हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

एमाले सचिवालय बैठक बस्दै

पोखरामा समृद्धिको जग बसेको छ : उपमेयर गुरुङ

पोखरा । पोखरा महानगरपालिकाका निर्वतमान उपमेयर मञ्जुदेवी गुरुङले महानगरको समृद्धि टाढा नभएको बताउनु भएको छ ।

पाँच वर्षमा पोखरामा संघियता कार्यान्वयन र समृद्धिको जग बसेकाले समृद्धिको यात्रामा महानगर अगाडि बढेको उहाँको भनाइ छ । दोस्रो पटक उममेयरमा उम्मेदवारी दिनुभएकी गुरुङले महानगर बनेपछि पहिलो पटक निर्वाचित जनप्रतिनिधिले जिम्मेवारी सम्हालेपछि देखिने गरी महानगरमा काम भएको बताउनु भयो । ‘जनताले देख्ने र अनुभूति गर्ने गरी यो पाँच वर्षमा धेरै काम गरेका छौं’, गुरुङले भन्नुभयो,‘ हामीले जनतासामु गरेको प्रतिवद्धता अनुरुप बाँकी रहेको काम अबको कार्यकालमा पूरा गर्छौ ।’

भौगोलिक रुपमा देशकै ठूलो महानगरपालिका र यसको भिन्न भिन्न भौगोलिक विशेषता भएकाले सोही अनुसार योजना बनाएर काम गरिएको गुरुङको भनाइ छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकामा नेकपा एमालेबाट प्रमुखमा मानबहादुर जिसी र उपमेयरमा मञ्जुदेवी गुरुङसहित ३३ वटा वडा मध्ये २२ वटा वडामा एमालेका वडाध्यक्ष निर्वाचित भएका थिए । २०१५ सालमै नगर घोषणा भएको पोखरा, २०३१ सालमा विस्तार भएको पोखरा, २०५४ सालको लेखनाथ नगरपालिका र २०७३ सालमा गाभिएका १० गाविस मिलेर महानगर बनेको हो । ‘भूगोल अनुसार जनताका चाहना पनि फरक फरक छन्’ उहाँले भन्नुभयो,‘ जनताको इच्छा, चाहना र आवश्यकता अनुसार पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरेका छौं, यो पोखरेली जनतासमक्ष छर्लंग छ ।’

विकटलाई निकट ल्याउन २७ वटा कनेक्टिङ सडक निर्माण गरिएको र ती सडक मध्ये केही कालो पत्रे भएका छन् भने केहीमा १२ महिना सवारी साधन चल्ने अवस्था रहेको गुरुङले जानकारी दिनुभयो ।

पाँच वर्षको अवधिमा पूर्वाधारलाई जोड दिएर आधुनिक र प्रविधि युक्त वडा कार्यालय भवन निर्माण गरिएको उहाँको भनाइ छ । गुरुङका अनुसार संस्थागत रुपमा शिक्षा, स्वास्थ्य, खानेपानी, सामाजिक सुरक्षाका क्षेत्रमा महत्वपूर्ण काम भएका छन् । ज्येष्ठ नागरिक, बालकालिका, र विपन्न असहायहरुलाई सहयोग गर्ने गरी महानगरले काम गरेको गुरुङले बताउनुभयो ।

फोहोर व्यवस्थापन गर्न ल्यान्डफिल साइट निर्माणको लागि जग्गाको निर्धारण, सहरका चोकहरु फराकिलो पारिएको, पार्कहरु निर्माण लगायत थुप्रै कामहरु भएको उहाँले बताउनुभयो । ‘पहिलो वर्ष कानुन निर्माणपछि दोस्रो वर्षमा कामले गति लिनै लाग्न कोरोनाले असर ग¥यो,’ उहाँले भन्नुभयो,‘ त्यसका बावजुद पनि हामीले देखिने गरी काम गरेका छौं, यसको मुल्यांकन पोखरेली जनताले गर्नुहुनेछ ।’ गुरुङका अनुसार सहरका सडकमा अस्फाल्ट प्रविधिको पीच गरिएको र आफ्नै लगानीमा मोटेरेबल पुल निर्माण भएका छन् । जनतालाई घर आँगनमै सेवा प्रवाह गर्न वडा कार्यालयलाई अधिकार युक्त बनाइएको बताउँदै उममेयरका उम्मेदवार गुरुङले जनतालाई सुशासनको प्रत्याभूति दिलाउन हरसम्भव प्रयास गरिएको बताउनुभयो ।

