हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

‘पहुँच होइन आबश्यकता हेरेर पूर्वाधार विकास गर्छु’

ललितपुर। स्थानीय तह निर्वाचन एक साता बाँकी रहँदा ललितपुरको गोदावरी नगरपालिका प्रमुखका उम्मेदवार गम्भीरबहादुर राना आफू निर्वाचित भएपछि पहुँचका आधारमा नभएर आबश्यकताका आधारमा विकास गर्ने प्रतिबद्धता गर्दै नगरबासीका घरघरमा मत माग्न गइरहनुभएको छ ।

पटक पटक जनप्रतिनिधिका रुपमा नागरिकको काम गर्दै आउनुभएका उहाँ नेकपा एमाले मात्रै होइन, आम नगरबासीका लागि परिचित र लोकप्रिय हुनुहुन्छ । पालिकाका १४ वटै वडामा विगतमा पहुँचका आधारमा विकास कार्यक्रम हुने गरेकामा अब आबश्यकताका आधारमा गर्ने उहाँको योजना छ । आफूले सबै नगरबासीलाई समानरुपमा व्यवहार गर्र्ने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको छ ।

पहुँचवाला विकास बन्द गरेर अब आबश्यकताका आधारमा विकासका योजना अघि बढाइने उहाँको योजना छ । नगरपालिकामा सबै वडामा एकनाशले वा प्रमुख र उपप्रमुखको इच्छाअनुसार रकम छुट्टाउने हुँदा समानुपातिक विकास नहुने हुँदा आबश्यकता हेरेर त्यसलाई नै बजेट बिनियोजनको आधार बनाउन लागिएको हो । सुगम वडामा कति र दुर्गममा के, कस्ता र कति आबश्यकता छ हेरेर त्यसैका आधारमा योजना बनाइने छ । सुगम वडामा एकाथरि समस्या होला भने दुर्गममा फरक हुनसक्छ, त्यहाँको आबश्यकताअनुसार बजेट विनियोजन हुनेछ ।

पाँचपाँच वर्षमा हुने स्थानीय तहको निर्वाचन प्रदेश र सङ्घभन्दा फरक हुने र यसमा नागरिकले आफ्नो कुरा बुझ्ने व्यक्तिलाई नै भोट हाल्नुपर्ने उम्मेदवार रानाले बताउनुभयो । प्रत्येक जनताको सुखदुखमा सहभागी हुने र जनतालाई तत्काल आबश्यक काम गर्नसक्ने हुँदा आफूलाई मत हालेर बिजयी गराउने उहाँको विश्वास छ ।

उहाँ २०५४ सालमा गाबिस अध्यक्षमा निर्वाचित भएदेखि अहिलेसम्म नागरिकको नजिक रहेर काम गर्दै आउनुभएको छ । त्यतिबेलादेखि अहिलेसम्म जनताको सुखदुःखमा साथसाथ रहनुभएका उहाँ भूकम्पपछिको समयमा होस् वा कोभिडको समयमा जनतासँगै हुनुहुन्छ । झण्डै ७५ प्रतिशत नगरबासीसँग चिनजान रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “चिन्न बाँकी नगरबासीसँग पनि हाम्रो पार्टीका वडाध्यक्षको उम्मेदवारसँग घरघरमा पुगेर चिनजान गर्दै भोट मागिरहेको छु ।”

अन्य प्रतिष्पर्धीसँग दाँज्नेभन्दा आफ्नो काम र पार्टी प्रतिबद्धताका आधारमा चुनाबमा होमिनुभएको छ ।

नगरपालिका घोषणा भएको पाँच वर्ष बितिसक्दा पनि व्यवस्थित नगर भइनसकेको गोदावरीलाई नगरबासी र वडाध्यक्षसँगको सल्लाह र छलफलमा अघि बढाउने प्रमुखका उम्मेदवार रानाको योजना छ । बाटो ग्राभेल गनुृपर्ने हो कि नगर बस चलाउने, त्यहाँको आबश्यकताका आधारमा तत्काल गर्ने उहाँको योजना छ ।

सडकलगायतका पूर्वाधारको विकासलाई उहाँले प्राथमिकता दिनुभएको छ । ठेचोबाट टाखेलसम्मको सडक सडकमा ड्रेन र ढल नभएकाले र गुणस्तरीय काम नभएकाले कालोपत्र गरेपनि छोटो समयमा नै उप्किने समस्या रहेको छ । जनप्रतिनिधिले अनुगमन नगरेर नै ठेकेदारको मनपरी भइरहेको छ र त्यसमा वडाध्यक्ष र त्यहाँको टिमलाई नै जिम्मेवार बनाउने उहाँको योजना छ ।

केही वर्ष यता नगरभित्रका अधिकांश ठाउँमा जग्गा खण्डकीरण गर्ने र त्यसमा कुनै पनि किसिमका अन्न नरोप्ने क्रम बढेको प्रमुखका उम्मेदवार रानाले बताउनुभयो । खाली रहेका जग्गामा फूल, तरकारी, मकै, कोदो, धान लगाउन प्रोत्साहन गरिने उहाँको योजना छ ।
आफू निर्वाचित भएपछि सबैभन्दा पहिले सडक परिवर्तन गर्ने रानाको योजना छ । सडकबाटै विद्यार्थी विद्यालय जाने, बिरामी अस्पताल जाने, तरकारी फलफूल लगायतका स्थानीय उत्पादन बजार जाने हुँदा सडक निर्माणमा ध्यान दिने उहाँको योजना छ । हाल सञ्चालनमा रहेका सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने र नगर बस सञ्चालन गर्ने योजना छ ।

