‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कालजयी महान् कार्ल मार्क्स !

विश्व प्रसिद्ध महान् कम्युनिष्ट दार्शनिक तथा सर्वहारा वर्गका मुक्तिका मार्गदर्शक कार्ल मार्क्सको सुप्रसिद्ध विश्व ग्रन्थ ‘दास क्यापिटल’ १८६७ मा प्रकाशित भएको हो । त्यसले बिस्तारै बिस्तारै फैलिँदै गएको विश्व समाजवादी आन्दोलनलाई निश्चय नै एउटा अत्यन्तै सबल धरातल र आधार प्रदान ग¥यो । त्यो प्रकाशन हुनु तीन–चार वर्षअघि मात्र ‘प्रथम अन्तर्राष्ट्रिय’को स्थापना भएको थियो । त्यसका विश्व शाखा–प्रशाखाले यस पुस्तकलाई लोकप्रिय बनाउन ठुलो मद्दत पुर्‍याए । 

यो पुस्तक मूलतः जर्मनी भाषामा लेखिएको भए पनि त्यसपछि विभिन्न देशका सक्रिय युवा समाजवादीहरू त्यो महत्त्वपूर्ण पुस्तकलाई आ–आफ्ना मुलुकमा अनुवाद गर्न तम्सिएका थिए । तत्कालीन रुसका समाजवादीहरूले यसको अनुवाद आफ्नो भाषामा गरे । कार्ल मार्क्सका निमित्त यो सुखद आश्चर्यको विषय नै थियो । यद्यपि, मार्क्सले क्रान्तिकारी सङ्घर्षका दृष्टिले रुसलाई त्यति बेला विशेष महत्त्व दिएका थिएनन्, किनभने उनको विचारको निष्कर्ष के थियो भने सर्वप्रथम औद्योगिक देशहरूमा नै पहिला समाजवादी क्रान्ति हुने छ । अनि, रुस त्यति बेला मुख्यतः एक कृषि प्रधान देश थियो र त्यसलाई उनले क्रान्ति हुने वस्तुगत आधार विकसित भएको देशको रूपमा देखेका थिएनन् । 

तर कालान्तरमा रुस नै मार्क्सका एक सच्चा क्रान्तिकारी अनुयायी लेनिनको नेतृत्वमा मार्क्सको सिद्धान्तको पहिलो सफल प्रयोग भूमि हुन पुग्यो । मार्क्सको सिद्धान्तका प्रथम प्रयोक्ता रुसी नेता लेनिनले साम्राज्यवादको सबैभन्दा कमजोर कडी भएको ठाउँमा क्रान्ति सफल हुन सक्दछ र त्यो कडी टुट्न सक्दछ भन्ने निष्कर्ष निकालेर समाजवादी क्रान्ति एउटै देशमा पनि हुन सम्भव छ भन्ने तथ्यलाई व्यवहारमा खरो उतारेर देखाइदिए ।

हुन त कार्ल मार्क्सले ‘दास क्यापिटल’ को प्रकाशनपछि अर्को कुनै त्यस्तो ठुलो महत्त्वको उल्लेखनीय कृति लेख्न सकेनन् । पेरिस कम्युनको सम्बन्धमा लेखिएका लेखहरू प्रथम अन्तर्राष्ट्रियको बैठकलाई सम्बोधन गर्न तयार गरिएको दस्ताबेज थियो । त्यसको केही समयपछि ‘क्रिटिक अफ गोथा प्रोग्राम’ अर्थात् ’गोथा कार्यक्रमको आलोचना’ को रूपमा एउटा सानो टिप्पणी आयो । तर सानो भए पनि त्यो टिप्पणी कार्ल मार्क्सका कृतिहरूमध्ये विशेष महत्त्वको लेख रहेको मानिन्छ । त्यतिञ्जेलसम्म जर्मनीमा मार्क्स र लासालका अनुयायी बेग्लाबेग्लै पार्टीमा सङ्गठित थिए । गोथा भन्ने ठाउँमा ती दुई पार्टीको एकीकरण भयो र एकीकृत पार्टीले आफ्नो नयाँ राजनीतिक कार्यक्रम पनि प्रकाशमा ल्यायो । तर एक त, मार्क्सलाई लासाल पटक्कै मन पर्दैन थिए । 

