उपमेयरकी उम्मेदवार डंगोलका महत्वपूर्ण दुई योजनाः काठमाडौँलाई पुनर्जीवित गर्ने,महानगर संग्रहालय निर्माण गर्ने

काठमाडौँ । नेकपा (एमाले) बाट काठमाडौं महानगरपालिकाको उपमेयर पदकी उम्मेदवार सुनिता डंगोल अहिले सबै भन्दा बढी चर्चामा रहेको नाम हो । संघीय राजधानीमा रहेको महानगरपालिकाको उपमेयर पदमा युवालाई विश्वास गरेर पार्टीले उप–प्रमुख जस्तो पदको टिकट दिनुले पनि डंगोलको चर्चा बढी छ । एमालेले युवापुस्ता र अग्रज पुस्ताहरुबीचको समायोजनलाई बढी प्राथमिकता दिएकाले पनि मेयरमा स्थापित र उपमेयरमा डंगोल दुबैले जित निकाल्ने निश्चित जस्तै बनेको चर्चा छ । पछिल्लो समय डंगोलको चर्चा थप चुलिदैँ गएको छ । गठबन्धनबाट उपमेयरका उम्मेदवारको कमजोर प्रस्तुतिले पनि डंगोललाई जित निकाल्न थप सहज बनेको देखिन्छ । डंगोल आफैँ पनि घरदैलो कार्यक्रममा जाँदा राम्रो प्रतिक्रिया आइरहेको बताउनुहुन्छ । त्यो उहाँको जितको आधार हो ।

डंगोल सम्पदाप्रेमि पनि भएको हिसावले साँस्कृतिक सहरको परिचय बनाएको काठमाडौँमा उहाँकोे जितको थप अर्थ रहने अनुमान गर्न सकिन्छ । काठमाडौंमा रहेका साँस्कृतिक सम्पदाहरुको पुनःनिर्माणलाई पूरा गर्ने र सँस्कृतिहरु नयाँ पुस्तालाई पुस्तान्तरण गर्ने कुरामा काम गर्ने अठोट पनि उहाँको जितको आधार हो । काठमाडौं देशको राजधानी भएकोले यहाँको पूर्वाधारमा विकास गर्नु आवश्यक रहेको उहाँको बुझाइ छ । ‘काठमाडौंको चिनारी यहाँको भाषा, कला, संस्कृति, जात्रा र पर्व आदि कुरासँग जोडिएकाले यसलाई संरक्षण गर्नु पहिलो दायित्व हो । यसो भयो भने मात्रै काठमाडौंलाई काठमाडौं जस्तो बनाउन सकिन्छ,’ उहाँ भन्नुहुन्छ,’ ‘काठमाडौंलाई साँच्चिकै कान्तिपुरी नगरी बनाउन काठमाडौंलाई पुर्नजिवित गर्नुपर्छ । त्यो भनेको यहाँ रहेका मूर्त, अमूर्त सम्पदाहरुलाई संरक्षण र प्रवद्र्धन गर्नु हो ।’

काठमाडौंमा रहेको बहाःबहीः मासिँदै गएकोले त्यसको संरक्षण गर्नुपर्नेमा उहाँको जोड छ । ‘यहाँका बहाः, बहीःको संरक्षणका लागि संवद्र्धन समिति बनाएर अघि बढ्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘काठमाडौं महानगर भित्र मात्रै चार वटा विश्व सम्पदा सूचिमा सूचिकृत भएका स्थान छन् । यो बाहेक पनि अन्य सांस्कृतिक सम्पदाहरु रहेकोले बाँकी सम्पदाई राष्ट्रिय सम्पदाको रुपमा सूचिकृत गर्नुपर्ने हुन्छ । यो हाम्रो एजेण्डा हो ।’

उहाँले कार्यक्रम मञ्चहरुलाई थप बिस्तार गरेर काठमाडौं महानगरपालिकाले यहाँको संस्कृति, गीत, संगीतका कार्यक्रम आयोजना गरे यसको संवद्र्धन गर्न सकिने उहाँको विश्वास छ । ‘सांस्कृतिक सम्पदाहरुको पुनः निर्माणलाई पूरा गर्नुपर्नेछ,’ उहाँले भन्नुभयो, ‘संस्कृतिहरु नयाँ पुस्तालाई हस्तान्तरण गर्नु अर्को महत्वपूर्ण कुरा हो । यहाँको कलाकृतिले गर्दा काठमाडौं काठमाडौं बनेको छ । काठमाडौंको चिनारी यहाँका सम्पदाहरुले बोकेको छ ।’

