हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

भरतपुरमा बलियो बन्दै विजय सुवेदीः यस्ता छन् चुनाव जित्ने आधार

चितवन – स्थानीय निर्वाचन आउन ४ दिन बाँकी छ । आज राती १२ बजेपछि मौन अवधि शुरु हुन्छ । उम्मेदवारहरुले आफ्नो घरदैलो करिब करिब सम्पन्न गरिसकेका छन् । राती १२ बजेपछि त घरदैलो गर्न पनि पाइन्न ।

अहिले नेपालकै ‘चुनावी केन्द्रविन्दु’ मा रहेको छ, भरतपुर । त्यसमाथि अबको मेयर को हुने भन्ने बारे आमचासो देशव्यापी छ । भरतपुर महानगरमा २७ जनाले चुनावी प्रतिष्पर्धामा भाग लिए पनि मुख्यरुपमा तीन जनाबीच प्रतिष्पर्धा हुने आँकलन गरिएको छ । एमाले र राप्रपाले भरतपुरमा चुनावी तालमेल गरेका छन् भने काँग्रेस, माओवादी, समाजवादी, जनमोर्चा र जसपाले केन्द्रीय नीति बमोजिम नै ‘गठबन्धन’ को साझा उम्मेदवार तय गरेका छन् । जसअनुसार एमालेका विजय सुवेदी, माओवादीकी रेणु दाहाल र असन्तुष्ट स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले मेयरमा उम्मेदवारी दिनुभएको छ । पौडेलले ‘भुइकटहर’ चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिनुभएको छ । तर भरतपुर महानगरमा मेयर पदमा उम्मेदवारी दिएका २७ जनाभन्दा अग्रपंक्तिमा सूर्य चिन्हका विजय सुवेदीको पक्षमा नै माहोल बढेको छ । जति जति चुनावको दिन नजिकिँदै छ, उति उति विजयको विजय पनि सुनिश्चित जस्तै छ ।

भरतपुरका मतदाता, केन्द्रीय राजनीतिक विश्लेषण, चितवनको राजनीतिक घटनाक्रम र स्थलगत अनुगमनले भरतपुरको मेयरमा विजयको विजयलाई नकार्न सकिँदैन । विजय सुवेदी भरतपुरको मेयरका लागि बलियो बन्दै जानुका आधारहरु यहाँ यसरी प्रस्तुत गर्न सकिन्छ ।

चुनावी अंकगणित

२०७४ को स्थानीय निर्वाचनमा पनि भरतपुरमा काँग्रेस र माओवादीबीच चुनावी गठबन्धन भएको थियो । एमाले एक्लै चुनावी मैदानमा उत्रिएको हो । गएको स्थानीय निर्वाचनमा माओवादी उम्मेदवार रेणु दाहालले ४३ हजार १२७ मत प्राप्त गरी मेयरमा विजय प्राप्त गर्नुभएको हो । एमालेका देवीप्रसाद ज्ञवालीले प्राप्त गरेको मत ४२ हजार ९२४ हो । यसैगरी राप्रपाका बद्रि तिमल्सिनाले ६८४२ मत प्राप्त गर्नुभएको थियो । यस हिसाबले सो निर्वाचनमा एमाले र माओवादीबीचको मतान्तर जम्मा २०३ थियो । त्यतिबेला भरतपुरमा मतपत्र च्यातेर माओवादीले मेयर जितेको कुरा त सबैका सामु छर्लङ्ग छ । सरासर मतगणना भएको भए भरतपुरमा एमालेले चुनाव जितिसकेको थियो । तर भरतपुर–१९ मा पुन मतदान गरी सारा काँग्रेसहरु लागेर माओवादीलाई चुनाव जिताएको कुरालाई भरतपुरका जनताले बिर्सिएका छैनन् ।

