एमालेको जागरणसभामा जे देखियो…

एमालेको जागरणसभामा जे देखियो…

सूर्य विनायक नगरपालिका भित्रका सबै महिलाको साँझा उम्मेदवार म मात्र हो : सरिता भट्टराई 

​​​​​​​भक्तपुरको सूर्यविनायक नगरपालिकाको उपप्रमुख पदमा उठ्नु भएकी सरिता तिम्सिना भट्टराई एक जुझारु महिला हुनुहुन्छ । २०२७ सालमा बुवा रामकृष्ण राज तिम्सिना र आमा अन्जला तिम्सिनाको दोस्रो सन्तानका रूपमा जन्मिनुभएकी सरिताले अर्थशास्त्रमा स्नातक गर्नुभएको छ । सामाजिक कार्यमा रुचि राख्नु हुने सरिताले २०६४ सालमा भक्तपुरबाट नेकपा एमालेको सदस्यता लिनुभएको थियो । उहाँ हाल भक्तपुर जिल्ला कमिटी सदस्य हुनुहुन्छ । वाल कोट वडा कमिटी अध्यक्ष , बुद्धिजीवी परिषद्, भक्तपुर जिल्ला कमिटी सदस्य , अखिल नेपाल किसान महासङ्घ , उपत्यका सहकारी विभाग सदस्य सहित करिब १४ हजार सहकारी संस्था आबद्ध रहेको राष्ट्रिय सहकारी बैकको सञ्चालकको जिम्मेवारीमा समेत उहाँले काम गरिसक्नुभएको छ । एकातिर सत्तारुढ गठबन्धन र अर्को तिर नेकपा एमाले एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिरहेको सन्दर्भमा एमालेको चुनावी तयारी र जितका आधारबारे चक्रपथकर्मी आशिष पौडेलले घरदैलो अभियानका क्रममा रहनुभएकी भक्तपुरको ​​​​​​​सूर्य विनायक नगरपालिकाको उपप्रमुख पदकी उम्मेदवार सरिता तिम्सिना भट्टराईसँग गरेको कुराकानी :–

निर्वाचनको सन्निकट हुनुहुन्छ, उपमेयरको उम्मेदवार हुनुहुन्छ, आफ्नो चुनावी अभियानहरू कसरी सञ्चालन गरिरहनु भएको छ ?

चुनावी अभियानमा हामी जोड तोडका साथ लागेका छौ । अहिले हामी घर दैलो अभियानमा छौ । प्रत्येक वडामा बिहान ७ बजेदेखि ११ बजेसम्म परिचय सहित घरदैलो गर्दै छौ । नगर बासीहरूलाई भेट्ने, उहाँहरूका सुझाव लिने, विभिन्न सङ्गठनहरूले गरेका कार्यक्रममा सहभागी हुँदै सुझावहरू सुन्दै निर्वाचनका कार्यक्रमहरूलाई अगाडी बढाइरहेका छौ । 

तपाईँको जित्ने आधारहरू के के हुन् ?

