करेन्ट लागेर एक महिलाको मृत्यु 

उदयपुर । उदयपुर जिल्लाको कटारी नगरपालिका–८ टोड्के पानीको खरबारीमा बुधवार बेलुकी घाँस काटेर घर फर्कने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

कटारी इलाका प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा ६८ वर्षीय गङ्गामाया खत्री रहेकी छन् । घाँसको भारी बोकेर बेलुकी ४ बजेतिर फर्कने क्रममा नजिकैको विद्युत् पोलछेउ भएर बाटो काट्न लाग्दा पोलबाट भुईँमा झरेको तारबाट विद्युत् प्रवाह भएकाले उनको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको र  कम्मरदेखि मुनिको सम्पूर्ण भाग जलेको थियो । 

कटारीस्थित विद्युत् प्राधिकरण शाखा कार्यालयका प्रमुख सन्तोष कार्कीले पोलमा जोडिएको विद्युतीय तार हावाहुरीले भुईँमा झारेका कारण खत्रीको  करेन्ट लागेर मृत्यु भएको बताउनुभयो ।

उनको मृत्युपछि आफन्तले शव बुझ्न नमानेकाले उक्त शाखाले रु पाँच लाख क्षतिपूर्ति उपलब्ध गराउने सर्तमा मृतकका आफन्तले बेलुकी मात्रै शव बुझेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताउनुभयो । रासस

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  ९ : ३५ बजे