‘नेशनल डे कन्सर्ट’ सम्पन्न

अहिलेको गठबन्धन बलियो एमाले विरुद्ध कमजोरहरूले गरेको मिलेमतो

नेकपा एमालेकी केन्द्रीय सदस्य, सुर्खेत जिल्ला सह इन्चार्ज एवं वीरेन्द्रनगर नगरपालिकाको  निवर्तमान उपमेयर मोहनमाया ढकाल एमालेबाट मेयर पदमा गठबन्धनसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । २०७४ सालको स्थानीय निर्वाचनमा लोकप्रिय मत ल्याएर उपमेयरमा विजयी भएकी युवा नेता ढकालको उम्मेदवारीले वीरेन्द्रनगर बासी उत्साहित भएका छन् । काममा लगनशीलता, स्वभावमा सरलता, पार्टी र सङ्गठनप्रतिको प्रतिबद्धता, जनताका दुःखमा सधैँ सदाशयता मोहनमायालाई वीरेन्द्र नगरबासीले दिने उपमा हुन् । छोटो समयमा चुलिँदो राजनीतिक यात्राका क्रममा ढकाललाई अर्को एउटा अवसर आएको छ, त्यो हो कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको पहिलो महिला मेयर बन्ने । ढकाल अहिले काँग्रेस माओवादीको गठबन्धनभन्दा फराकिलो मतान्तरले निर्वाचन जित्ने लक्ष्यका साथ घरदैलो कार्यक्रममा व्यस्त हुनुहुन्छ ।  चुनावी घरदैलोको समयमा ढकालसँग वीरेन्द्रनगरको चुनावी माहौलका विषयमा गरिएको कुराकानी:

चुनावी अभियान कसरी बढाउँदै हुनुहुन्छ?
​​​​​​​हामीले उम्मेदवारी दर्ता गरेको आज ११ दिन भयो । उम्मेदवारी दर्ता गरेपछि औपचारिक रूपमा चुनाव प्रचार प्रसारका लागि जनताको घर आँगनमा पुगेका छौँ । उम्मेदवारी दर्ता भन्दा अघि पार्टीका एजेन्डा र चुनाव जित्ने रणनीति बनाउनमा व्यस्त भयौँ । त्यसबीचमा हामीले प्रदेश कमिटीदेखि टोल कमिटी सम्मका सबै बैठकहरू गर्‍यौँ । र, हामीले वीरेन्द्रनगरमा मात्र होइन कर्णाली प्रदेशमा नै पार्टीलाई पहिलो बनाउने कार्य योजना पास गरेका छौँ । त्यसै अनुसार वीरेन्द्रनगरमा पनि घरदैलोमा जाने, आफ्ना कुरा भन्ने, हामी प्रतिका गुनासा सुन्ने, हामीसँग भएका केही असमझदारीका कुराहरू समाधान गर्ने काम गरिरहेका छौँ ।

यसैगरी विभिन्न पेसागत क्षेत्रका व्यक्तित्वहरूसँग अलग अलग भेटघाट र बैठकहरू गर्ने, उहाँहरूका सुझाव सुन्ने काम भइरहेका छन् । केही सङ्गठन र पेसागत क्षेत्रका व्यक्तित्वहरूसँगको भेटघाट जारी नै छ । यसबीचमा हामीले केही वडाहरूमा घरदैलो सक्यौँ । पार्टीले नगरपालिकामा जितेपछि आगामी पाँच वर्षमा के गर्छ भन्ने कुराको प्रतिबद्धता पनि सार्वजनिक गरेका छौँ ।

तपाईँले आगामी पाँच वर्षमा के गर्नुहुन्छ भन्ने पनि जनतालाई जिज्ञासा होला, त्योभन्दा पहिले त तपाईँले बितेको पाँच वर्ष उपमेयर हुँदा के गर्नुभयो भन्ने पनि नगर बासीको चासो छ । के के गर्नुभयो पाँच वर्षमा?
अघिल्लो पटक म मेयर होइन, उपमेयरमा निर्वाचित भएकी हुँ । संविधान र कानुनले मेयर र उपमेयरले गर्ने कामका क्षेत्रहरू तोकिदिएको छ । उपमेयरलाई दिएका मुख्य कामहरू न्यायिक समितिको संयोजक, अनुगमन समितिको संयोजक, राजश्व परामर्श समितिको संयोजक आदि । मेरा अधिकार क्षेत्रभित्रका कामहरू मैले विवादरहित, जनताका पक्षमा कुशलतापूर्वक निर्वाह गरेको छु । मेरो पालामा करिब ८० वटा नयाँ कानुनहरू बने । योजनाहरूको अनुगमन समयमै र प्राविधिक हिसाबले उपयुक्त हुने देखेपछि मात्र सम्पन्नताको सिफारिस गरिएको छ ।