जित्ने आधार सूर्य विनायक नगरपालिकामा आफै बनेको छ । एउटा आधार भनेको २०७४ सालमा भएको स्थानीय तहको निर्वाचन पश्चात् भए गरेका यहाँका विकास निर्माणहरू नै हुन् । त्यो बेलामा नेकपा एमालेको प्रमुख, उपप्रमुखसहित सात वटा वडा जितेको थियो ।त्यो विजयपश्चात् जनताका आधारभूत आवश्यकताहरू पुरा गर्ने गरी हामीले विभिन्न पूर्वाधारका कामहरू, बाटो बनाउने, पुल बनाउने, बनिरहेका बाटोमा पिच गर्ने लगायतका विकास निर्माणका कामहरू उक्त टिमले गर्‍यो त्यो नै एउटा हाम्रो जितको मूल आधार हो । जनताका आवश्यकता भनेकै सडक, ढल, पुल, खानेपानी लगायतका पूर्वाधार विकास नै रहेछन् । अर्को जित्ने आधार भनेको अहिले जनताले नै नेकपा एमाले आहोस् भनेर रुचाइरहेका छन् । उहाँहरूले के सोच्नु भएको छ भने नेकपा एमालेले जनताको भावना बुझ्छ नेकपा एमालेले युवालाई समेट्छ, नेकपा एमालेले महिलालाई समेट्छ, नेकपा एमालेले ज्येष्ठ नागरिकहरूलाई समेट्छ र उहाँहरूको भावनालाई समेटेर त्यस अनुसार योजना बनाएर काम गर्ने गर्दछ भन्ने छ । त्यसैले नेकपा एमाले आउँ यो नगरपालिकाको विकास गर भन्ने उहाँहरूको माग छ । जनताको त्यही माग र चाहाना नै हाम्रो जितको अर्को दरिलो आधार हो । 

अब उपमेयर भएपछि के गर्नुहुन्छ ?

पहिला त संविधानले उपमेयरलाई दिएको प्रमुख काम भनेको न्यायिक समितिको प्रमुख भएर काम गर्ने भनेको छ । मेरो जित भयो भने यहाँका आम नगरवासीलाई सहज ढङ्गले न्याय दिने काम नै मेरो प्रमुख काम हुनेछ । त्यसै गरी योजना बनाउने, बजेट बनाउने, अनुगमन गर्ने, सुपरिवेक्षण गर्ने कामहरू छन् ती संविधानमा लेखिएका कामहरू छन् ती कामहरू गर्ने । एनजिओ, आई एनजिओसँग समन्वय गरेर कामहरू गर्ने, अन्य तोकिएका कामहरू बाहेक यस नगरमा बस्ने नगरवासीहरूले के आवश्यक ठान्नु हुन्छ, उहाँहरूले के चाहियो भन्नु हुन्छ ती कुरामा चासो लिएर म गर्छु । जस्तो युवाहरूको आवश्यकता के हो ? त्यसका लागि हामी पहिला उहाँहरूसँग बस्छौ, उहाँहरूसँग सुझाव लिन्छौ अनि आवश्यकताको पहिचान गरी त्यस अनुसारको योजना अगाडी बढाउँछौ । अहिले हाम्रो एजेन्डा भनेकै नगरवासीको चाहाना, अपेक्षा र आवश्यकता नै हाम्रो एजेन्डा बनेर जानु पर्छ भन्ने छ । नगरवासीले मैले मागेको कुरा मैले पाए भन्ने होस् भनेर हामी  नगरवासीबाटै योजना लिने र त्यही अनुसार काम गर्ने काममा सधैँ लागिरहने छौ । त्यसै गरी महिलाहरूलाई कसरी आत्मनिर्भर बनाउने ? कसरी आर्थिक रूपमा उहाँहरूलाई सम्पन्न बनाउने ? आर्थिक स्रोतमा उहाँहरूको कसरी पहुँच पुर्‍याउने भन्ने लगायतका विषयमा हामी योजना बनाई तत् अनुरूप कार्य गर्नेछौ । त्यति बाहेक यहाँका फरक फरक विषयमा ज्ञान हुनुभएका बुद्धिजीवीहरू हुनुहुन्छ उहाँहरूलाई हामी थिंक ट्याङको रूपमा अथवा नलेज बैङ्कको रूपमा समय समयमा उहाँहरूसँग अन्तरक्रिया गरेर यो नगरलाई समृद्ध बनाउने काममा हामी लाग्छौ । ज्येष्ठ नागरिकहरूका आमा बुबाहरूका लागि के गर्ने त्यो गर्छौ । व्यक्तिसँग जोडेर यहाँका पूर्वाधारहरूको विकास गर्छौ भन्ने योजना छ । 

तपाइहरू विरुद्ध गठबन्धन बनेको छ यस्तो अवस्थामा जित कत्तिको सहज देख्नु हुन्छ ?

