हेटौँडा उपमहानगरपालिकाको चार वडाको मतगणना सुरु

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको मतगणना आज बिहानदेखि सुरु भएको छ ।

मतगणनाबारे निर्णय लिन शुक्रवार राति बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले आज ७ बजेदेखि मतगणना थाल्ने निर्णय गरेको भए पनि केही बेरअघिदेखि मात्रै मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले जानकारी दिनुभयो ।

मतगणना हेटौँडा–२ स्थित सिद्धार्थ माविको मतदान केन्द्रमा सुरु भएको हो । उहाँका अनुसार हेटौँडाको चार  वडाको मतगणना एकै पटक सुरु भएको छ । ती वडा नं १, २, १८ र १९ छन् ।मतगणना स्थलमा सुरक्षा व्यवस्थाका लागि तार जालीको प्रबन्ध मिलाइएको छ भने पारदर्शीतालाई मध्यनजर गर्दै सिसिटिभी क्यामेरा जडान गरिएको छ । 

हेटौँडामा कूल एक लाख चार हजार ४७३ मतदाता रहेकामा ७३ हजार ४१४ जनाको मत खसेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो । 

जिल्लाको थाहा नगरपालिका, मनहरि गाउँपालिका, भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिकालगायत विभिन्न स्थानीय तहमा मतगणना जारी रहेको उहाँले जानकारी दिनुभयो ।

निर्वाचनअन्तर्गत शुक्रवार जिल्लाको १६५ स्थानमा ३५६  मतदान केन्द्र÷उपकेन्द्रबाट मतदाताले मतदान गर्नुभएको थियो । रासस

 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १० : ३७ बजे