भरतपुरमा अहिले झण्डै ३५ हजार नयाँ मतदाता थपिएका छन् । तर, चुनाव विगतका तथ्याङ्कका आधारमा मात्र जितिदैन । पार्टीको सांगठानिक सक्रियता र उम्मेद्वारको लोकप्रियता जस्ता विषयले पनि भुमिका खेल्छ । यी सबै गुण एमाले र उम्मेदवार विजय सुवेदीका हकमा छ ।

अहिले भरतपुरको कुल मतदाता १ लाख ८५ हजार ७५२ हो । भरतपुरमा अहिले त्रिपक्षीय कडा प्रतिष्पर्धा हुने भएकाले मेयरको चुनाब जित्न उम्मेद्वारले ५७ हजारको हाराहारीमा मत ल्याउनु पर्ने छ । यसैले एमालेलाई यसपालि करिब १५ हजार मत बढाउन खासै गाह्रो छैन । अहिले एमालेलाई नयाँ थपिएका मतदाताको ४० प्रतिशत मत आए मात्रै पनि चुनाव जित्न पर्याप्त हुन्छ । त्यसमाथि राप्रपा, रामबहादुर बादलसँगै आएका पूर्व माओवादी, काँग्रेसका असन्तुष्ट समूह र विजय सुवेदीको व्यक्तिगत मतले पनि एमालेलाई भरतपुरमा चुनाव जित्न गाह्रो छैन । यसैले एमालेले भरतपुरमा मेयर पदमा निर्वाचन जित्न सक्ने केही आधारहरुलाई यसरी विष्लेषण गर्न सकिन्छ ।

गठबन्धनको भाडभैलो

राष्ट्रिय रुपमै चितवनमा पनि ‘गठबन्धन’ छ । पाँच दलीय गठबन्धन भने पनि मतदाताहरुको संख्या काँग्रेस र माओवादीमै छ । उनीहरुको अघिल्लो चुनावमै पनि गठबन्धन भएको हो । बाँकी दलहरु जसपा, समाजवादी र जनमोर्चाको प्रभाव भरतपुरमा खासै छैन । यी तीन दलको मत संख्या करिब दुई हजार रहेको छ । तर गठबन्धनमा आफूहरुले भनेजति पदमा उम्मेदवारी नपाएका कारण यी साना दलले पनि ठूला भनिएका काँग्रेस–माओवादीसँग असन्तुष्टि जनाइरहेका छन् । यतिसम्मकी अघिल्लो पटक भरतपुर–१० मा एमालेबाट वडाध्यक्षमा चुनाव जितेका अरुणपीडित भण्डारी पछि समाजवादीमा लाग्नुभयो । भरतपुर महानगरको प्रवक्ता पनि बन्नुभयो । अहिलेको निर्वाचनमा वडाध्यक्ष छाडेर जिल्ला समन्वय समिति चितवनको प्रमुख बन्ने दाउमा उहाँ हुनुहुन्थ्यो । गठबन्धनले सोही बमोजिम भण्डारीलाई यसको ‘ग्रीन सिग्नल’ पनि दियो । तर अन्ततः भण्डारीलाई गठबन्धनले अहिले वडाको सदस्यको रुपमासमेत पत्याएन । एमालेले वडाध्यक्ष बनाएर महानगरको प्रवक्ता भईसक्नुभएका भण्डारी यतिबेला समाजवादीको जिल्ला उपाध्यक्ष रही एक्लै वार्ड सदस्यको रुपमा भरतपुर–१० को मैदानमा हुनुहुन्छ । गठबन्धनबीच यस्ता खालका असन्तुष्टि र असमझदारी भरतपुरका वडा वडामा छ ।

