देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

‘सन्तुलित र समावेशी विकास तथा मौलिकताको संरक्षण नै मुख्य एजेन्डा’

पाल्पाको रैनादेवी छहरा गाउँपालिका अध्यक्षका उम्मेदवार हुनुहुन्छ राम बहादुर राउत । राम बहादुर राउत पाल्पाली जनतामाझ सुपरिचित नाम हो । पूरा टिमसहित निर्वाचनमा जनताका आवश्यकता, तत्काल गर्नुपर्ने काम र यहाँ रहेका अवसरहरूबारे बुझ्दै आफू र आफ्नो सिङ्गो टिमलाई भोट माग्दै हिँड्नुभएका राम बहादुर राउतसँग गरिएको कुराकानी ः

यहाँको जन्म र शैक्षिक पृष्ठभूमि ? 
​​​​​​​मेरो जन्म वि.स. २०२४ असार १६ गते यसै पाल्पा जिल्लाको सोमादीको दिगमा (हाल रैनादेवी छहरा—२)भएको हो । मेरो प्रारम्भिक शिक्षा पनि यहीँ नै भएको हो । उच्च शिक्षाका लागि यहाँबाट करिब ३० कि.मी. टाढा रहेको आफ्नै जिल्लाको सदरमुकाम तानसेन गएको हुँ । सहरमा जीविकोपार्जन समेत गर्दै पढ्न सकिने भएकोले त्यहाँ गएको हुँ । समाजशास्त्र र ग्रामीण विकासमा स्नातकोत्तर गरेको  छु । अहिले ग्रामीण विकास विषयमा विद्यावारिधि (पीएचडी) को गरिरहेको छु । 

राजनीतिक सामाजिक पृष्ठभूमि नि ?
७—८ कक्षामा पढ्दादेखि नै राजनीतितिर झुकाउ भएछ । हाई स्कुलमा पढ्दा नै अनेरास्ववियुमा सङ्गठित भएर राजनीतिक यात्रामा अघि बढेको हुँ । त्यो आस्था निष्ठाबाट विचलित भएको छैन । निराशा, निष्क्रियता र कुण्ठालाई कहिल्यै ठाउँ दिइनँ । 

राजनीतिक आन्दोलनमा यहाँको संलग्नता र विकासमा सबैभन्दा ठुलो उपलब्धि के हो भन्ने लागेको छ ? 
नेकपा एमालेका हालका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ गठन हुँदा म त्यस भेलाको सहभागी हुँ । यसको गठन कालको अध्यक्ष कमरेड केपी ओली हो । म त्यति बेलाको पाल्पा जिल्ला अध्यक्ष हुँ । अहिले त्यो सङ्गठन नेपाली युवाहरूको मुटुको ढुकढुकी बनेको राष्ट्रिय युवा सङ्घ, नेपालको नामले परिचित छ । यसले नेपालको राजनीतिको उग्र वामपन्थी विचारका विरुद्ध सङ्घर्षमा विजय प्राप्त गरेको विषय सबैलाई थाहा छ । अहिले त्यो सङ्घ समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय सङ्कल्प पूरा गर्ने अभियानमा छ । थुप्रै नेता कार्यकर्ता यसले जन्माएको छ । यसप्रति गौरव गर्दछु । म त्यसको हिस्सा हुँ । अहिले म जहाँ छु, त्यसमा गर्व गरेको छु । 

यतिबेलाको राजनीतिक जिम्मेवारी ? 
निरन्तर रूपमा राजनीतिमा सक्रिय छु । यसअघि नेकपा (एमाले) को जल तथा ऊर्जा विभागमा रहेर काम गरेको थिएँ । हाल लुम्बिनी प्रदेश कमिटीको सदस्य छु । 

नेपालको कम्युनिष्ट कम्युनिष्ट आन्दोलनका नवीन विचारक, जनताको बहुदलीय जनवादका सिद्धान्तकार मदन भण्डारीका विचार तथा योगदानहरूबाट जनता, समाज राष्ट्रलाई निरन्तर लाभान्वित गराइरहने उद्देश्यका साथ स्थापित मदन भण्डारी फाउण्डेशनका गतिविधिहरूमा संलग्न रहँदै आएको छु । हाल मदन भण्डारी फाउण्डेशनको केन्द्रीय सदस्य छु । 