दोस्रो कुरा, त्यो गोथा कार्यक्रम अत्यन्तै हावादारी छ भन्ने मार्क्सलाई लाग्यो । त्यस कार्यक्रमको उनले कडा आलोचना गरे । तर, त्यस आलोचनाका बीचमा उनले पहिलो पटक भावी समाजको आफ्नो तस्बिर या रूपरेखा पनि प्रष्ट रूपमा अगाडि सारेका थिए । यद्यपि, यस अघिसम्म कार्ल मार्क्स सामान्यतया भावी समाजबारे कुरा गर्न इच्छुक रहँदैन थिए । तर, यसपल्ट भने उनले सरल रूपमा भोलिको समाजवाद र साम्यवाद समेतको तस्बिर पेश गर्ने एउटा महत्त्वपूर्ण जमर्को गरे । साम्यवाद एक दिनमा आउँदैन । साम्यवादभन्दा पहिला समाजवाद आउँछ । त्यस समाजवादमा सबैले काम अनुसारको दाम पाउँछन् । योग्यता अनुसारको काम पाउँदछन् । विद्यमान श्रमको शोषण यस्तो चर्को हुँदैन । तर, त्यहाँ पनि योग्यता अनुसारको काम हुने भएपछि विभेद कायम रहने कुरा भयो । यद्यपि सबैलाई आ–आफ्नो प्रतिभा अनुसार योग्य बनाउने क्रमको काम पनि त्यस समाजमा निरन्तर जारी रहन्छ । शोषण नै नहुनेचाहिँ होइन । आखिर त्यहाँ राज्य रहन्छ । राज्यका निकायहरूलाई श्रमको अतिरिक्त मूल्यबाट नै पोस्नुपर्ने हुन्छ । त्यसैले समाजवादको उच्चतम बिन्दुको सङ्क्रमणबाट गुज्रेपछि मात्र साम्यवादमा पुगिन्छ । साम्यवाद एक सर्वतोमुखी स्वतन्त्र व्यवस्था हुन्छ । त्यहाँ काम र श्रमको बन्देज हुँदैन । अथवा भनौँ काम र श्रमको तात्पर्य समेत फेरिन्छ । काम, श्रम र आत्मोपलब्धि एक अर्काका पर्याय हुन्छन् । उत्पादन चरमोत्कर्षमा पुग्छ । खान–लाउन नपाउने कोही हुन्नन् । मानिसले आफूखुसी योग्यता अनुसारको काम गर्छ र आवश्यकता अनुसार पाउँदछ । उदाहरणकै लागि भन्ने हो भने एउटै मानिसले एकसाथ विभिन्न काम गर्न पाउँदछ । बिहान तरकारी रोप्ने हुन सक्छ, दिउँसो माछा मार्ने, अपराह्नतिर ट्युसन पढाउने र बेलुका अभिनय गर्ने जस्ता अनेक काम गरेर आफूखुसी मानिसले उच्च स्तरीय वैज्ञानिक जीवन व्यतीत गर्न सक्छ । मार्क्सले साम्यवादी समाजको साँच्चै स्वर्ग जस्तै मनोहारी वर्णन गरेका छन् । भारतका प्रसिद्ध प्रगतिशील साहित्यकर्मी राहुल सांकृत्यायनले पनि ‘२२ वीँ सदी’ मार्क्सको त्यसै मान्यतामा आधारित भएर लेखेका हुन् ।

गोथा कार्यक्रमको आलोचना लेखिसक्दासम्म मार्क्स अपेक्षाकृत चर्चित र प्रसिद्ध भइसकेका थिए । उनको आर्थिक अवस्था पनि केही सुध्रिएको थियो । मार्क्सकी सहधर्मीणी जेनीको एक जना धनाढ्य नातेदारले गतिलो सम्पत्ति बकस दिएकी थिइन् । उता, एंगेल्स पनि अब बाबुको बन्देजबाट हटेर आफै कारखानाका मालिक भएका थिए । 

