एनपीएलको ट्रफी सार्वजनिक

विकास र समृद्धि : मुलुकको राजनीति

राजनीति मुलुकको शासन सत्ता सञ्चालन गर्ने मूल नीति हो । यो नै राज्य सञ्चालनको वैधानिक आधार हो । तसर्थ राजनीति जति शुद्ध र विकासमुखी हुन्छ नागरिकले लोकतन्त्रको फल त्यति नै बढी पाउन सक्दछन् । दलीय शासन पद्धतिमा राजनीतिको आधार स्तम्भ राजनीतिक दलहरू नै हुन्छन् । राजनीतिक दलहरू जति सबल, सुशासित र विकास प्रेमी हुन्छन् मुलुकको राजनीति त्यति नै सही दिशामा अघि बढ्न सक्दछ । 

बहुदलीय शासन व्यवस्थामा एकभन्दा बढी दलहरू अस्तित्वमा रहनु स्वाभाविक मात्र होइन अपरिहार्य नै छ । तर बहुदलीयताका नाममा च्याउ सरी दलहरू गठन गरी दलहरूको बिस्कुन सुकाउने र दलीय भागबन्डाका आधारमा भाग शान्ति गर्ने प्रवृत्ति किमार्थ राम् होइन । तसर्थ मुलुकको शासन व्यवस्था अब क्रमशः दुई दलीय शासन व्यवस्थातर्फ रूपान्तरित हुन आवश्यक छ ।

नेपालमा निकै लामो प्रतीक्षापछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीको नेतृत्वमा राजनीतिक स्थिरताको जग बनेको थियो । यो एकता र स्थिरताबाट विगतदेखि नै बिचौलिया र भाग शान्तिमा अभ्यस्त राजनीतिक दल तथा नेतृत्व, नाफाखोर व्यवसायी, तरमारा वर्ग तथा देशी विदेशी स्वार्थ समूहहरूको चित्त बुझेको थिएन । निकै सचेततापूर्वक हासिल गरिएको यो स्थिरताबाट विकास हुँदै जाने विधि, पद्धति र समृद्धिको धावनमार्गमा आफ्ना निहित स्वार्थका चुला नबल्ने निश्चित थियो। सधैँ “मै हुँ ” भन्ने नेताहरू नै छायामा पर्ने पनि पक्का थियो । तसर्थ बिचौलियापनमा भविष्य देख्ने यो वर्ग केपी ‌ओली र एमालेको विरोधी कित्तामा रहनु स्वाभाविकै हो । 

महाभारतमा अभिमन्युलाई जस्तै केपी ‌ओली र एमालेलाई चक्रव्यूहमा पार्ने र मुलुकको अस्थिरता र अविकास  कायमै राखेर रमाउने यो वर्ग अहिले अप्राकृतिक गठबन्धनका रूपमा, वर्तमान सरकारका गलत रवैया प्रति मूकदर्शक सञ्चार क्षेत्रका रूपमा, सिण्डिकेटधारी व्यवसायीका रूपमा, एमाले प्रति व्यक्तिवादी कुण्ठा पोख्ने नेता गण, तथाकथित बुद्धिजीवी वा समाजसेवीका रूपमा र टपरटुइँया अभियन्ताका आवरणमा मुखरित भइरहेको देखिन्छ । यो युग द्वापर युग होइन, तसर्थ स्वाभिमानी जनताले मिलेर समय मै चक्रव्यूह तोड्न सक्ने निश्चित छ ।

अर्थरहित स्याल हुइयाँले नेकपा एमालेको राष्ट्रवादी छवि एवम् समृद्धि र विकासमुखी आवाज रोक्न सक्दैन र सक्नु हुँदैन । यति बेला एमाले र ओली विरोधी एजेण्डामा एकाकार भई मोर्चा खडा गरेर जनताको समृद्धि र विकासको आशालाई निराशामा बदल्न कम्मर कसेर लागेको वर्तमान सत्ता गठबन्धन र स्वार्थ समूहहरूलाई भित्तामा पुर्‍याउन आवश्यक छ । 

पन्ध्र वर्षसम्म एमालेको एकछत्र नेतृत्वमा रही सबै सुविधा पाएर आम सदस्यहरूलाई धोका दिएर बाहिरिएको समूह र पाँच वर्षका लागि एउटै घोषणापत्र लिएर निर्वाचनमा गएको समूहको अर्को हिस्सा अहिले आफैँले प्रतिस्पर्धा गरेको राजनीतिक दलका टाङमुनि छिरेको छ । 

०६२/०६३ को आन्दोलनपछि संसद् पुनर्स्थापना हुँदा गिरिजाबाबुबाट माओवादीलाई एमाले बराबर सङ्ख्या दिएर एमालेको मनोबल घटाउने प्रयास भएको तथ्य सम्झनुपर्दछ। तत्कालीन एमाले महासचिव माधव नेपालले यस्तो प्रस्ताव सहजै स्वीकारेर एमाले प्रति मनोवैज्ञानिक घात गरेको किन रहेछ भन्ने प्रश्नको उत्तर आज मिलेको छ । प्रकारान्तरले यी दुवै शक्तिलाई नेपाली काङ्ग्रेसले एमालेको विरुद्धमा उपयोग गरिरहेको थियो, गर्दैछ र गरिरहने छ भन्ने सच्चाइ छर्लङ्ग भएको छ । नेपाली काङ्ग्रेसको यो क्षणिक सफलतामा बाहिरबाहिर बोक्रे विरोध र भित्रभित्रै खुसी बन्ने गगन र विश्वप्रकाश प्रवृत्ति पनि बेलैमा चिन्न सक्नुपर्दछ ।

यसैले आम वामपन्थी जनमत तथा मुलुकको स्थिरता, समृद्धि र विकासका भोका आम नागरिकले तथाकथित वामपन्थी दलहरूको रवैयालाई चिन्न र तिनको आत्मघाती व्यवहारलाई परास्त गर्दै र जनतामा बौरिँदै आएको आशा मर्न नदिन जरुरी छ । यसका लागि पनि स्थानीय तहको निर्वाचनमा देशैभर एमालेका सूर्य ध्वजावाहक उम्मेदवारहरूले विजय हासिल गरी स्थानीय सरकारको बागडोर हातमा लिन आवश्यक छ । 

मुलुकको समग्र विकास र युवा वर्गको स्वदेशमै सम्मानपूर्वक जीवनयापन गर्न पाउने चाहना पुरा गर्न पनि स्थानीय तह, प्रदेश र सङ्घीय सरकार सञ्चालन गर्ने अधिकार नेकपा एमालेलाई दिन र केपी ओलीलाई समृद्धिका अधिकार प्राप्त वाहक बनाउन होस्टेमा हैँसे गर्नु सबै सच्चा नेपालीको वर्तमान दायित्व बनेको छ ।

तसर्थ राष्ट्रवादी सङ्गठित शक्ति, विकास प्रेमी र न्याय प्रेमी समुदाय तथा शुभेच्छुक वर्गले विगतको आफ्नो फरक राजनीतिक संलग्नता वा लिगेसिभन्दा पनि माथि उठ्न सक्नुपर्दछ । अहिले आम मतदाताले नेकपा एमाले र केपी ओलीको दूरदर्शी नेतृत्वलाई निर्धक्क भई साथ दिँदै समृद्धिको सपना साकार पार्न योगदान गर्ने कर्तव्य पुरा गर्नु उचित देखिन्छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ८ : ११ बजे