हनुमान ढोकाको दसैँघरमा फूलपाती

यो निर्वाचनले देश कता जाने भनी निर्धारण गर्छ : अध्यक्ष ओली

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनले नै देश कतातिर लैजाने भन्ने निर्धारण गर्ने बताउनुभएको छ ।

नेकपा एमाले काठमाडौँले आज यहाँ आयोजना गरेको आमसभामा सम्बोधन गर्दै उहाँले स्थानीय निर्वाचनले  केन्द्रीय र प्रादेशिक सरकार हेरफेर नगरे पनि देशको दिशा तय गर्ने उल्लेख गर्नुभयो । एमालेले देशलाई चौतर्फी ढङ्गबाट विकास गर्ने हुँदा सबैतिर रुचाइएको उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “सबै पेसा र व्यवसायका हित अघि बढाउन एमाले नै चाहिन्छ भन्ने सबैको बुझाइ छ ।” 

एमाले नेतृत्वको सरकारले के के ग¥यो र विकासको अभियान कसरी अघि बढाएको जनतालाई थाहाभएको पूर्वप्रधानमन्त्री ओलीले बताउनुभयो । ऐतिहासिक र पुरातात्विक महत्वका धरोहर, धार्मिक आस्था, परम्परा, संस्कृति र संस्कारसँग जोडिएका कुराको रक्षा एमालेले नै गरेको उहाँको भनाइ छ  । एमालेले इतिहासको छापका रुपमा रहेको धरहरा उठाएको, रानीपोखरी पुनःनिर्माण गरेको र काष्ठमण्डप पुनःनिर्माण गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “इतिहासको संरक्षण र सम्पदाको संरक्षण गरेका छौँ ।”

आफू नेतृत्वको सरकारले नै ६० वर्षअघि देखि गुमाएको भूभाग समेटेर नक्सा छापेको र सर्वसम्मतिले संविधान संशोधन गरेको ओलीले बताउनुभयो । त्यसैका आधारमा अब कसैले पनि गुमाएको भूभाग सधैँका पचाउन नसक्ने उहाँले बताउनुभयो । एमाले सरकारले विभिन्न सडक निर्माण र विस्तार, विमानस्थल निर्माण लगायतका पूर्वाधार निर्माणलाई अघि बढाएको उहाँले बताउनुभयो । 

हुलाकी राजमार्ग, पुष्पलाल रजमार्ग, मदन भण्डारी राजमार्ग, काठमाडौँ तराई दु्रतमार्ग र विभिन्न नदीमा करिडोर अघि बढाइएको उहाँले बताउनुभयो । पोखरामा विमानस्थल निर्माण, भैरहवाको विमानस्थल स्तरोन्नति गरिएको उहाँले बताउनुभयो । राति पनि विमान उडाउन थालिएको, ठाउँठाउँमा हेलिप्याड बनाइएको उहाँले दाबी गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “बालबालिकादेखि ज्येष्ठ नागरिक हेरचाहमा ध्यान दिइएको छ ।”

राजधानी रहेको काठमाडौँ महानगरपालिकालाई अरू देशले पनि पहिले हेर्ने हुँदा यसलाई सुन्दर, सफा र विकसित बनाउनुपर्नेमा उहाँको जोड छ । ऐतिहासिक धरोहरलाई सम्पदाको लेउ, झ्याउ नलाग्ने गरी जीवन्त बनाएर संरक्षण गर्न उहाँले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । यहाँको बाटो, खानेपानी समस्या समाधान गर्न लाग्नुपर्ने उहाँले बताउनुभयो । 

यो महानगरले आसपासका नगरपालिकाहरूले समेत  अनुसरण गर्ने गरी काम गर्नुपर्नेमा अध्यक्ष ओलीको जोड छ । अरू पालिकामा आवश्यक पर्दा सहयोग गर्न पनि तत्पर हुनुपर्ने उहाँको भनाइ छ । देशभर नै एमाले र सूर्यको लहर चलेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अब यी तीन दिनमा मतको सुदृढ ढङ्गले रक्षा गर्नुपर्छ ।” महानगरपालिकामा प्रमुखका उम्मेदवार केशव स्थापित र उपप्रमुखकी उम्मेदवार सुनिता डङ्गोलले निर्वाचित भएपछि काठमाडौँ सफा र सुन्दर बनाउन ध्यान दिने उल्लेख गर्नुभयो । 

 

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  १० : ५९ बजे