तनहुँमा आठ वडाको नतिजा सार्वजनिक

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा आठ वडाको मत परिणाम सार्वजनिक भएको छ । 

आज बिहानसम्म जिल्लाको म्याग्दे गाउँपालिका–३, म्याग्दे –२ ,बन्दीपुर गाउँपालिका–४, घिरिङ गाउँपालिका–२, भिमाद नगरपालिका–१ र आँबुखैरेनी–१ , देवघाट–१ को अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।

सार्वजनिक परिणामअनुसार नेकपा(एमाले)ले तीन, नेपाली काँग्रेसले दुई र नेकपा (माओवादी केन्द्र)ले एक वडा जितेको छ । 

भिमाद–१ को अध्यक्षमा काँग्रेसका आले विजयी
​​​​​​​भिमाद नगरपालिका–१ को वडाध्यक्षमा नेपाली काँग्रेसका दीपक आले विजयी हुनुभएको छ । आले एक हजार ५९ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

अध्यक्षका प्रतिस्पर्धी नेकपा एमालेका बलबहादुर थापाले एक हजार दुई मत प्राप्त गर्नुभएको छ । निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार वडा सदस्यमा भने नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको छ ।

एमालेबाट महिला वडा सदस्यले एक हजार ९६, दलित महिला वडा सदस्यले एक हजार ७८, वडा सदस्यले एक हजार ७२ र एक हजार एक सय दुई मत प्राप्त गरी विजयी हुनुभएको शर्माले जानकारी दिनुभयो ।

काङ्ग्रेसबाट महिला वडा सदस्यले नौ सय ४०, दलित महिला सदस्यले नौ सय ३६, वडा सदस्यले आठ सय ८० र आठ सय ८० मत प्राप्त गर्नुभएको छ । 

म्याग्दे–२ मा काँग्रेसका क्षेत्री विजयी
म्याग्दे–२ को वडाध्यक्षमा काँग्रेसका शिवबहादुर क्षेत्रीले आठ सय ८९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण श्रेष्ठले ८७५ मत प्राप्त गर्नुभयो । सदस्यमा काँग्रेसका रमेश क्षेत्री ८९४, एमालेका महेन्द्रबहादुर रानाभाट ८३५, महिला सदस्यमा काँग्रेसका सीता कुमाल ८८९ र दलित महिला सदस्यमा सोही पार्टीका कल्पना परियार ८३९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । 

म्याग्दे–३ मा एमालेका अधिकारी विजयी
मत परिणामअनुसार म्याग्दे–३ को वडाध्यक्षमा एमालेका टुकराज अधिकारीले ६६१ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

उहाँका प्रतिस्पर्धी काँग्रेसका बलराम भट्टराईले पाँच सय ८७ मत प्राप्त गर्नुभएको छ । यस्तै माओवादीका लेखराज लामिछानेले ३८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उक्त वडामा एक हजार तीन सय ३० मत खसेको थियो । 

यसैगरी खुला सदस्यमा काँग्रेसका बालचन्द्र घिमिरेले पाँच सय ८८, एमालेका प्रकाश घिमिरेले पाँच सय ७८, महिला सदस्यमा काँग्रेसका जानकी थापा पाँच सय ६३ र दलित महिला सदस्यमा एमालेका सुनिता नेपाली सात सय दश मत प्राप्त गरी विजयी हुनुभएको छ ।

बन्दीपुर–४ मा एमालेको प्यानल विजयी
बन्दीपुर गाउँपालिका–४ मा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा एमालेका दानबहादुर थापा सात सय ४० मत प्राप्त गरी विजयी हुनुभएको हो । 

प्रतिस्पर्धी काँग्रेसका सीता थापाले चार सय ६४ मत प्राप्त गर्नुभयो । सदस्यमा एमालेका रवि श्रेष्ठ सात सय एक, भीम घले छ सय ४५, महिला सदस्यमा ममता राना छ सय ७७ र दलित महिला सदस्यमा भगवती सुनारले छ सय ७९ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

घिरिङ–२ मा एमालेको प्यानल विजयी
घिरिङ गाउँपालिका–२ मा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा एमालेका नरबहादुर थापा एक हजार १७ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । 

प्रतिस्पर्धी काँग्रेसका विष्णुवीर थापाले ५७ मत प्राप्त गर्नुभयो । महिला सदस्यमा एमालेकै सनम थापा एक हजार १२, दलित महिला सदस्यमा सुकमाया सुनार रामदामले नौ सय ६३, खुला सदस्यमा आशबहादुर थापाले नौ सय ६० र धनबहादुर रानाले नौ सय ७१ मत प्राप्त गर्नुभएको छ ।

म्याग्दे–१ र देवघाट–१ मा एमाले विजयी
म्याग्दे –१ र देवघाट गाउँपालिका–१ मा एमालेले विजय हासिल गरेको हो । म्याग्दे –१ को वडाध्यक्षमा एमालेका मणिभद्र वाग्ले छ सय ९९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी  काँग्रेसका विनोद खनालले पाँच सय ३६ मत प्राप्त गर्नुभयो ।

खुला सदस्यमा  काँग्रेसका मीनबहादुर थापा छ सय ३८,  एमालेका मीनबहादुर गुरुङ छ सय आठ, महिला सदस्यमा  एमालेका राममाया खडुल मगर सात सय १४ र दलित महिला सदस्यमा  एमालेका केशरी सुनार छ सय ९६ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

देवघाट–१ मा एमालेको प्यानल विजयी
देवघाट गाउँपालिका–१ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।वडाध्यक्षमा एमालेका मनिराज गुरुङ आठ सय ९८ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । निकटतम प्रतिस्पर्धी  काँग्रेसका मुक्तिलाल थापा मगरले छ सय ३४ मत प्राप्त गर्नुभयो ।

खुल्ला सदस्यमा एमालेकै बेलबहादुर गुरुङले आठ सय ८१, सुन्दर भुजेलले आठ सय ६३, महिला सदस्यमा मनमाया गुरुङले आठ सय ८४ र दलित महिला सदस्यमा नानुमाया विकले आठ सय ९५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

आँबु–१ मा माओवादीको प्यानल विजयी
स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा माओवादीले विजयी सुरुआत गरेको छ ।

आँबुखैरेनी गाउँपालिका–१ को वडाध्यक्षसहित सदस्यमा माओवादीको प्यानल नै विजयी भएको छ ।

वडाध्यक्षमा  माओवादीका प्रेमबहादुर गुरुङ आठ सय ५१ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतिस्पर्धी काँग्रेसका किसन थापाले चार सय १५ मत प्राप्त गर्नुभयो । 

सदस्यमा माओवादीकै हरिबहादुर गुरुङले सात सय ५२, कुमारबहादुर मगरले सात सय ४८, महिला सदस्यमा माओवादीकै वसुन्धरा गौलीले सात सय ५२ र दलित महिला सदस्यमा माओवादीकै सुशीला नेपालीले आठ सय आठ मत प्राप्त गरी विजयी हुनुभएको छ । रासस

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ७ : ३९ बजे