नगरपालिकामा म उपमेयर भए पनि एमालेको तर्फबाट म मेयरकै भूमिकामा थिएँ । जसले गर्दा पार्टीले सिफारिस गरेका योजनाको कार्यान्वयन, पार्टीको तर्फबाट कार्यपालिकामा लैजाने एजेन्डाहरूको सरसल्लाह मैले पार्टी नेतृत्वसँग परामर्श गरेर मात्र गरेँ । महिलाहरूलाई रोजगारी, पाठेघरको निःशुल्क जाँच, महिनावारी भएका बेला छात्राहरूले विद्यालय नछोडुन् भनेर निःशुल्क सेनिटरी प्याड वितरण गरियो । त्यस्तै शिक्षालाई प्रविधि मैत्री बनाउनु पर्दछ भनेर धेरै वटा विद्यालयमा कम्प्युटर, ल्यापटप र इन्टरनेटको प्रबन्ध गरिएको छ ।

विद्यालय र साना नानीहरूका समस्या आफैँ बुझ्न र थाहा पाउन ‘कक्षा कोठामा उपमेयर’ कार्यक्रम लिएर केही विद्यालयमा म आफैँ गए । महिनाको एक पटक एउटा कक्षा कोठामा ४० मिनेट बिताउने मेरो यो कार्यक्रम कोरोनाले गर्दा निरन्तरता पाउन सकेन । तर जति ठाउँ म जान सकेँ, विद्यार्थी र विद्यालयका समस्या नजिकबाट अनुभूति गर्न पाएँ । यसले गर्दा शिक्षा क्षेत्रमा पनि धेरै परिवर्तनका कामहरू गर्ने प्रेरणा मैले पाएँ ।

तपाईँको कार्यकालका उपलब्धिलाई बुँदागत रूपमा बताइदिनुस् न?
उपलब्धि धेरै छन् । म उपमेयर भएर गएपछि गरेका कामहरू आम नगरबासीले देख्नुभएको छ । हामी निर्वाचित भएर गएको वर्ष कानुन बनाउनमा बित्यो । दोस्रो वर्ष उत्साहपूर्ण ढङ्गले काम गर्दै थियौँ । कोरोनाले हाम्रो गतिमा ब्रेक लगाइदियो । कोरोना कालमा मेयर पारिवारिक कारणले लकडाउनभरि नगरपालिकामा हुनुहुन्थेन । त्यसैले कार्यवाहक मेयरको रूपमा कोरोनाको पहिलो काल मेरै नेतृत्वमा पार लगाएको सबै नगर बासीलाई थाहा छ । राहत बाँड्ने, क्वारेनटाइन बनाउने, गाडी खोजेर अलपत्र यात्रुलाई गन्तव्यमा पुर्‍याउने यी सबै काम मेरै नेतृत्वमा भएका हुन् ।

भौतिक पूर्वाधार र अन्य क्षेत्रमा मेरा पाँच वर्षमा भएका धेरै काममध्ये केहीलाई म यसरी सम्झन्छु ।
१.योजनामा परेका सडक कालोपत्रे
२.चक्रपथ बिस्तारलाई निरन्तरता
३.हटलाइन सेवा सञ्चालन
४.नगरका जीर्ण विद्यालय भवन निर्माण
५.महिला तथा बालबालिकाका लागि नगर अस्पताल सञ्चालन
६.काँक्रेविहार र बुलबुले ताल पुनः निर्माण
७.छोरी जन्म बचत कार्यक्रम
८.कोरोना कालको प्रभावकारी व्यवस्थापन
९.कोरोना खोप प्रभावकारी ढङ्गले सञ्चालन
१०.एक घर दुई बिरुवा, हामी आफै कुरुवा कार्यक्रम

