९५ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत गौरवकुमार लामिछानेले जानकारी दिनुभयो । 

उपाध्यक्ष पदमा एमालेकी चमेली बागवलले एक हजार ८३४ मत प्राप्त गर्नुभएको छ ।  काङ्ग्रेसकी मनिषासिंह थारुले एक हजार ७३६ मत प्राप्त गर्नुभएको छ । 

माओवादी केन्द्रकी मञ्जु रोकायले ७३८ मत प्राप्त गर्नुभएको जनाइएको छ । खजुरा गाउँपालिकामा एमालेका उम्मेदवारले अग्रता कायमै राख्नुभएको छ ।  सो पालिकामा नेपाली काँग्रेस र माओवादीकाबीच गठबन्धन बनेको थियो । अहिलेसम्म एक हजार ६०७ मत गणना हुँदा अध्यक्ष पदमा एमालेका सुमन मल्लले ९४१ मत प्राप्त गर्नुभएको छ ।  

गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार डम्बर विक तुफानले ५८० मत प्राप्त गर्नुभएको छ ।  उपाध्यक्ष पदमा  एमालेकी ताजरुन निसाले ८२६ र गठबन्धनका तर्फबाट  काङ्ग्रेसकी मञ्जु मल्लले ६७४ मत प्राप्त गर्नुभएको छ । 

जिल्लाको डुडुवा गाउँपालिकामा एमालेकी सरोजकुमारी यादवले १४३ मत पाउँदा काँग्रेसका नरेन्द्रकुमार चौधरीले कूल १४० मत प्राप्त गर्नुभएको छ । जसपाका भण्डारीलाल यादवले ४४ मत गर्दा माओवादीले १० मत प्राप्त गरेको छ । डुडुवाको उपाध्यक्ष पदमा एमालेले १४३ र काँग्रेसले १३१, जसपाले ४३ तथा माओवादीले ११ मत प्राप्त गरेको छ । 

वैजनाथ गाउँपालिकामा काँग्रेसको अग्रता कायमै छ । अध्यक्षका उम्मेदवार काँग्रेसका प्रकाशबहादुर शाही र उपाध्यक्षकी उम्मेदवार काङ्ग्रेसकै निर्मला रोकायले अग्रता लिइरहेका छन् । एक हजार २०० मत गणना हुँदा शाहीले ४४० र रोकायले ३३३ मत पाउनुभएको छ ।  

एमालेका अध्यक्ष उम्मेदवार घननाथ खनालले २९५ र उपाध्यक्ष उम्मेदवार सोही पार्टीकी प्रेमपूर्ण योगीले ३३१ मत पाउनुभएको छ ।

जिल्लाको जानकी गाउँपालिकामा काँग्रेसका छब्बन खाँले अग्रता कायम राख्नुभएको छ । 

मत गणनाको सुरुआत चरणमै अग्रता लिँदै आएका अध्यक्ष पदका उम्मेदवार खाँले एक हजार ५८० मत गणना हुँदा उहाँले ६०८ मत प्राप्त गर्नुभएको छ । जसपाका राजीव वर्माले ३६२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

एमालेका उम्मेदवार हिमान्सु यादवले १६६ मत पाउनुभएको छ । उपाध्यक्ष पदमा काङ्ग्रेसकी रामप्यारी यादवले ५९३ मत पाउँदा उपाध्यक्ष पदमै माओवादीका रक्षाराम बर्माले १६९ र  एमालेकी भूमिसरा धितालले १०१ मत प्राप्त गर्नुभएको छ ।  

जिल्ला निर्वाचन अधिकारी रमा अर्यालले प्राविधिक कारण र जनशक्ति पनि कम भएका कारण मतगणनामा ढिलाइ भइरहेको बताउनुभयो । रासस

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ७ : ५४ बजे