पोखरालाई सभ्य र सुसंस्कृत सहर बनाउने थापाको योजना

काठमाडौँ  । नेकपा एमालेले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिको मेयर पदमा कृष्ण थापालाई उम्मेदवार बनाएको छ । 

२०५४ सालमा साबिक पोखरा उपमहानगरपालिकाको प्रमुख भएर कार्य अनुभव बटुलेर  सफल भइसक्नुभएका थापालाई स्थानीय तह निर्वाचन २०७९ मा एमालेले मेयरको उम्मेदवार बनाएको हो । 

२०७४ सालको प्रदेशको निर्वाचनमा कास्की २ (क)बाट थापा प्रदेश सांसदमा निर्वाचित हुनुभएको थियो । पार्टीले मेयरको उम्मेदवार बनाउने भएपछि सांसद पदबाट राजीनामा दिएर थापा मेयरको चुनावी मैदानमा उत्रिनुभएको छ । 

विगत चार दशकदेखि राजनीतिमा सक्रिय थापा जुझारु, निर्भिक, हक्की स्वभावका अनुभवी नेता हुनुहुन्छ । नागरिकतामा नाम कृष्णबहादुर थापा भए पनि पोखरेलीले उहाँलाई कृष्ण थापा र ‘मेन अफ एक्सन’ का रूपमा चिन्ने गरेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर १६ निवासी थापा ‘हाम्रो अभिभारा, स्वच्छ, सुन्दर पोखरा’ भन्ने मूल नीतिलाई कायम राख्दै सभ्य र सुसंस्कृत नागरिकहरूले बसोबास रहेको र आर्थिक रूपमा सबल पोखरा महानगर बनाउने लक्ष्यका साथ चुनावी प्रतिस्पर्धामा उत्रनुभएको छ ।

पिता खिमबहादुर थापा र आमा सुकमाया गुरुङ थापाको सन्तानको रूपमा २०१६ साल चैत १६ गते जन्मेका थापाले २०४१ साल भदौमा २९ गते तत्कालीन नेकपा मालेको सदस्यता प्राप्त गरेयता निरन्तर पार्टीको काम र जनताको सेवामा क्रियाशील हुनुहुन्छ । २०३५—३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित भएर थापा राजनीतिमा लाग्नुभएको हो । थापाले २०५१ सालमा पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष, २०७१ सालमा राष्ट्रिय ताल समिति सदस्य, नेपाल नगरपालिका सङ्घको केन्द्रीय सचिवालय सदस्य भएर २०५५—२०७३ सम्म काम गर्नुभएको थियो ।

नेपाली, अङ्ग्रेजी, हिन्दी भाषा बोल्न सक्ने थापाले चिकित्सा शास्त्र विज्ञान संस्थान सुर्खेतबाट सीएमए र पोखराको पृथ्वीनारायण क्याम्पसबाट बि एड उत्तीर्ण गर्नुभएको छ । थापाका श्रीमती डिकी छिरिङ थापा र छोरा प्रतीक थापा छन् । गीति लेखनमा समेत चासो राख्ने थापाको स्वीकृति एल्बम प्रकाशित भएको छ । थापाले बङ्गलादेश, भारत, सिंगापुर थाइल्यान्ड, मलेसिया, फिलिपिन्स, कम्बोडिया, भियतनाम, जापान, दक्षिण कोरिया, इरान, बराइन, कतार, चीन, अमेरिका, बेलायत, बेल्जियम र जर्मनीको भ्रमण गर्नुभएको छ । भौतिकवादमा विश्वास गर्ने थापाले नेपालको विशेषतामा आधारित वैज्ञानिक समाजवाद निर्माण गर्ने लक्ष्य राख्नु भएको छ । सादा जीवन उच्च विचारका थापाले कार्ल मार्क्स, अब्राहम लिङ्कन र मदन भण्डारीलाई आदर्श व्यक्तित्वको रूपमा लिने गर्नुभएको छ ।

राजनीति यात्र
​​​​​​​२०३७ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको सदस्य भएपछि उहाँको राजनीतिक यात्रा सुरु भएको हो । २०३८ सालमा पार्टीको एकताको पाँचौँ राष्ट्रिय सम्मेलनको प्रतिनिधि भएका थापा २०३९ देखि एक वर्ष चिकित्सा शास्त्र अध्ययन संस्थान, सुर्खेतको स्ववियु सहसचिव हुनुभयो ।

२०४० मा अखिल नेपाल चिकित्सा सहायक सङ्घको संस्थापक सचिव भएका थापा २०४१ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियु सदस्य निर्वाचित हुनुभयो । २०४१ सालमा अनेरास्ववियु कास्कीको छैटौँ जिल्ला कमिटीको अधिवेशनबाट जिल्ला कमिटी अध्यक्ष चुनिएका थापाले २०४३ को जन पक्षीय चुनाव परिचालन कमिटी संयोजकको जिम्मेवारी सम्हाल्नु भएको थियो । थापाले २०४३ मङ्सिरदेखि २०४६ पुससम्म जेल जीवन बिताउनुभएको थियो । तत्कालीन पञ्चायत राजकाज मुद्दामा पोखरा, दमौली र गोरखा गरी २९ महिना जेल जीवन बिताउनु भएको थियो ।

२०४८ सालमा जन सांस्कृतिक मञ्च पोखराको संस्थापक नगर अध्यक्ष बनेका थापा २०४९ सालमा नेकपा एमाले जिल्ला कमिटी कास्कीको सचिवालय सदस्य बन्नुभयो । २०५२ सालमा नेकपा एमालेको प्रथम नगर अधिवेशनबाट सचिव निर्वाचित हुनुभएका थापा त्यसको दुई वर्षपछि भएको चुनावमा तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर हुनु भयो ।

२०६५ सालमा नेकपा एमाले कास्कीको सचिव भएका थापा २०७० सालमा नवौँ कास्की जिल्ला कमिटीको अधिवेशनबाट अध्यक्ष निर्वाचित हुनुभयो । २०७८ सालको मङ्सिरमा चितवनमा भएको नेकपा एमालेको दसौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित थापा कास्की जिल्लाका सह इन्चार्ज समेत हुनुहुन्छ । थापा अहिले पोखरा महानगरको मेयर बन्ने दौडमा हुनुहुन्छ । पोखराको प्रमुख बनेको अनुभव र प्रत्यक्षतर्फ प्रदेश सभा सांसद जितेको अनुभव बटुलेका थापाले चुनाव जित्नेमा ढुक्क हुनुहुन्छ ।

 

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ७ : ५३ बजे