एमालेको जागरणसभामा जे देखियो…

एमालेको जागरणसभामा जे देखियो…

मौन अवधि र निर्वाचन प्रक्रिया

मङ्गलवार राति १२ः०० बजेदेखि मौन अवधि सुरु भएको छ । मौन अवधि भनेको नबोल्ने, मानिसहरूलाई सोच्न दिने अवधि हो । निर्वाचन प्रक्रिया सुरु भएदेखि हिजोसम्म उम्मेदवारी दिएका नेता—कार्यकर्ताहरूले नागरिकहरूसमक्ष पार्टीको विचार र आफ्नो  प्रतिबद्धता व्यक्त गरे । गीत, भाषण, घरदैलो आदि माध्यमबाट आफ्नो र पार्टीको पक्षमा, आफ्ना सहकर्मी समूहका पक्षमा मत मागे । भन्नुपर्ने सबै कुरा भने । नागरिकले पनि सबैका कुरा सुने, सोधे, स्पष्ट भए । अब ती विषयमा सोच्नका लागि शान्तिपूर्ण वातावरण आवश्यक हुन्छ । यही वातावरणलाई मौन अवधि भनिन्छ । अहिले त्यो अवधि छ । 

निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा निर्वाचन प्रचार—प्रसारलगायत कुनै पनि प्रकारका खुला छलफल, अन्तरक्रिया, सभा–सम्मेलन, कार्यशाला, गोष्ठी गर्नु हुँदैन । मत माग्न हुँदैन । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका निर्वाचन चिन्ह तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्छ । एसएमएस, फेसबुक, भाइबर जस्ता सामाजिक सञ्जालमार्फत मत माग्न र प्रचार—प्रसार गर्न हुँदैन । उम्मेदवार वा राजनीतिक दलको प्रचार—प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्नु हुँदैन । 

लोकतन्त्रमा निर्वाचन भनेको उत्सव हो । शासन सञ्चालनमा जनताको प्रत्यक्ष सहभागिता हुने माध्यम निर्वाचन भएको हुनाले यसमा नागरिकहरू सहभागी भइन्छ । राजनीतिको अन्तर्वस्तु विचार हो । तहगत सङ्गठनात्मक संरचनाहरू राजनीतिको देखिने पक्ष वा स्वरूप हो । जसरी पार्टी सञ्चालनका लागि पार्टीका सङ्गठनात्मक कमिटीहरू हुन्छन्, त्यसै गरी राज्य सञ्चालनका पनि तहहरू हुन्छन् र छन् । ती तहहरूमा रहने व्यक्तिलाई नेता भनिन्छ । विचार आफै देखिँदैन, नेताका व्यवहारमा देखिन्छ । 

त्यसैले निर्वाचन विचारका पक्षमा विचार थप्ने या जोड्ने माध्यम हो । निर्वाचनमा गरिने सङ्केतलाई ‘मत’ भनिन्छ । ‘मत’ भनेको विचार हो । मतदान गर्ने भनेको विचार दिने भनिएको हो अर्थात् मेरो विचार यस्तो हो, यही हो भन्ने कुरा हामी भोटबाट व्यक्त गर्दछौँ । त्यसैले, यो निर्वाचन भनेको विचार सुन्ने, बुझ्ने  र आफूलाई मन परेको विचारको पक्षमा आफ्नो मत दिने हो । 

लोकतन्त्र जति राम्रो हो, निर्वाचन राम्रो हो, प्रचार प्रसार पनि राम्रो हो । तर, कतिपय मानिसहरू, दलहरू जसरी पनि निर्वाचन जित्नै पर्ने ठान्दछन् । मतदाताहरूलाई आर्थिक र अन्य प्रलोभन दिने, भोजभतेर खुवाउने गरेर आफ्नै प्रतिबद्धता तथा घोषणा विपरीत अनुचित ढङ्गले मतदातालाई प्रभाव पार्न खोज्दछन् । चलनचल्तीको भाषामा भन्नुपर्दा ‘मौन’ अवधिलाई ‘मनी’ अवधिका रूपमा प्रयोग गर्न सक्छन् । त्यसैले यो मौन अवधि साह्रै संवेदनशील अवधि हो । 

स्पष्ट विचार सही नभएका, सङ्गठनात्मक आधार नभएका, मौकामा चौका हान्ने, च्याँखे थाप्ने प्रवृत्तिका उम्मेदवारहरूले यस मौन अवधिलाई दुरुपयोग गर्न सक्ने सम्भावना बढी हुन्छ । निर्वाचन प्रचारका क्रममा कतिपय नेताहरूबाट आचार संहिता उल्लङ्घन भएको देखियो । सञ्चार जगत र सचेत नागरिकको खबरदारीका कारण त्यस्ता व्यक्तिहरूसँग निर्वाचन आयोगले स्पष्टीकरण सोध्ने कारबाही अघि बढाएको पनि छ । यो मौन अवधि मतदाताहरूलाई सोच्न, गम्न, विचार बनाउन दिइएको लोकतान्त्रिक अधिकारको अवधि हो, यो अवधि मतदान गर्ने जत्तिकै महत्त्वपूर्ण अवधि हो । यो मौन अवधिलाई शान्तिपूर्ण र स्वच्छ निर्वाचनको महत्त्वपूर्ण तयारीका रूपमा लिन आवश्यक छ । 

आचार संहिता, नीति नियम सबैले पालना गर्नुपर्दछ । यसो भन्दैमा पालन हुने कुरा सुनिश्चित हुँदैन, यसको पालन गराउने, पालन भए नभएको अनुगमन गर्ने, गरे गराइएको पाइएमा  त्यस्तालाई आवश्यक कारबाही गर्न अधिकार र जिम्मेवारी लिएका निकाय र व्यक्तिहरूले बढी ध्यान दिनु पर्दछ । यस्तो देखे—भेटे उजुर बाजुर  त होला, तर स्वच्छ निर्वाचनका लागि सम्बन्धित निकाय र जिम्मेवार व्यक्तिहरूले उजुर बाजुर पर्खेर बस्नु हुँदैन । यी सबै विषय सम्बन्धित सबैको ध्यान जाओस् र निर्वाचन स्वच्छ होस् । निर्वाचनको स्वच्छताले नै लोकतन्त्रप्रति नागरिकको आस्था बढ्ने छ । निर्वाचन जुनसुकै तहको होस्, सबै महत्त्वपूर्ण हुन्छ, यो स्थानीय तहको निर्वाचन त झनै महत्त्वपूर्ण छ, किन भने यो तह लोकतन्त्रको, समाजवादको, विचारको, विकासको, संस्कृति निर्माणको, घर—आँगनको आधारभूत तह हो । यसलाई सफल पार्न सबैले ध्यान दिऔँ । मौन अवधि र निर्वाचन प्रक्रियाका सबै नीति नियमको पालन गरौँ, स्वच्छ, स्वतन्त्र, भयरहित, शान्तिपूर्ण वातावरणमा आफ्ना जनप्रतिनिधि छानौँ । लोकतन्त्रलाई थप सुदृढ बनाऔँ !  

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ७ : ५१ बजे