यसपालि थपिएका मतदातामध्ये केही मत मेयरमा माओवादीले बढाउन सक्छ । तर काँग्रेसबाट माओवादीलाई अघिल्लो पटकभन्दा पनि कम मत आउँछ । यसको एउटै कारण हो, काँग्रेसबाटै बागी उम्मेदवारी दिनुभएका जगन्नाथ पौडेल । भरतपुरको मतपत्रमा चुनाव चिन्ह रुख रहने भएका कारण कुनै उम्मेदवारलाई पनि मन नपराउने कतिपय काँग्रेसीहरुले आफ्नो मत बदर हुने जान्दाजान्दै पनि ‘रुख’ मा मत दिने अवस्था देखिएको छ । साथै शुरुमै गठबन्धनको निर्णय माने पनि भरतपुरमा ‘मेयर काँग्रेसले पाउनुपर्छ’ भन्ने कार्यकर्ताको आवाजलाई जगन्नाथको उम्मेदवारीले सम्बोधन गरेका कारण माओवादीको चुनाव चिन्ह ‘हसिया हथौडा’ मा भन्दा स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह ‘भुईकटहर’ मा काँग्रेसजनको मत धेरै खस्ने सम्भावना छ । आफ्नो मत खेर फाल्न नचाहने काँग्रेसको एउटा समूह भने विजयलाई नै मत दिने तयारी छ ।

माओवादी कार्यकर्ताको एउटा पंक्ति मेयरमा रेणु दाहाललाई दोहोर्याएको कारण पनि असन्तुष्ट छ । पार्टीमा त्याग र बलिदान गरेका माओवादी कार्यकर्ताहरु प्रचण्डले सधै छोरी बोकेर आफूहरुको राजनीतिक भविष्य जोखिममा परेको बताइरहेका छन् । गठबन्धन भएका दलहरुको एकापसको भाँडभैलोले पनि विजयलाई विजयी बन्ने आधार दिएको छ ।

एमाले एक ढिक्का

एमालेले भर्खर महाधिवेशन गरेर चितवनमा शक्तिप्रदर्शन समेत गरेको छ । एमाले अझ संगठित भएको छ । पार्टीबाट चोइटिएको एक समूहले ‘समाजवादी’ खोले पनि यसको प्रभाव भरतपुरमा छैन । एमालेमा अहिलेका समाजवादीहरु रहँदा पनि विवाद हुन्थ्यो । तर पार्टीमै बसेर विवाद गरिरहनेहरु अहिले एमालेमा छैनन् । एमाले भरतपुरमा अझ संगठित भएको छ । महाविधेशन हुँदा एमालेले भरतपुरबाट आफ्नो दह्रो उपस्थिति देखाउँदै आएको छ । यहाँ पार्टी संगठन, संगठित कार्यकर्ता, शुभेच्छुक सदस्यहरुको पंक्ति ठूलो छ । अहिले एमालेमा कुनै विवाद नरहेको कुरा नेताहरुले बताउँदै आएका छन् । यस कुराले पनि विजयलाई विजय सम्भव छ ।

सर्वसम्मत उम्मेदवार

निर्वाचनमा उम्मेदवार बन्न धेरैले आकाँक्षा राखेका हुन्छन् । वडा सदस्यको सर्वसम्मत उम्मेदवार बन्न पनि कठिन भएको बेला विजय सुवेदी एमालेबाट भरतपुरमा सर्वसम्मत उम्मेदवार बन्नुभयो । महानगरको मेयरमा देवीप्रसाद ज्ञवाली र कृष्णभक्त पोखरेलको चर्चा भए पनि उहाँहरुले नै सुवेदीको प्रस्तावक र समर्थक बनेर एमालेले भरतपुरमा सर्वसम्मत उम्मेदवार खडा गरेको सन्देश दिनुभयो । यस कुराले पनि कार्यकर्ताको तहमा उत्साह थप्ने काममा सघाउ पुग्यो । सुवेदीको उम्मेदवारीसँगै अन्य नेता कार्यकर्ताको समर्थन अझ बढ्दै गयो । एमालेले समयमै विवादरहित तरिकाले सर्वसम्मत उम्मेदवार तय गरेसँगै विजय सुवेदीको सहज जितको लागि काम गरेको छ ।