अब मेयर भएपछि के गर्नुहुन्छ?
जनप्रतिनिधि भनेको व्यक्ति होइन, संस्था हो । संस्थामा सामूहिक निर्णय हुन्छ । तर नेतृत्व गर्ने व्यक्तिको भिजन महत्त्वपूर्ण हुन्छ । हाम्रो पार्टीले मेयर उपमेयरलाई चुनाव जिताएपछि के गर्छ भनेर हामीले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छौँ । जुन तपाईँले पाइसक्नुभएको छ । त्यसमा हेर्‍यो भने पूर्वाधार विकासदेखि सहकारीसम्मका ११ वटा मूल क्षेत्रहरूमा हामीले गर्ने करिब दुई सय वटा कामका क्षेत्रहरू हामीले तोकेका छौँ । त्यसमध्ये कुनै तत्काल, कुनै मध्यकाल र कुनै पाँचै वर्ष लाग्ने गरीका काम तय गरेका छौँ । यो प्रतिबद्धता पत्र हाम्रो पार्टीका टोल कमिटी, वडा कमिटी, विभिन्न जनवर्गीय सङ्गठनहरूका सुझाव र मागका आधारमा तय गरिएकोले तिनको कार्यान्वयन मेरो पहिलो प्राथमिकता हुन्छ ।

गठबन्धनसँग चुनाव जित्ने आधार के छन् तपाईँका?
जायज प्रश्न सोध्नु भयो । गठबन्धन कस्तो बेलामा हुन्छ? तपाईँलाई थाहा होला जब कोही व्यक्ति कमजोर हुन्छ अनि उसले अर्काको सहारा लिन्छ अर्थात् गठबन्धन गर्छ । हो, अहिलेको गठबन्धन बलियो एमाले विरुद्ध कमजोरहरूले गरेको मिलेमतो हो । जसको कुनै भिजन, मिसन र वीरेन्द्रनगरलाई दिने योजना छैन । यो केवल एमालेको लोकप्रियता,अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा देश विकासको हुटहुटी, नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा सुनिने र देखिने देश बनाएकोमा अन्य पार्टीहरू अत्तालिएर बनाएको एउटा गठ जोड हो । विभिन्न षडयन्त्रबाट करिब दुई तिहाइ बहुमतको आफ्नै पार्टीको सरकार ढालेर परमादेशबाट वर्तमान सरकार बनेको हो । तर, अझै उनीहरूलाई एमाले र केपी ओली मजबुत छन्, चुनाव हराउन सकिँदैन भन्ने नै छ । र, वास्तविकता पनि त्यही हो । एक्ला एक्लै एमालेसँग भिड्न त उनीहरूले आँटै गरेनन् । गठबन्धन गरेर एमालेलाई हराउन सकिन्छ भन्ने झिनो आशा बोकेर खुकुलो गठबन्धन बनाएर हामीसँग भिड्न आएका छन् । तर,आफैँभित्रको समस्यामा अल्झिएका गठबन्धनका घटकहरूले एमालेलाई हराउने हैन, फराकिलो अन्तरका उपविजेता हुनेछन् उनीहरू ।

एमाले एकताबद्ध भएर लागेको छ त चुनावमा?
एमालेको नीति, विधि, सिद्धान्त र बिचारमा विमति राख्नेहरू पार्टी छोडेर गइसके । त्यसैले अहिलेको एमाले एकताबद्ध छ । केपी शर्मा ओलीको नेतृत्वमा भएका आम नेता कार्यकर्ता एमालेलाई स्थानीय चुनावमा भारी मतका साथ विजयी गराएर आउने सङ्घीय र प्रदेशको निर्वाचनमा दुई तिहाइका साथ पार्टीलाई सरकारमा पुर्‍याउन आतुर छन् । त्यो अवस्था देशभरि जस्तै वीरेन्द्रनगरमा पनि छ ।

मसहित पार्टीका अन्य साथीहरूले पनि मेयरमा दाबी गर्नुभयो । हामीले लामो छलफल गर्‍यौँ । सहमति खोज्न समय लगायौँ । तर हामीले निर्वाचन गरेर बहुमत, अल्पमतको निर्णय गरेनौँ । अन्त्यमा मेरो नाममा सर्वसम्मति भयो । अन्य आकाङ्क्षी साथीहरू अहिले निर्वाचन जिताउने अग्र मोर्चामा हुनुहुन्छ । उहाँहरू मेरो अग्रज पनि हो । उहाँहरूको सद्भाव, आम कार्यकर्ताको लगाव र नगरबासी सबै मतदाताको मायाले मैले चुनाव जित्दैछु । एमालेले वीरेन्द्रनगरमा विजयको झण्डा गाड्दैछ । त्यति मात्र होइन, २०७९ साल जेठको पहिलो हप्ता वीरेन्द्रनगरले प्रथम महिला मेयरको इतिहास पनि रच्दैछ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ९ : १३ बजे