पोस्टमार्टमपछि जुनमाया बुढाको शव रुकुम पठाइयो, दोषीलाई कारबाही गर्न माग

बुटवल । अपहरणपछि हत्या गरिएकी एमाले कार्यकर्ता डुथी बुढा भन्ने जुनमाया बुढाको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पोस्टमार्टम गरिएको छ ।

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा उनको हत्या भएपछि शव पोस्टमार्टमका लागि आज बिहान बुटवल ल्याइएको थियो । मृतकका भाइ धनबहादुर बुढा, नेपाली काँग्रेस पुथा उत्तरगंगा गाउँ सभापति तपश बुढा, एक प्रहरी हवलदारले एम्बुलेन्समा उनको शवलाई बुटवल ल्याउनुभएको थियो।

एमाले पोलिटब्युरो सदस्य दधिराम न्यौपानेले शव पोस्टमार्टम गरी आफन्तमार्फत दाहसंस्कारका लागि रुकुम पठाइएको जानकारी दिनुभयो । 

यही १९ वैशाखमा सो गाउँपालिका– ११ टक्सेरामा माओवादी कार्यकर्ताको आक्रमणबाट करिब आधा दर्जन घाइते भएका थिए । सोही दिनदेखि जुनमाया बेपत्ता भएकी थिइन् । एमाले–काँग्रेस गठबन्धनका कार्यकर्तामाथि माओवादीले आक्रमण गरी जुनमायालाई अपहरण गरेको र अपहरणपछि हत्या गरेको एमालेको आरोप छ ।

एमाले कार्यकर्ताले घरदैलो अभियान चलाइरहेका बेला माओवादी कार्यकर्ताले आक्रमण गरेका थिए । अपहरणपछि हत्या गरिएकी जुनमायाको शव मङ्गलवार घरदेखि करिब तीन किलोमिटरमाथि भेटिएको थियो ।

रुकुम पूर्व प्रहरीले सो घटनामा संलग्न रहेको आशङ्कामा माओवादीका स्थानीय तीन नेतालाई पक्राउ गरेको छ । माओवादी स्थानीय नेता कुमार सिंह, निवर्तमान वडाध्यक्ष जयकुमार बुढा, उनका भाइ अर्जुनकुमार बुढालाई प्रहरीले पक्राउ गरेको हो ।

शव पोस्टमार्टमका लागि बुटवल आएका मृतकका भाइ धनकुमार बुढाले माओवादी कार्यकर्ताले नै दिदीको हत्या गरेको भन्दै कारबाहीको माग गर्नुभएको छ । दोषीलाई कारबाही गर्न प्रहरीले बेवास्ता गरिरहेको भन्दै उहाँले घटनाको सत्य तथ्य बाहिर ल्याउन माग गर्नुभएको छ  । शवको प्रकृति हेर्दा कानबाट रगत बगेको, शरीरभर नीलडाम रहेका कारण कुटपिटबाट नै हत्या गरेको स्पष्ट भएको एमाले पोलिटब्यूरो सदस्य न्यौपानेले बताउनुभयो ।

 

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ११ : ५६ बजे