विजयको लोकप्रियता

भरतपुरमा मेयरका अन्य उम्मेदवारका तुलनामा विजयको लोकप्रियता बढ्दो छ । एमालेभित्र उहाँ यसै लोकप्रिय ने हुनुहुन्छ, त्यसमाथि अन्य पार्टी र आम सर्वसाधारणको नजरमा समेत उहाँको लोकप्रियता घटेको छैन । झनै बढेको छ । आफू पदमा पुगेपछि राजनीतिक दल नहेरी सबैलाई समान दृष्टिकोण र समभावले हेर्नु नै सुवेदीको गुण हो । यही गुणले गर्दा नै भरतपुरमा मात्र होइन, चितवनमै उहाँ लोकप्रिय हुनुहुन्छ । राजनीतिक र सामाजिक काममा अनवरतरूपमा सक्रिय सुवेदी चितवनवासीका लागि नौलो नाम पनि होइन । चार दशकभन्दा बढी समय चितवनवासीको सेवामा निष्ठाको राजनीतिलाई जीवन्तता दिंदै अगाडि बढ्नु भएका सुवेदीले जीवनभर लाभको पद लिनुभएन र जति सेवा गर्नु भएको छ, निस्वार्थ भावले गर्नुभएको छ । यसकारण जसरी उहाँको लोकप्रियता बढ्दो छ, उसैगरी उहाँको पक्षमा मत पनि बढ्दो छ । उहाँ भरतपुरको माटोमा भिजेको पात्र पनि हो । मेयरको उम्मेदवारी दिन जानुअघि उहाँले मदन–आश्रित र विपी कोइरालाको शालिकमा माल्यार्पण गरी श्रद्धा व्यक्त गर्नुभयो भने जनआन्दोलनका क्रममा शहिद भएकी तुलसी क्षेत्रीको छोरालाई सम्मान गरी ‘शहिद परिवारको साथमा छु’ भन्नुभयो ।

पार्टी छाडि पद, पद छाडि पार्टी

स्याङ्जामा जन्मिएर, पाल्पा हुँदै चितवनसम्म आईपुग्दा उहाँले राजनीतिमा धेरै जिम्मेवारी बहन गरिसक्नुभएको छ । २०३६ सालमा रामपुर पाल्पामा रहँदा कम्युनिष्ट पार्टीको सम्पर्कमा आउनुभएका सुवेदीले सोही वर्ष पाल्पामा तत्कालीन नेकपा (माले) निकट युवा लिगको सदस्य हुनुभयो ।

उहाँ २०४७ सालमा एमाले चितवनको सचिवालय सदस्य हुनुभयो । तत्कालीन अवस्थामा नेतृत्वको भूमिका खेल्ने सचिव पद उहाँले २०४९ सालबाटै सम्हाल्नु भयो । नेकपा एमाले चितवनको २०४९–२०५०, २०६१–०६४ र २०६४–०६६ गरी तीन कार्यकाल सचिव बन्नु भयो । यो बीचमा २०५५ देखि २०५९ सालसम्म राष्ट्रिय परिषद् सदस्य भएर पार्टीको जिम्मेवारी सल्हानुभयो । २०६७ सालमा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य भएर पनि उहाँले पार्टीको कामलाई निरन्तरता दिनुभयो । हाल नेकपा एमाले वाग्मती प्रदेश कमिटी सचिव रहनुभएका सुवेदीले राजनीतिमा पार्टीले दिएको जिम्मेवारी सधैं सफलतापूर्वक सम्पन्न गर्नुभएको छ ।

पार्टीमा यति जिम्मेवारी लिएर सफलता प्राप्त गरिरहँदा सुवेदीले चितवनमा उत्तिकै रुपमा सामाजिक क्षेत्रमा पनि काम गर्नुभएको छ । सार्वजनिक पदमा रहँदा राजनीतिक आँखाले कसैलाई हेर्न हुन्न भन्ने सुवेदीले जहिलेपनि ‘पाटी छाडि पद र पद छाडि पार्टी’ भन्ने नारालाई अंगिकार गर्नुभएको छ । पार्टीको जिम्मेवारीमा नरहँदा उहाँले धेरै सामाजिक क्षेत्रको क्षेत्रको नेतृत्व सम्हाल्नुभयो । तर त्यस क्षेत्रमा रहेका अन्य राजनीतिक विचार समूहलाई कहिल्यै पनि हेयको दृष्टिकोणले हेर्नुभएन । अब भरतपुर महानगरपालिकाको मेयर भएपछि यही नारालाई अंगिकार गर्ने धारणा राख्नुभएका सुवेदीलाई फरक राजनीतिक आस्था राख्ने भरतपुरका मतदाताले समेत उत्तिकै आस्था र विश्वासका साथ हेर्ने गरेका छन् । यो पनि विजय सुवेदीका लागि निर्वाचन जित्ने आधार हो ।

