हुम्लामा पाँच जना महिला मतदान अधिकृत

हुम्ला । स्थानीय तह निर्वाचनका लागि हुम्लामा पाँच जना महिलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ ।

डिभिजन वन कार्यालयका प्रमुख रेनुका न्यौपाने सिमकोट गाउँपालिका–७ को टुलिङ मतदान केन्द्र, सहायक वन अधिकृत प्रतिमा पनेरु सिमकोट–६ को कालाशिल्ता मावि मतदान केन्द्र, राष्ट्रिय वाणिज्य बैङ्कका प्रबन्धक सविता शाही सिमकोट गाउँपालिका–३ को रलिङ मावि मतदान केन्द्र, स्वास्थ्य सेवा कार्यालयकी वरिष्ठ अनमी सरिता बोहरा नाम्खा गाउँपालिकाको मोतीराम प्रावि मतदान केन्द्र, नापी कार्यालयकी सुधा सापकोटा सिमकोट गाउँपालिका–५ को भीमसेन मावि मतदान केन्द्रको जिम्मेवारी पाउनुभएको छ ।

मतदानका लागि २१ प्रतिशत महिला परिचालन गरिएको र महिला मतदान अधिकृतको रूपमा खटिएका मतदान केन्द्रमध्ये चार वटा केन्द्रका लागि कार्यालय सहयोगीबाहेक अन्य सबै महिला कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले बताउनुभयो ।

सिमकोट–५ मा रहेको  भीमसेन मावि मतदान केन्द्रमा कर्मचारी, प्रहरी र म्यादी प्रहरी पनि महिला नै खटाइएको बताउनुभयो ।

निर्वाचनका लागि जिल्लामा २ सय ५४ जना कर्मचारी परिचालन गरिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ८ : ४७ बजे