मतगणना स्थलमा तारबारसहित सिसी क्यामेरा

दमौली । स्थानीय तह निर्वाचनको मतगणनाका लागि तनहुँमा मतगणना स्थल तयार गरिएको छ । 

सुरक्षित तरिकाले मतगणना गर्नका लागि जिल्लाका १० वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थल निर्माण गरेको हो ।

निर्वाचनपश्चात् मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित अन्य पालिकाकामा तारबारसहित मतगणना स्थल सुरक्षित  पारेर सिसी क्यामेरा पनि जडान गरिएको छ । 

व्यास नगरपालिकाको मतगणनाका लागि जिल्ला समन्वय समितिको तीन वटा कोठामा मतगणना स्थल तयार गरी एकै पटक मतगणनाका लागि बाँसको घेराबार लगाइएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले जानकारी दिनुभयो । त्यहाँ सिसी क्यामेरा जडान गरिएको छ ।

“सबैलाई चित्तबुझ्दो हुने गरी भरपर्दो र सुरक्षित बनाउन आयोगले दिएको निर्देशनबमोजिम मतगणना स्थल बनाएका छौँ”, उहाँले भन्नुभयो, “स्थानीय स्तरमै पाइने बाँस प्रयोग गरी घेराबार गरिएको छ ।” ढुङ्गानाका अनुसार व्यास नगरपालिकाको मतगणना बढीमा पाँच दिनमा सक्ने तयारी गरिएको छ ।

देवघाटस्थित निर्वाचन अधिकृतको कार्यालयले वडा नं ५ स्थित सभा हलमा मतगणना स्थल तयार गरेको छ । दुई ठाउँमा मत गन्नका लागि गणना स्थल तयार गरिएको निर्वाचन अधिकृत थमनसिंह थापाले जानकारी दिनुभयो ।

घिरिङस्थित निर्वाचन अधिकृतको कार्यालयले गाउँपालिकाको कार्यालय भवनमा मतगणना स्थल तयार गरेको छ । दुई ठाउँमा मत गन्नका लागि गणना स्थल बनाइने निर्वाचन अधिकृत किर्तनराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मतगणना स्थलमा सिसी क्यामेरा जडान गरिनेछ । 

आँबुखैरेनीस्थित निर्वाचन अधिकृतको कार्यालयले पनि गाउँपालिकाकै भवनमा मतगणना स्थल बनाएको छ । फलामको तारजालीले बारेर सिसी क्यामेरा जडान गरी मतगणना स्थल बनाइएको निर्वाचन अधिकृत चिरञ्जीवी पौडेलले जानकारी दिनुभयो । 

यसैगरी मिन माध्यमिक विद्यालयमा तीन वटा कोठामा मतगणना स्थल तयार गरिएको सहायक निर्वाचन अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । “मतगणना स्थल तयार भइसकेको छ, प्रत्येक कोठामा सिसी क्यामेरा पनि जडान गरेका छौँ ।

जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामा ४४५ जनप्रतिनिधि निर्वाचित गर्न दुई लाख ४४ हजार ३४० मतदाताले मतदान गर्दैछन् । गत स्थानीय तहको निर्वाचनमा भन्दा यस पटक ४९ हजार ८६९ बढी मतदाता थपिएका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लामा एक लाख ९४ हजार ४७१ मतदाता थिए ।

घिरिङमा मतगणना स्थल परिवर्तन
तनहुँको घिरिङ गाउँपालिकामा मतगणना स्थल परिवर्तन गरिएको छ । यसअघि वडा नं ३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा मतगणना गर्ने निर्णय भए पनि बुधवार बसेको राजनीतिक दल तथा सुरक्षा निकायको बैठकले मतगणना स्थल परिवर्तन गर्ने निर्णय गरेको हो ।

बैठकले गाउँपालिकाको प्रशासकीय भवनमा मतगणना स्थल तय गर्ने निर्णय गरेको घिरिङका निर्वाचन अधिकृत किर्तनराज पौडेलले जानकारी दिनुभयो ।

विद्यालय भवनमा सुरक्षाको प्रत्याभूति नहुने र निर्वाचन लगत्तै विद्यार्थी भर्नालगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले मतगणना स्थल परिवर्तन गर्ने निर्णय गरेको उहाँको भनाइ थियो ।

विद्यालयमा मतगणना गर्ने निर्णयको नेकपा (एमाले) ले विरोध जनाएको थियो । विद्यालयको भवनमा सुरक्षाको प्रत्याभूति नहुने र मतगणनाको क्रममा धाँधली हुनसक्ने भन्दै एमालेले गाउँपालिकाको नयाँ भवनमा मतगणना हुनुपर्ने माग गरेको एमाले गाविस अध्यक्ष विष्णुप्रसाद ढकालले बताउनुभयो ।रासस

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  ८ : ५१ बजे