आज र भोलि मतदाता परिचयपत्र वितरण हुँदै

काठमाडौँ । नयाँ मतदाताहरूले आज र भोलि मतदाता परिचय पत्र पाउने भएका छन् ।

पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनी सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदाताले बुधवार र बिहीबार सम्बन्धित मतदान स्थलबाट मतदाता परिचयपत्र पाउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सही तरिकासम्बन्धी जानकारी दिने कार्यक्रम छ ।“बढीभन्दा बढी मतदातालाई मतदानसम्बन्धी जानकारी उपलब्ध गराउन आमसञ्चार माध्यम तथा सामाजिक सञ्जालको प्रयोग गरी श्रव्य दृश्यको माध्यमबाट विभिन्न जानकारीमूलक सन्देश प्रसारण समेत भइरहेका छन्”, उहाँले भन्नुभयो ।

बालिग मताधिकारको आधारमा संविधानले सबै नेपाली जनतालाई निर्वाचनमा सहभागी हुने अधिकार दिएको छ । यो अधिकारको प्रयोग गर्न यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा कसैको डर, धाक धम्की र त्रास नमानी निर्धक्क भएर आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न आयोगले अपिल गरेको छ ।

शुक्रवार हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, स्वयंसेवक लगायत मतदानको कार्यमा खटिने जनशक्ति मतदान स्थलमा पुगिसकेको जानकारी दिइएको छ ।

 

    

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ७ : १४ बजे