प्राविधि शिक्षामार्फत शिक्षालाई रोजगारीसँग जोड्ने उहाँको योजना छ । नगरपालिकाका वडाहरुमा प्राविधिक शिक्षालय खोल्दै जाने र स्वास्थ्यमा सुधार गर्ने उहाँको प्रतिबद्धतामा उल्लेख भएका विषय हुन् । अहिले बास्तविक किसानले कतैबाट पनि सहयोग पाइरहेका छैनन् । कागजी रुपमा मात्रै किसान हुँ भन्ने व्यक्तिले नै नगरपालिका र अरु सरकारबाट सहयोग पाइरहेकाले आफू नगर प्रमुख भएपछि थोरै गाइभंैसी र कुखुरा पाल्नेलाई पनि किसान परिचयपत्र दिइने उहाँको योजना छ । कसैले सबैतिरबाट सहयोग पाउने र कसैले कतैबाट पनि नपाउने प्रवृत्ति हटाउन सङ्घ वा प्रदेशबाट आउने सहयोगमा पनि एकद्वार प्रणाली गरिनेछ । उहाँले भन्नुभयो, “कागजमा मात्रै किसानले फाइदा लिने र बास्तबिक किसान मारमा परेकाले वडाध्यक्षले सिफारिस गरेर मात्रै सहयोग दिइनेछ ।”

नगर भित्र कहाँबाट कहाँसम्म आबश्यक छ हेरेर निजी साझेदारी रुपमा नगर बस चलाउने प्रमुखका उम्मेदवार रानाको योजना छ । घुम्ती बस, माइक्रो, अटो रिक्सा चलाएर नगरपालिका केन्द्रसम्म पुग्न पहुँच स्थापित गरिनेछ भने निर्माणाधीन अन्तर्राष्ट्रिय रङ्गशाला चाँडो सम्पन्न गर्न लाग्ने उहाँले बताउनुभयो ।

देश धर्म निरपेक्ष भएकाले सबै धर्मको सम्मान गर्ने गरी कार्यक्रम र योजना अघि बढाइने प्रमुखका उम्मेदवार रानाले बताउनुभयो । इशाई धर्मावलम्बीका लागि आबश्यक रहेको अन्तिम संस्कारको व्यवस्थापन गर्ने उहाँको योजना छ । गोदावरी मेला, ठेचो जात्रा, चापागाउँ, लेले मनकामना, टिकाभेरब जयकुमारी, जयकुमारी, तामाङ बस्तीमा चैत्य, गुम्बा संरक्षणमा ध्यान दिइने उहाँको योजना छ ।

छोराबुहारी दुबै जागिरे भएपछि ज्येष्ठ नागरिक एक्लै बस्नुपर्ने अवस्था भएकाले तीनलाई लक्षित गरेर केन्द्र सञ्चालनको योजना छ । खासगरी एकल भइसकेका ज्येष्ठ नागरिकलाई लक्षित गरेर नगरका बिभिन्न मन्दिर आसपासमा हेरचाह केन्द्र स्थापना र सञ्चालन गरिनेछ । उहाँहरुलाई दिउँसो चिया खाजा खाएर आपसमा कुराकानी गरेर बस्ने वातावरण मिलाइनेछ ।

युवा उद्यमीलाई लक्षित गरी स्वरोजगार बन्ने किसिमका योजना अघि सारिएको छ । साबुन, दालमोठ, बिस्कुटलगायतका तालिम लिएर पनि त्यसै बसिरहेका युवालाई समूहमा मिलेर उद्योग सञ्चालन गर्न सहयोग गरिने उहाँले बताउनुभयो । युवाहरुले आफुले जानेको वा रुचिको जिम्मेवारी लिएर सामुहिक रुपमा उद्योग सञ्चालन गर्दा उनीहरु मात्रै आयआर्जन गर्ने नभएर अरुलाई समेत रोजगारी दिन सक्नेछन् । उहाँले भन्नुभयो, “तालिम धेरै भयो अब तालिमभन्दा आबश्यक रकम सहयोग गरेर उद्यमी बनाउनुपर्छ ।”

आफू नगरका सबै वडामा राम्रो मत ल्याउने र राम्रो मतान्तरले जित्ने रानाको विश्वास छ । जनतालाई आफूले विकास गर्ने थाहा भएकाले ‘म उठेको छु’ भनेर जानकारी गराउन घरघर पुगेको उहाँको भनाई छ । एमाले आफ्नो पार्टी मात्रै नभएर अरु पार्टीबाट पनि राम्रो मत ल्याउने उहाँको विश्वास छ । आफू विपक्षीबाट पनि भोट लिने र उनीहरुलाई पनि अभिभावकबिहीन बन्न नदिने उहाँको योजना छ । नगर प्रमुख भएपछि कसैलाई काखा र कसैलाई पाखा हुन नदिएरै काम गर्ने उहाँले बताउनुभयो ।

स्थानीय पहिचान र रोजगारीका माध्यमका रुपमा रहेका बिभिन्न पेशा वा चलनलाई अघि बढाइने उहाँले बताउनुभयो । प्याङगाउँमा प्याङ, बडिखेलमा डोको, डालो र नाङ्गो बनाइने गरेकामा त्यसलाई थप प्रोत्साहित गरिने योजना छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ३ : १० बजे