काठमाडौँ – प्रतिनिधिसभा संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित न्यायाधीशद्वय डा कुमार चुडाल र नहकुल सुवेदीविरुद्ध सातवटा उजुरी परेको छ ।
सिंहदरबारमा आज बसेको समितिको बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वय डा चुडाल र सुवेदीविरुद्ध सातवटा उजुरी परेको जानकारी दिनुभयो । उहाँका अनुसार सात उजुरीमध्ये दुई उजुरी गोप्य रहेका छन् ।
न्याय परिषद्ले सर्वोच्च अदालतका लागि न्यायाधीशद्वय डा चुडाल र सुवेदीको नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिले उहाँहरु विरुद्ध कुनै उजुरी भएमा १० दिनका लागि उजुरी आह्वान गर्न समय दिएको थियो । उक्त १० दिन आज पूरा भएको छ । बैठकले उहाँहरुको उजुरी यही चैत २२ गते खोल्ने र उजुरीकर्ताको सुनुवाइ गर्ने समय तय गरेको छ भने यही चैत २५ गते प्रस्तावित दुवै न्यायाधीशको सुनुवाइ गर्ने तय गरेको छ । न्याय परिषद्ले गरेको सिफारिसमा संसदीय सुनुवाइ समितिले सुनुवाइ गर्ने संवैधानिक व्यवस्था छ । सोहीअनुसार डा चुडाल र सुवेदीको सुनुवाइ प्रक्रिया अगाडि बढिरहेको छ ।
प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार ३ : १८ बजे
प्रतिक्रिया