अब मार्क्स र जेनी स्वभावैले पहिलाभन्दा केही राम्रो डेरामा समेत सरे । तर, उनीहरू दुवै समयमा खानाको अभाव, औषधि उपचारको अभाव आदिले गर्दा उमेर नपुग्दै वृद्ध भइसकेका थिए । रोगले गर्दा उनीहरूको बाँकी जीवन पनि सुख–शान्तिका साथ बित्न पाएन । अझ जेनीलाई त पछि गएर क्यान्सरले गाँज्यो । मार्क्सको पनि खटिराको रोग चर्किँदै गयो । यस प्रकार दुवै क्रान्तिकारी दम्पतीको दुःखको कुनै अन्त्य थिएन । यसै जीवन क्रममा १८८१ मा जेनीको मृत्यु भयो । मार्क्सलाई थप चिन्ता थपियो । त्यसपछि उनी पनि धेरै बाँचेनन् । दुई वर्षपछि नै उनको पनि मार्च १८८३ मा निधन भयो । त्यति बेला उनको मलामीमा मुस्किलले १०–१२ जना मानिस मात्र थिए भनिन्छ । उनको समाधि स्थलमा एंगेल्सले एउटा अत्यन्तै मार्मिक श्रद्धाञ्जली दिए । त्यसमा एंगेल्सले उनको तुलना विश्व प्रसिद्ध जीव वैज्ञानिक चाल्र्स डार्बिनसँग गरेका छन् । तर, मार्क्स सबैभन्दा उच्च क्रान्तिकारी हुन् भन्ने यथार्थ पनि त्यति बेला फेडरिक एंगेल्सले उल्लेख गर्न चुकेनन् ।

दुर्भाग्यवश कार्ल मार्क्सको मृत्युपछि उनको सिद्धान्त र उत्तराधिकारीलाई लिएर समाजवादी आन्दोलनमा ठुलो विभाजन भयो । उनको लेखनका शब्द शब्द केलाइए । यस्तो केलाइ उस्तो महत्त्वपूर्ण थिएन । महत्त्वपूर्ण उनको भावना थियो । भावनाको हकमा एंगेल्सले भनेकै थिए– उनी सर्वप्रथम र सर्वोपरि एउटा उच्च क्रान्तिकारी थिए । तदनुरूप क्रान्तिकारी परिस्थितिको विकासका साथ उनका आग्रह पनि तल–माथि हुन्थे । क्रान्तिकारीले कुनै रूढ सिद्धान्तलाई अजर–अमर मान्दैन । त्यस्तो त अन्धविश्वासले मात्र गर्छ । कालान्तरमा कतिपय कम्युनिस्टहरूको आग्रहले गर्दा मार्क्सवादलाई झन्डै धर्मको रूपमा खडा गर्न पनि खोजियो । यद्यपि कार्ल मार्क्स इतिहासको विकासको साथ विचार र विश्लेषणमा परिष्कार ल्याउन पर्छ भन्ने कुरामा प्रष्ट र विश्वस्त थिए । 

तर, उनका कतिपय कम्युनिस्ट अनुयायीहरूले त्यस्तो गरेनन् । सोसल डेमोक्रयाट्स पनि केही निश्चित सूत्रबाट बाँधिए । एउटा मतान्तर राख्नै नहुने किसिमको विचारधाराको साँघुरो भोटो बनाएर ती दुवै धारालाई हिँडाइयो । अनि मार्क्सवादलाई केवल एउटा भौतिक विज्ञानको नियमसरह सूत्रबद्ध गर्ने एउटा प्रयत्न पनि भयो । 

जबकि यो मार्क्सवाद गतिमान दर्शन, विचार, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यनीतिको समुच्च दृष्टिकोण र भौतिक स्थिति अनुरूप सतत परिवर्तनको गतिमान समाज विज्ञानको अत्याधुनिक वैज्ञानिक विचार थियो र हो । तर एकातिर यसलाई धार्मिक ग्रन्थ जस्तो बनाउन खोजियो भने अर्कातिर मार्क्सवादको क्रान्तिकारी सारतत्वलाई तिलाञ्जली नै दिइयो ।