विपन्न र असहायलाई उद्यामसँग जोडेर रोजगार र स्वरोवजगार बनाउन उपमेयरसँग महिला कार्यक्रम सञ्चालन गरिएको र त्यो कार्यक्रम निकै प्रभावकारी भएको उहाँको भनाइ छ । जनतालाई सुलभ र छिटो छरितो न्याय दिन महानगरको न्यायिक समितिले प्रभावकारी ढंगले काम गरेको र देशमै उदाहरणीय भएको उहाँको भनाइ छ । महानगरमा हप्तामा २ दिन इजलास बस्ने गरेको उहाँले सुनाउनु भयो । गुरुङको नेतृत्वमा पोखरामा गत चैत १४ गते न्यायिक समितिको राष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न भएको हो ।

सार्वजनिक निजी साझेदारी अवधारण स्थापित गरी केही परियोजनाहरु कार्यान्वयनका चरणमा पुगेको उहाँको भनाइ छ । समृद्ध महानगर बनाउने जग बसेकाले अघिल्लो निर्वाचनमा जनतासँग गरेको प्रतिवद्धता अनुसार बाँकी रहेका कामलाई अब पूरा गरी छाड्ने अठोट गुरुङको छ । पोखरालाई नेपालको प्रमुख पर्यटकीय गन्तव्य बनाउने योजना पनि अगाडि सारिएको गुरुङले बताउनुभयो ।

निर्वाचित भएपछि पाँच वर्षमा पूरा हुन नसकेका पूर्वाधार निर्माणका काम, भौतिक र मानवीय विकासलाई ध्यानमा राखेर काम गर्ने उहाँको भनाइ छ ।

२०७४ को स्थानीय तह चुनावमा मञ्जुले ५६ हजार ४ सय ४८ मत पाउँदा नेपाली कांग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३ सय ३८ मत पाउनु भएको थियो । यस पटक २० हजार मतान्तरले जित्ने मञ्जुको दाबी छ । ‘पहिले ६० हजार हारहारीमा मत ल्याएर विजयी भयौं, यस पटक ८० हजार भोट ल्याएर २० हजार मतान्तरले हामी चुनाव जित्छौँ,’ उहाँकोे दाबी छ ।

नेकपा एमालेले पोखराको मेयरमा कृष्ण थापा र उममेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ । थापा यस अघि उपमहानगर हुँदा २०५४ सालमा मेयरमा निर्वाचित हुनु भएको हो ।

गुरुङको राजनीतिक यात्रा

२०३६ सालको विद्यार्थी आन्दोलनबाट उहाँ प्रभावित हुनु भएको हो । २०१८ साल मंसिर १६ गते जन्मनु भएकी गुरुङको २०३८ सालमा विवाह भयो र राजनीतिमा क्रियाशील हुन पाउनु भएन । उहाँले पर्वत आर्थर डाँडाखर्कका मेखबहादुर गुरुङसँग विवाह गर्नुभयो । विवाह भएको ११ वर्षपछि ०४९ साल साउनमा श्रीमान्को जहाज दुर्घटनामा परेर निधन भयो ।

मञ्जुदेवी नेकपा एमालेमा संगठित भएको भने साढे दुई दशक अघिदेखि नै हो । ०५५ मा वडा कमिटीबाट उहाँ राजनीतिमा प्रवेश गर्नुभएको हो । तर, त्यो भन्दा अघि नै एमालेको महिला संगठन अखिल नेपाल महिला (अनेम) संघमा उहाँ आवद्ध हुनु भएको थियो । २०५० मै अखिल नेपाल महिला संघको सदस्यता लिएको मञ्जुले बताउनुभयो । उहाँ अहिले नेकपा एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँले अखिल नेपाल महिलासँग र पाटीका विभिन्न तहमा रहेर काम गरिसक्नुभएको भने उहाँ विभिन्न सामाजिक संस्थामा पनि आवद्ध हनुहुन्छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ३ : १६ बजे