माओवादीका कार्यकर्ताद्वारा खुकुरी प्रहार, कांग्रेस कार्यकर्ताको अवस्था गम्भीर

रोल्पा – रोल्पाको गङ्गादेव गाउँपालिका–५ मा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच गए राति झडप भएको छ । झडपमा परी कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन् । 

    घाइते हुनेमा कांग्रेस तरुणदलका वडाध्यक्ष मानबहादुर बुढामगर र सोही वडाका २० वर्षीय कमल बुढामगर छन् । माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरी शक्त घाइते बनाएको कांग्रेस गङ्गादेव गाउँपालिकाका कार्यकर्ता सुनिल वलीले जानकारी दिनुभयो ।

     तरुणदलका वडाध्यक्ष बुढामगरको अवस्था गम्भीर छ । उहाँलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ । घटनापछि  प्रहरी नायब उपरीक्षक विनोद घिमिरे नेतृत्वको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थमन जिसीले जानकारी दिनुभयो । घटनाको थप विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो । 
 

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ८ : ३३ बजे