अरू क्षेत्रका अनुभव ? 
राजनीतिक सङ्गठन निर्माण, वैचारिक प्रशिक्षण गर्न, सामाजिक अभियानहरू सञ्चालन गर्न, रणनीतिक योजनाहरू तर्जुमा गर्ने अनुभव रहेको छ । नेपाल प्रशंसनीय दृष्टिकोण राष्ट्रिय सञ्जालको संस्थापक अध्यक्ष, गैरसरकारी संस्था महासङ्घ नेपालको पश्चिमाञ्चल इञ्चार्ज भएर काम गरेको, कानुन व्यवसायीको रूपमा काम गरेको छु । 

लेखहरू लेखहरू लेखेको छु, पुस्तकहरू प्रकाशित छन् र केही प्रकाशनको क्रममा छन् । खानेपानी, सडक, नगर विकास, शिक्षा, सामाजिक सशक्तीकरण, समावेशी विकास, स्वास्थ्य, वन तथा वातावरण संरक्षण, वैकल्पिक ऊर्जा, कृषि उत्पादन र दिगो विकासका क्षेत्रमा काम गरेका अनुभव छन् । यिनै मेरा  अनुभवका क्षेत्र हुन् ।

तालिम, गोष्ठी, अध्ययन—अवलोकनका लागि अमेरिका, फिलिपिन्स, श्रीलङ्का, बङ्गलादेश, भारत भ्रमण गरिसकेको छु । 

अध्यक्षमा विजयी भएपछि के गर्ने सोच छ त ? 
हामी टालटुले, टुक्रे विकासमा अल्झिने छैनौँ, समग्र विकास, सन्तुलित वितरण, सामाजिक न्याय, समावेशी सहभागिता, मौलिकता प्रवर्द्धन गर्ने गरी विकास गर्छौँ ।

कसरी गर्नुहुन्छ त ? 
म एक्लै हिँड्दिनँ । मसँग योग्य र अनुभवी टिम छ । सामाजिक क्षेत्रको अनुभवी, शिक्षित, राजनीतिक क्षेत्रमा क्रियाशील उपाध्यक्ष हुनुहुन्छ । वडाध्यक्ष र सदस्यहरू पनि पाका अनुभवी र नयाँ जोस जाँगर भएका युवाहरू हुनुहुन्छ । हाम्रो टिम उमेर, अनुभव, समुदाय, लिङ्ग, क्षेत्र, शैक्षिक योग्यता हरेक हिसाबले समावेशी छ । यस क्षेत्रका मौलिकता हाम्रा विशेषता हुन् । अनेकौँ परम्परागत सीप र संस्कृतिका धनी जाति—जनजाति रहेको यो गाउँपालिका देशकै नमुना गाउँपालिका बन्न सक्छ । यो सम्भावनालाई साकार पार्न हामीसँग विचार छ, योजना छ, क्षमता छ, अनुभव छ ।

निर्वाचन जित्ने आधार के हुन् त ? 
मैले यसअघि पनि भनिसकेको छु  । ती बाहेक भन्नुपर्दा हामी नेतृत्वमा नरहँदा पनि जनताका बीचमा रह्यौँ, सुख र दुःखमा साथै रह्यौँ । गुनासा सुनेका छौँ, आवश्यकता बुझेका छौँ । विगतमा यहाँ हाम्रो नेतृत्व थिएन, त्यसैले ती गुनासा पनि हामीप्रति होइन । अबको नेतृत्वका हिसाबले हामी ती पुराना कुरा बिर्सन र नयाँ ढङ्गले अघि बढ्न जनतासमक्ष अनुरोध गर्दछौँ ।

पार्टीको अवस्था के छ ? नेतृत्वको सहयोग के कस्तो छ ? 
हाम्रो नेतृत्वले हामीलाई विश्वास गरेको छ । यहाँ पार्टी एक ढिक्का छ । कसैबाट दायाँ बायाँ हुँदैन, किन भने चुनाव त फेरि पनि हुन्छ र राजनीतिक रोग त दीर्घ रोग हुन्छ भन्ने हामी सबैलाई थाहा छ नि ! राजनीति गर्नेहरू भविष्य हेर्छन्, वर्तमानमा मात्र भुल्दैनन् । राजनीतिक भविष्य भएका सचेत नेतृत्व पङ्क्ति भएकोले हामी पार्टीले जित्ने कुरामा ढुक्क छौँ । तर, अनुरोध, सम्मान र प्रतिबद्धता व्यक्त गर्न जनतासमक्ष पुग्नुलाई कर्तव्य ठानेर सबै मतदाताका घर घरमा पुगेका छौँ । 

 

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ७ : ४० बजे