नेतृत्व संकटमा विजयको खोजी

पार्टीभित्र मात्र होइन, जिल्लाका हरेक राजनीतिक आन्दोलन र सामाजिक अभियन्ताको खोजी गर्नुपर्दा सबैले लिने एउटै नाम हो, विजय सुवेदी । ०६२/०६३ को जनआन्दोलनमा सर्वदलीय संयन्त्रको संयोजक रहनु भएका सुवेदीले त्यस समय चितवनको आन्दोलनलाई राष्ट्रिय रूपमा नै चर्चित बनाएर चितवनकै नेतृत्व लिनुभयो । यसरी राजनीतिक संकट हुँदा सुवेदीकै खोजी गरिन्छ ।
राजनीतिमा मात्र होइन । जहाँ जस्तो संकट आइपर्छ, त्यो संकटका बेला सबैले विजयलाई नै सम्झने गर्छन् । अनि जहाँ जहाँ सुवेदीले नेतृत्वको जिम्मेवारी लिनुभयो, त्यहाँ त्यहाँ सफलतापूर्वक जनचाहना अनुरूप काम पनि सम्पन्न भएका छन् । चितवनको स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र भौतिक निर्माणका क्षेत्रमा उहाँले गरेका र अगाडि सारेका योजनाहरूको सधैं प्रशंसा हुने गरेको छ । ती योजनाले यहाँको समग्र विकासमा तत्कालीन र दीर्घकालीन रूपमा धेरै ठूलो परिवर्तन ल्याउन सक्ने खालका पनि देखिन्छन् ।
बृहत चितवनको गुरुयोजना निर्माण, ठोरी नाका सञ्चालनका लागि उहाँले गरेको प्रयास, भरतपुरलाई महानगरपालिका बनाउन उहाँले खेलेको भूमिका, भरतपुर अस्पतालमा रहेको गुरुयोजनालाई समयसापेक्ष सुधार गरी अगाडि बढाइएका कदम, सप्तगण्डकी क्याम्पसमा शिक्षामा गरिएका सुधार जस्ता उहाँले अगाडि सारेका योजनाहरू चितवनमा सधैं चर्चा हुने विषयहरू हुन् ।

यसैगरी पर्यटकीय केन्द्र गणेशधाम र केरुङ्गा–पुंगी खोला सौन्दर्यकरणको समेत उहाँले परिकल्पना गरी काम अगाडि बढाउनुभएको छ । दासढुङ्गामा मदन–आश्रित पार्क र जलमार्ग निर्माणको काम नेता सुवेदीकै सोच अनुसार डीपीआर निर्माण गरिएको छ । भरतपुरमा निर्माणाधिन क्रिकेट रंगशालामा आर्थिक संकट भएपछि महायत्र लगाएर यसको आर्थिक समाधान गर्न पनि विजय सुवेदीलाई नै खोजियो । महायत्र मूल समारोह समितिको संयोजक भएर नै उहाँले यसको नेतृत्व लिनुभयो । यतिमात्रै होइन, चितवनको स्वास्थ्य रणनीति निर्माण गर्नेदेखि ‘चितवन दर्पण’ नामक ऐतिहासिक दस्तावेज तयार गर्ने नेतृत्वकर्ता पनि विजय सुवेदी नै हुनुहुन्छ ।
यसैले राजनीतिदेखि सामाजिक क्षेत्रसम्को नेतृत्वकर्ताका रुपमा चितवनले विजयलाई स्वीकारिसकेको छ । यसैले भरतपुरको नेतृत्व विजय सुवेदीलाई दिँदा फरक पर्दैन भन्ने जनभावना सामाजिक क्षेत्रका अगुवाको पनि छ ।

