मकवानपुरमा निर्वाचनका लागि तीन हजार २०० सुरक्षाकर्मी परिचालन

बागमती । स्थानीय तह निर्वाचनअन्तर्गत मकवानपुरमा यही वैशाख ३० हुन गइरहेको स्थानीय निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउनका लागि तीन हजार २०० सुरक्षाकर्मी परिचालन गरिएको छ । 

 मकवानपुरमा १० स्थानीय तहको  निर्वाचनका लागि १६५ मतदानस्थल र ३५६ मतदान केन्द्र रहेकाले त्यसको सुरक्षाका  लागि  तीन हजार २०० सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । शान्तिपूर्वक निर्वाचन गराउनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी र नेपाली सेनासमेत परिचालन गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।

मकवानपुरमा  निर्वाचनका लागि प्रशासनद्धारा नेपाली सेना ५००, सशस्त्र प्रहरी ४००, नेपाल प्रहरी ९०० र म्यादी प्रहरी एक हजार ४०० परिचालित गरिएको हो । पहिलो घेरामा जनपद र म्यादी प्रहरी रहने छन् । दोस्रो घेरामा  सशस्त्र प्रहरी र तेस्रो घेरा अर्थात् मतदानस्थल वरिपरी नेपाली सेना परिचालन गरिएको छ ।

 सबै सुरक्षाकर्मी मतदान केन्द्रको सुरक्षा र गस्ती गर्ने लगायतको काम गर्ने बताइएको छ । नेपाल प्रहरी र म्यादी प्रहरी मतदान अधिकृत तथा सहायक मतदान अधिकृत र कर्मचारीसँग मतपत्र लगायतका सामग्री लिएर पठाउने तयारी सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले जनाएको छ । 

यस्तै जिल्लाका स्थानीय तहमा पठाउनुपर्ने निर्वाचन सामग्री पठाउने कार्य भइरहेको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकृत लुम्बनाथ पोखरेलले बताउनुभयो । मकवानपुरमा एक लाख ४९ हजार ९५४ पुरुष र एक लाख ४४ हजार ९५९ महिला तथा छ जना तेस्रो लिङ्गी गरी कूल दुई लाख ९४ हजार ९१९ मतदाता रहेका छन् । त्यसमा ६५ हजार ५४ नयाँ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  २ : ४२ बजे