डंगोलले जात्रा, पर्व, संस्कृति यहाँको महत्व भएको बताउनुभयो । ‘काठमाडौंलाई धेरैले अन्य शहरसँग तुलना गर्ने गरेका छन् । यो आफैँमा सुन्दर छ, मौलिकता बोकेको छ । त्यसैले यसलाई अरु कुनै शहरसँग तुलना गर्नु उचित हुँदैन, जरुरी छैन,’ उहाँले भन्नुभयो, ‘अरु कुनै सहरजस्तो बनाउन जरुरी पनि छैन । काठमाडौंलाई साँच्चिकै कान्तिपुरी नगरी बनाउने हो भने हामीले काठमाडौंलाई रिभाइभ गर्नुपर्छ ।’ उहाँले पुराना धेरै वैज्ञानिक कुराहरुलाई पनि रिभाइभ गर्नुपर्छ भन्नुभयो । ‘हामीले काठमाडौंलाई रिभाइभ गर्नका लागि विभिन्न योजना बनाएका छौँ,’ ‘यहाँ मूर्त, अमूर्त सम्पदाहरु छन् । त्यसको संरक्षण र प्रवद्र्धन गर्नुपर्छ । काठमाडौंका १०० भन्दा बढी ठाउँमा विभिन्न घुम्न लायक ठाउँहरु छन्, बहाः, बहीः छ त्यो बिस्तारै हराउँदै गइरहेको छ, त्यसलाई हराउन दिनुहुँदैन । त्यसको संरक्षणका लागि संरक्षण, संवद्र्धन समिति बनाउनुपर्छ, हामी त्यो गर्छौ ।’
उहाँले सम्पदा संरक्षणका लागि नीति नै बनाएर अघि बढ्ने बताउनुभयो ।

‘हामीले स्थानीय निकायबाट त्यसलाई नीतिगत रुपमा लैजान सक्यौँ भने मात्र नीतिगत रुपमा संवद्र्धन र संरक्षण हुन्छ,’ उहाँले भन्नुभयो, ‘अर्को कुरा पहिल्यैबाट आर्टिस्टहरु जन्मिएको ठाउँ दब्बू हो । दब्बूहरुलाई अवसर अनुसार मात्र होइन अरु बेला पनि प्रयोग गर्न सक्नुपर्छ । रिभाइभ काठमाडौंको मुख्य कुरा भनेको दब्बू पनि हुन्छ । त्यस्ता दब्बूहरुलाई अझै रिभाइभ गर्न जरुरी छ । फेस्टिबल, अकेजनको समयमा मात्र होइन ।’

उपमेयरकी उम्मेदवार डंगोलले आफू महानगरपालिकाको उपमेयर बनेपछि महानगरीय संग्रहालय बनाउने र त्यसमा काठमाडौंका मौलिकता झल्किने कुराहरुलाई राख्ने बताउनुभयो । ‘यहाँको भाषा, रितिरिवाज, संस्कृति, भेष–भुषालगायतका काठमाडौंका मौलिकता झल्किने कुराहरु संग्रहालयमा राख्दा काठमाडौंको बारेमा बुझ्न चाहनेका लागि सहज हुन्छ,’ उहाँले भन्नुभयो, ‘यी सबै काम गर्नका लागि भावनासँगै नीति, नियम र योजनाको खाँचो रहेको र त्यसलाई स्थानीय सरकारको रुपमा महानगरले गर्न सक्ने स्पष्ट पार्नुपर्छ ।’

उहाँले महानगरभित्रै एउटा महानगर संग्रहालय बनाउन सकियो भने त्यसमा काठमाडौंसँग जोडिएका इतिहास, किंवदन्तीहरुलाई जीवन्त बनाउन सकिने बताउनुभयो । ‘त्यसले काठमाडौंलाई नजिकबाट हेर्न र बुझ्न सकिन्छ,’ उहाँले भन्नुभयो, ‘ यहाँ विस्तारै इनार, ढुंगेधारा, पोखरीहरु मासिँदै गएको छ, यसलाई संरक्षण गर्न जरुरी छ । काठमाडौंलाई रिभाइभ गर्ने भनेको त्यसलाई पनि पुनर्जीवित गर्ने हो । त्यो काम गर्ने हो भने भावना चाहिन्छ, भावनाले मात्र पनि हुँदैन योजना ल्याउनु पर्छ । यसको लागि स्थानीय सरकारले काम गर्न सक्छ ।’

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ४ : १५ बजे