चुनावी एजेण्डा

भरतपुर महानगरपालिकामा विजय सुवेदीका चुनावी प्रतिबद्धता पृथक खालका छन् । उहाँ भन्नुहुन्छ–‘मेरो नेतृत्वमा वृहत चितवनको गुरुयोजना बनाएकै कारण अहिले चितवनको विकास यसैलाई मानक मानेर अगाडि बढेको छ । अब भरतपुर महानगरको नेतृत्वमा आएपछि पनि सर्वप्रथम म महानगरको गुरुयोजना बनाउँछु । यसैको आधारमा विकास गर्छु । यहाँका सबै नागरिकको अभिलेख कम्प्युटरमा राखेर उहाँहरुसँग आवश्यकता अनुसार सहकार्य गरेर आफ्ना कामलाई अगाडि बढाउँछु ।’
विजय सुवेदीले अगाडि सारेका सबै प्रतिबद्धता सरसर्ती अध्ययन गर्दा भरतपुर विकासको सम्भावना भएको महानगर हो । केही बाटाघाटा निर्माण भएकै भरमा यहाँ विकास भएको मान्न सकिन्न । महानगरमा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रको विकास समेत सँगसँगै भएको खण्डमा मात्रै विकासले गति लिन सक्छ । सुवेदीको काम गर्ने तरिका पनि यस्तै छ । स्थानीय निर्वाचनका क्रममा घरदैलोको क्रममा देखिएको उत्साह र बाँडिएको चुनावी एजेण्डाले पनि विजयलाई यस निर्वाचनमा सहज पनि बनाएको मान्न सकिन्छ ।

विवादरहित व्यक्तित्व

विजय सुवेदीले जति पार्टीमा रहेर काम गर्नुभो, कहिल्यै विवादित हुनुभएन । सामाजिक क्षेत्रमा पनि निर्विवाद ढंगले आफ्ना काम गरिराख्नुभयो । सामाजिक क्षेत्रमा काम गर्दा कहिल्यै पनि दोहोरो भूमिकामा रहनुभएन । यसले पनि उहाँलाई विवादरहित बनाउन सहयोग पु¥यायो । निष्ठाको राजनीतिलाई जीवन्तता दिंदै अगाडि बढ्नु भएका सुवेदीले जीवनभर लाभको पद लिनु भएन र जति सेवा गर्नु भएको छ, सबै निस्वार्थ भावले गर्नुभएको छ । यो राम्रो पक्षले पनि विजयलाई विजयी बनाउन सहयोग पु¥याउँछ ।

तर्कशील र अध्ययनशील

विजय सुवेदी हरेक घटना र ऐतिहासिक कुरासँग उत्तिकै जानकार हुनुहुन्छ । यी सबै विषयसँग तर्कसंगत ढंगले बहस गर्ने उहाँमा क्षमता छ । जति तर्क गर्न रुचाउनुहुन्छ, उति नै अध्ययन पनि गर्नुहुन्छ । ०२८ सालबाट बालकुमारी मावि नारायणगढ र २०३८ सालबाट वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा अध्ययन गर्नुभएका सुवेदीले त्रिविविबाट अर्थशास्त्र र इतिहासमा स्नातक र लुम्बिनी बौद्ध विश्वविद्यालयबाट बुद्धिज्ममा स्नातकोत्तर गर्नुभएको छ । उहाँ तर्कशील र अध्ययनशील भएका कारण पनि मतदाताको रोजाइमा हुनुहुन्छ ।