नेकपा एमालेको प्रतिनिधित्व गर्दै सूर्य ध्वजावाहक चुनाव चिन्ह लिएर हामी निर्वाचनमा होमिएका छौ । गठबन्धनसँग हामलाई कुनै पनि किसिमको डर छैन । सूर्य विनायकमा एमालेको जित्ने आधार  भनेको संविधानले तोकेको प्रमुख वा उपप्रमुखमा एक जना महिला उम्मेदवार अनिवार्य हुनु पर्ने कुरा एमालेले पालना गरेको छ । गठबन्धन दलहरूले दुवै पदमा पुरुषहरूलाई उठाएर महिला प्रतिनिधित्वको संविधान सिद्ध उक्त हकलाई कुण्ठित पार्ने काम गरेका छन् । त्यसैले मलाई सम्पूर्ण महिलाहरूले प्रमुखमा जो सुकै आए पनि महिलाहरूको प्रतिनिधित्व गर्ने मैलै मात्रै हो भनेर मलाई नै भोट हाल्ने कुरा गर्नु भएको छ । गठबन्धनमा आवद्घ दलहरूका महिलाहरूले समेत मलाई नै आफ्नो प्रतिनिधि देख्नु भएकोले मेरो जित  उसै पनि सहज भएको छ । अर्को कुरा गठबन्धन भित्र आफैमा पनि किचलो छ । उहाँहरूको तालमेल राम्रोसँग हुनै सकिरहेको छैन । आआफ्नो स्वार्थ पुरा गर्न गठबन्धन गर्नुभयो तर एक अर्काको चाहाना विपरीत टिकट बाँडफाँड भएसँगै उहाँहरू आफू आफैमा रुष्ट हुनुहुन्छ । हाम्रो जित्ने आधार भनेको उहाँहरूको तालमेल नमिल्नु पनि हो भन्ने मलाई लागेको छ । 

तपाइको आफ्नै पार्टी नेकपा एमाले चाहिँ कत्तिको एकतावद्घ छ, टिकट नपाएर भित्रभित्र विभाजित त छैन ? 

एमाले एउटा सशक्त पार्टी हो यो एकतावद्घ नभई कहिल्यै अगाडी बढ्दैन । सूर्य विनायकको एमाले एकमना एकताको साथ एक ढिक्का भएर अगाडी बढिरहेको छ । चुनावमा उम्मेदवारीको समयमा धेरैको इच्छा आकाङ्क्षाहरू देखिने गर्छन् । त्यो बेला सबैले आफ्ना इच्छा आकाङ्क्षाहरू र दाबी प्रस्तुत गर्नुभयो । त्यो बेला धेरैले चाहाना राख्ने र त्यो मध्येबाट केहीले मात्र टिकट पाउने हुँदा नपाउनेलाई नमज्जा लाग्नु स्वभाविक पनि हो । मेरो चाहाना थियो मैलै पाइन भनेर मन दुखाउनु स्वभाविक नै हो । तर पार्टी स्टिममा भएकाले अहिले समेटिएकाहरूलाई पनि समेटेर लाने, अर्को पटक पालो दिने भन्ने हुन्छ । फेरी आजका दिनसम्म आउँदा हामीले हिजो नमिठो लागेका कुराहरूलाई त्यही छोडेर उहाँहरू आफै पार्टीलाई जिताउनका लागि झन् बढी कटिबद्ध भएर पार्टी जिताउने अभियानमा लागिसक्नु भएको छ । त्यसैले सुर्यबिनायकको एमाले एकतावद्घ छ । एमाले भनेको एकतावद्घ भएर सँगसँगै मिलेर काम गर्नुपर्छ भनेर भन्नेहरूको पार्टी हो, हामी सबै एकजुट भएर लागेका छौ त्यही भएर चुनाव पनि हामीले जित्छौ । 

 

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ६ : २७ बजे