यी तमाम गलत प्रयत्नहरू हुँदाहुँदै पनि सौभाग्यवश यस्ता प्रयासका निमित्त कार्ल मार्क्सलाई कुनै दोष दिने ठाउँ भने किञ्चित पनि छैन । उनलाई एक पटक अनुयायी मार्फत आफ्ना विचारलाई ‘मार्क्सवाद’ भन्ने गरेको थाहा भयो । तर उनले बेलैमा यसको जबरजस्त प्रतिवाद गरेका थिए । उनले कुगल यान भन्ने एक मित्रलाई लेखेको एउटा पत्रमा स्पष्ट लेखेकै छन् कि ‘अरू जेसुकै होला, म भने मार्क्सवादी होइन ।’ यो मार्क्सको विनम्रता र आफू साधारण व्यक्ति जस्तै रहने साँच्चै मानवीय उत्कट इच्छाको अभिव्यक्ति थियो र हो । किनभने सबै अभिजात वर्गीय विशेषाधिकारबाट मुक्त रहने घोषणाकासाथ श्रमजीवी वर्गको मुक्ति र अन्ततः मानवका सबै दुःख कष्टबाट मुक्तिका लागि समर्पित ती महान् मनिषीको विशेष बन्ने मनोभावना पनि हुन सक्दैन थियो र रहेन ।

निश्चय पनि मार्क्स स्वयं ‘मार्क्सवादी’ थिएनन् र उनले त्यस्तो आग्रह राख्ने कुरा पनि थिएन । कुनै पनि व्यक्तिको नामका आधारमा ‘वाद’ बनाउने कुरा सोच्दैन पनि थिए होला । तर विश्वलाई नयाँ दृष्टि बोध गराउने र संसारलाई हेर्ने, व्याख्या गर्ने र फेर्ने त्यो महान् विचार आज मार्क्सवादकै नाममा विश्वमा स्थापित छ । त्यसमा मार्क्सका अनन्य मित्र एंगेल्सको पनि ठुलो, वरद र अतुलनीय योगदान छ । मार्क्सका धेरै अधुरा रहेका र अपूरा कृतिहरूलाई एंगेल्सले नै पूर्णता प्रदान गरेका हुन् तर उनले कुनै तोडमोड गर्ने र एंगेल्सवाद चलाउने जस्तो कुनै सङ्केतसम्म पनि गरेनन् । यो उनले मार्क्सबाटै सिकेको चिन्तन र चरित्रकै महत्त्वपूर्ण अभिव्यक्ति पनि हो । 

मार्क्सको व्यक्तित्वको एउटा गतिलो सूत्र उनकी छोरीले एक पटक उनलाई सोधेको एउटा प्रश्नावली र त्यसमा मार्क्सले दिएको उत्तरबाट पनि चिनारी हुन्छ । वास्तवमा  उनले त्यस प्रश्नावलीमा मार्क्सको व्यक्तित्वको चिनारीलाई प्रस्ट गर्ने कुराहरू नै सोधेकी थिइन् । त्यो प्रश्नावलीले मार्क्सको बानी–ब्यहोरा, रुचि–अरुचि समेतको दिग्दर्शन गराएको छ । तपाईँको जीवनको आदर्श वा प्रमुख मान्यता के हो ? मार्क्सको उत्तर थियो– ‘सबै थोकलाई प्रश्न गर !’ ग्रिक भाषाको लोकोक्तिमा उनले यो कुरा भनेका थिए । गौतम बुद्ध ‘अप्प दीपो भव’ भन्थे । यी दुवै कथनमा कुनै फरक देखिँदैन । 

अफसोस ! माक्र्सीय दृष्टिकोण र विचारलाई छोडेका तर उनको अनुयायी हुन दाबी गरिरहेका कथित अनुयायीले मार्क्सको यस्तो महत्त्वपूर्ण प्रबोधनलाई पुरै ओझेलमा पारिदिएका छन् । मार्क्स र मार्क्सवादको विचार यात्रालाई सही किसिमले नबुझ्नु या बुझ पचाउनु यी दुई प्रवृत्ति नै आज मार्क्सका कथित उत्तराधिकारको सबभन्दा ठुलो विडम्बना बनेको छ । यी कुराहरूलाई आत्मसात् गर्दै कार्ल मार्क्सको २०४औँ जन्म जयन्तीको अवसरमा मार्क्सप्रति सतत नमन ! विश्वभरि नै अमर छन् महान् मार्क्स र अमर रहिरहने छन् !

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  १० : ०२ बजे