विपक्षीको अवस्था

भरतपुरमा विपक्षी उम्मेदवारको अवस्था र उहाँहरुले विगतमा गरेकाम काम जनताका लागि रुचीकर छैनन् । भरतपुर महानगरको निर्वाचनअघि रेणु दाहाललाई यहाँका जनताले चिनेकै थिएनन् । मेयर भइसकेपछि भरतपुर महानगरपालिकाको कार्यालय माओवादीको पार्टी कार्यालयजस्तै बनेको धेरैको गुनासो अझै पनि छ । स्वयम् एउटै गठबन्धनबाट उपमेयर जित्नुभएकी काँग्रसकी पार्वती शाह ठकुुरी लगायतका जनप्रतिनिधिहरु तत्कालिन मेयर रेणु दाहालको कार्यशैलीप्रति सन्तुष्ट थिएनन् । भरतपुरमा रेणुले भ्रष्टाचार गरेको र कार्यशैली ठिक नभएको बारे उपमेयर ठकुरीले काठमाडौँमा पत्रकार सम्मेलन गरेरै सार्वजनिक गरिसक्नुभएको छ ।
रेणुको नेतृत्वमा भएको भरतपुर महानगरको अपारदर्शी आर्थिक व्यवहार जनतासामू छर्लङ्गै छ । महानगरपालिकामा विकास भयो भनेर जसरी हौवा फिँजाइएको छ त्यो भन्दा डरलाग्दो चित्र त्यहाँभित्र भएको वेथितिको छ । महानगरमा हुने खरिददेखि विकास निर्माणको ठेक्कासम्मका सबै काम ‘सेटिङ’ मा गरिएको सार्वजनिक भएको छ । महानगरमा ऐन– नियम नै नबनाइ मनलाग्दी खर्च गरिएको छ भने कानुन विपरीत भत्ता वितरण गर्नेदेखि ठेक्का लगाउने र सामान खरिद गर्नेसम्मका काम भएका छन् । यो कुरा महालेखा परीक्षकको कार्यालयले महानगरको आर्थिक वर्ष २०७७÷०७८ को ९१ पृष्ठ लामो प्रारम्भिक आर्थिक प्रतिवेदनमा उल्लेख भएको विषय हो ।

संकिर्ण सोँच र असक्षम सचिवालयका कारण मेयर हुँदा रेणु दाहाल उनीहरुको घेराबन्दीभन्दा बाहिर जान सक्नुभएन र जनतासँग घुलमिल पनि हुनुभएन । अध्ययन, तर्कशील क्षमता र लोकप्रियता मापन गर्ने हो भने भरतपुर महानगरमा उम्मेदेवारी दिएका अन्य उम्मेदवार भन्दा रेणु दाहाल निर्क पछि पर्दै आउनुभएको छ । यी सबैको फाइदा विजयलाई नै छ ।

अब के होला त ?

माथि नै चर्चा गरियो, यतिबेला चर्चाको शिखरमा विजय सुवेदी नै हुनुहुन्छ । माथिका उल्लेखित आधारले विजयलाई मेयरमा चुनाव जित्न गाह्रो पनि छैन । तर यो त्यही महानगर हो, जहाँ यसअघि निर्वाचन जितिसक्नुभएका ‘जनताका मेयर’ देवीप्रसाद ज्ञवालीलाई हराइयो । फेरि उस्तै हतकण्डा भरतपुरमा नहोला भन्न सकिन्न । ‘रेणुका बा’ अर्थात् प्रचण्डले चितवनमा आएर दिएको धम्की ताजै छ–‘छोरीले चुनाव हारिन् भने देश दूर्घटनातर्फ जान्छ ।’
मतदानअघि नै यस्तो धम्की खाइसकेका भरतपुरबासीलाई कतिबेला के हुने हो ? भन्ने चिन्ता त छँदैछ । तर सहज परिस्थिति भएर मतदानदेखि मतगणना अवधिसम्म निष्पक्ष वातावरण भएछ भने चाहिँ जेठको पहिलो हप्ता भरतपुर महानगरपालिकाको मेयरको पदमा विजय सुवेदीलाई देख्न सकिनेछ ।

-हरिप्रसाद पोखरेल

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ३ : ०५ बजे