मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी

म्याग्दी । मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । 

कागबेनीस्थित निर्वाचन अधिकृतको कार्यालयमा शनिबार दिउँसो सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका रिनजिङ नामगेल गुरुङले ८६७ मत ल्याएर विजयी हुनुभएको हो । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपाध्यक्षमा एमालेकी ढिकी गुरुङले ७४९ मत प्राप्त गरेर विजयी हुनुभएको छ । 

अध्यक्षका प्रत्याशी नेपाली काँग्रेसका आङजेन गुरुङले ५७७ र उपाध्यक्षमा काङ्ग्रेसकै धेव आङवो गुरुङले ६७७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

दुई हजार २२४ मतदाता रहेको वारागुङ मुक्ति क्षेत्र गाउँपालिकामा शुक्रवार भएको मतदानमा ६७।०२ प्रतिशत अथवा एक हजार ५०८ मत खसेको थियो । वडा नम्बर १, ३ र ५ मा नेकपा एमालेका तथा वडा नम्बर २ र ४ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । 

वडा नं १ मा एमालेका प्रमेश गुरुङ, वडा नम्बर २ मा काँग्रेसका न्होरु गुरुङ, ३ मा एमालेका विनोद गुरुङ, ४ मा काँग्रेसका कर्म घ्याचो गुरुङ र ५ मा एमालेका सुरेन्द्र गुरुङ विजयी हुनुभएको छ । 

पाँच वटा स्थानीय तह रहेको मुस्ताङको वारागुङ मुक्ति क्षेत्र लोघेकर दामोदरकुण्ड र घरपझोङ गाउँपालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ । रासस

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  २ : ३० बजे